१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ १ मंगलबार o७:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कैदी अभिषेक गिरी मोरङ कारागार स्थानान्तरण : असुरक्षा बढ्यो भन्दै कैदीबन्दी आन्दोलित

गृहमन्त्री बालकृष्ण खाँडले घरपायक हुने गरी गिरीलाई स्थानान्तरण गराएको कैदीबन्दीको आरोप

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३७:oo

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई स्थानान्तरणको विरोधमा मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । विराटनगर महानगरपालिकाको मधुमारा घर भएका गिरीलाई घरपायक कारागारमा सारेपछि असुरक्षा बढेको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन् । 

अभिषेक गिरी

कैदीबन्दीले गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा गिरीको कारागार सरुवा भएको आरोप लगाएका छन् । गिरीलाई मंगलबार बिहान ५ बजे मोरङ कारागार ल्याइएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । विराटनगर हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीले मंगलबार बिहानैदेखि कारागारको छतमा बसेर नाराबाजी गर्दै दिनभरि प्रदर्शन गरे । गत असोजमै गिरीलाई काठमाडौंबाट मोरङ स्थानान्तरण गर्ने तयारी थियो । यो थाहा पाएपछि गिरीलाई ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले गत १९ असोजमा मोरङ जिल्ला कारागारअगाडि प्रदर्शन गरेका थिए । त्यसपछि गिरीको स्थानान्तरण स्थगित भएको थियो । यसपटक गिरीलाई ल्याउनुअघि मोरङ कारागारका चौकीदार नवीन राईलाई सुनसरीस्थित झुम्का कारागार स्थानान्तरण गरिएको थियो ।

मोरङ कारागारका निमित्त जेलर पोखरेलले काठमाडौंबाट अभिषेक गिरीसहित चार कैदीलाई मोरङ सरुवा गर्ने सर्कुलर विभागले पठाएको जानकारी दिए । व्यक्ति अपहरण र फिरौती असुली मुद्दामा काठमाडौं जिल्ला अदालतले गिरीलाई आठ वर्ष कैद सजाय तोकेको थियो । अदालतको फैसलापछि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका गिरीले कांग्रेस नेतृत्वको सरकार आएपछि घरपायक स्थानान्तरणका लागि पहल थालेका थिए । उनलाई घरपायक सरुवा गराउन गृहमन्त्री खाँडले नै निर्देशन दिएको स्रोतको दाबी छ । नेपाली कांग्रेस समर्थक गिरी विराटनगरमा गुन्डागर्दीका लागि चर्चित थिए ।

गिरीको क्राइम डायरी 
विराटनगरमा बसेर ठेक्कापट्टाको टेन्डर र अन्य गुन्डागर्दीमा कुख्यात थिए, अभिषेक गिरी । उनी पटक–पटक गुन्डागर्दी आरोपमा पक्राउ परेर छाडिन्थे । गिरीलाई खासगरी निर्माण व्यवसायी र टेन्डर हत्याउन चाहने व्यापारीहरूले पिसी दिएर गुन्डागर्दीमा प्रयोग गराउने गर्थे । सुरुमा अरूको प्रयोगमा आएका गिरीले पछि आफैँ टेन्डर हत्याउने र उद्योगी–व्यवसायीलाई धम्क्याउने र अपहरण गर्ने गरेका थिए । गुन्डागर्दीमा उनको आफ्नै समूह थियो । मोरङमै रहेको पर्शुराम बस्नेत नेतृत्वको अर्को समूहसँग उनको शत्रुता थियो ।

१७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको १० करोडबराबरको टेन्डर काण्डमा विराटनगर महानगरपालिका–१२ जतुवाका युवा करण यादवको हत्या भएको थियो । हत्या–आरोप गिरीमाथि नै लागेको थियो । फरार रहेका गिरी आफैँ अदालतमा हाजिर भएका थिए । त्यसक्रममा २१ साउन ०६६ मा उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । गिरीलाई क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो । कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दा आतंक चलाएर फिरौती असुल्ने गरेको आरोप पनि लागेको थियो । 

अदालत परिसरमा आफूमाथि आक्रमण गराएको आरोपमा बन्दी गिरी र उनकी श्रीमती अमिषा गिरीले पर्शुराम समूहका २३ जनाभन्दा बढीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएका थिए । व्यक्तिहत्या अरोपमा जेल परेका गिरी एक वर्षपछि छुटे । कारागारबाट बाहिरिएपछि उनी नेपाली कांग्रेस प्रवेश गरे । त्यसपछि केही महिना शान्त बसेका उनी संविधानसभाको दोस्रो निर्वाचनपछि पुनः पुरानै धन्दामा फर्किए । उद्योगी–व्यापारी र ठेकेदारहरूलाई धम्क्याएर चन्दा र फिरौती उठाउन थालेपछि प्रहरीले खोजी व्यापक बनाएको थियो । फरार रहेका गिरीपछि काठमाडौंबाट पक्राउ परे । गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत कालो धन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो । तत्काल धरौटी बुझाएर छुटे पनि अदालतको आदेशमा उनी आठ वर्षका लागि कारागार चलान भएका थिए ।

ad
ad