१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक १६ मंगलबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त, शपथग्रहण आजै हुने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक १६ मंगलबार १४:५८:००

प्रदेश १ को  तेस्रो मुख्यमन्त्रीका रूपमा राजेन्द्र राई नियुक्त भएका छन्। मंगलबार दिउँसो सांसद राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री राईले आजै प्रदेश प्रमुखबाट शपथ लिनेछन्। उनले थप चारजना मन्त्री नियुक्त गरेर पाँचसदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका स्रोतले बताएको छ। प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो २ बजे शपथग्रहणको समय तय गरे पनि गठबन्धनका दलहरूको भागबन्डा नमिल्दा शपथग्रहण ३ बजेलाई सारिएको छ।

भोजपुर जिल्लाको १ (क) निर्वाचन क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद राई एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा आएका हुन्। उनी हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य र प्रदेश १ सभामा संसदीय दलको नेता छन्।

भोजपुरको षडानन्द नगरपालिका– १० सुर्केमा ०२७ सालमा जन्मिएका राईले शोभा पाठकसँग अन्तर्जातीय विवाह गरेका छन्। एमालेनिकट अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका उनी काठमाडाैंको रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सभापति हुँदै बागमती अञ्चल सदस्य केन्द्रीय प्रचार विभाग प्रमुखसमेत भएका थिए। २० वर्ष विद्यार्थी राजनीतिमा खर्चेका राईले विचारको खेती र आयु नाम दुई पुस्तक पनि लेखेका छन्।

१० भदौमा दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका भीमप्रसाद आचार्यले अल्पमतमा परेपछि १५ कात्तिकमा पदबाट राजीनामा दिएका थिए। आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार १ बजेसम्म बहुमतको सरकार दाबी गर्ने समय दिएका थिए। गठबन्धनले सोमबार नै आफूहरूसँग ५० सांसदहरूको समर्थन रहेको भन्दै हस्ताक्षरसहित दाबी प्रदेश प्रमुखलाई बुझाएका थिए।