१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Wednesday, 03 July, 2024
हेमन्त केसी जाजरकोट
२o७८ कार्तिक १२ शुक्रबार १२:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

आफैँ बिउ उत्पादन गर्दै भेरी नगरपालिका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार १२:३१:oo

बर्सेनि बाहिरी जिल्लाबाट बिउ खरिद गरी ल्याउने जाजरकोटमा अब जिल्लाभित्रै बिउ उत्पादन सुरु भएको छ। जिल्लाको भेरी नगरपालिकाको कृषि शाखाले बिउ उत्पादन गरी पालिकाभित्र र अन्य पालिकामा बिक्री गर्न थालेको छ। धान, गहुँ, मकै र प्याजको बिउ उत्पादन गरी अन्य पालिकामा बिक्री गरिरहेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।

गहुँको मूल बिउ कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतबाट खरिद गरी भेरी नगरपालिकाका १, ३ र १० नम्बर वडामा लगाई त्यहाँबाट उन्नत जातको बिउ उत्पादन गरी वितरण थालिएको छ। मागमा आधारित बिउ कृषकलाई उपलब्ध गराइएको छ। अहिले पहिलो वर्ष भएकाले माग पूर्ति गर्न नसकेको प्रमुख अधिकारीले बताए।

१०० क्विन्टल डब्लुके– १२०४ जातको गहुँको बिउ उत्पादन गरी वितरण गरिएको छ। त्यस्तै, १४ हेक्टर क्षेत्रफलमा लगाएको सुक्खा ३ र सुक्खा ६ धानको बिउ तीन सय ६० क्विन्टल उत्पादन भएको छ। ठाउँठाउँमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको समयमा भेरी नगरपालिकाले लगाएको धानको बिउमा भने केही क्षति भएको थिएन।

त्यस्तै, भेरी नगरपालिकाले मकैको बिउसमेत उत्पादन गरेको छ। मूल बिउ दैलेखको किमु गाउँबाट ल्याएर भेरी नगरपालिकाका– ७ रूपाकोटमा लगाउँदा ७० क्विन्टल उन्नत जातको देउती मकैको बिउ उत्पादन भएको छ। त्यस्तै सुर्खेतको दशरथपुरबाट  मनकामना– ३ को मूल बिउ ल्याएर भेरी नगरपालिका– ८ बुरुंगेमा १२ हेक्टरमा लगाउँदा ४० क्विन्टल बिउ उत्पादन भएको छ। त्यस्तै भेरीको २ र ६ वडामा तीन रोपनी जग्गामा रुकुम पश्चिमको चाफाबाट मूल बिउ ल्याएर उन्नत जातको प्याजको बिउ उत्पादन भइरहेको कृषि शाखाले बताएको छ। यो वर्ष मात्र ६० केजी बिउ उत्पादन भएको बताइएको छ।

सिमी, मुला र आलुको बिउ भेरी नगरपालिका २ र ६ मा उत्पादन जारी रहेको छ। पहिलो चरणमा २० क्विन्टल उत्पादन भइसकेको छ। भेरी नगरपालिकाबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र शिवालय गाउँपालिकाले गहुँको बिउ खरिद गरेर लिएका छन्। माग उच्च भए पनि आफूहरूले पुर्‍याउन नसकेको र अर्को वर्ष व्यापक उत्पादनको तयारीमा रहेको कृषि शाखाले जनाएको छ। 

बर्सेनि बिउमा मात्र लाखै रुपैयाँ खर्च गर्दै आएका जाजरकोटका पालिकाले अब आफैँ आत्मनिर्भर भई बाहिर जिल्लामा समेत निर्यात गर्दा अर्थोपार्जन मात्र होइन, जिल्लामा कृषि प्रणालीसमेत बलियो हुँदै जाने विश्लेषण गर्न थालिएको छ। ७५ प्रतिशत अनुदानमा कृषकलाई बिउ वितरणको काम जारी रहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। जाजरकोटको तरकारीहरू नेपालगन्ज, सुर्खेतमा समेत पुग्न थालेको छ।

ad
ad
ad
ad