कांग्रेसले ३० दिनभित्र सम्पन्न गर्ने गरी १४औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । बिहीबार केन्द्रीय निर्वाचन समितिले निर्णय गरी कार्यतालिकालाई अन्तिम रूप दिएको हो । कार्यतालिकामा अवरुद्ध अधिवेशन प्रक्रिया १७ कात्तिकबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसिरमा सम्पन्न गर्ने उल्लेख छ ।
निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेका अनुसार समितिले बुधबार तयार भएको कार्यतालिकामा संशोधन गरी पारित गरेको हो । निर्वाचन समितिले मंगलबार कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छलफल गरी कार्यतालिका तयार गरेको हो । समितिलाई सभापति शेरबहादुर देउवाले मंसिर अन्तिमसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । निर्वाचन समितिले निर्वाचन प्रक्रियाका आधारमा जिल्लाहरूलाई विभाजन गरी अधिवेशनको छुट्टाछुट्टै मिति तोकेको छ । कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न हुन नसकेका १२ जिल्लामा २७ कात्तिकमा वडा अधिवेशन हुनेछ । ती जिल्लामा स्थानीय तहको अधिवेशन ३० कात्तिकमा हुनेछ । त्यसपछि एकसाथ प्रदेश समितिको अधिवेशन १६ र १७ मंसिरमा हुनेछ । केन्द्रीय अधिवेशन २४–२६ मंसिरमा सम्पन्न हुनेछ ।
यसअघि ६ पटक कार्यतालिका संशोधन
कांग्रेसले पहिलोपटक ११ फागुन ०७६ मा कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिकामा ९ मंसिर ०७७ बाट तल्लो तहको अधिवेशन सुरु गरेर ७ देखि १० फागुनसम्म केन्द्रीय महाधिवेशन गर्ने तय भएको थियो । कार्यतालिकामा पहिलो संशोधन गर्दै १३ माघ ०७६ मा केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशन केहीअघि सार्ने निर्णय गरेको थियो । २२ असार ०७७ मा बसेको केन्द्रीय समितिले कार्यतालिका तेस्रोपटक संशोधन गरेको थियो । तेस्रोपटक पनि केन्द्रीय महाधिवेशन मिति भने परिमार्जन गरिएको थिएन ।
चौथोपटक भने केन्द्रीय महाधिवेशनको मितिसमेत परिमार्जन गरिएको थियो । चौथोपटक ६ फागुन ०७७ मा ५ असार ०७८ बाट तल्लो तहको अधिवेशन सुरु गरेर ७ देखि १० भदौ ०७८ सम्म केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । पाँचौँपटक ४ असार ०७८ मा १२ साउनबाट तल्लो तहको अधिवेशन सुरु गरेर केन्द्रीय अधिवेशन १६ देखि १९ भदौसम्म केन्द्रीय अधिवेशन गर्ने गरी कार्यतालिका ल्याइएको थियो । यसअघि छैटौँपटक गत ३० साउनमा १८ भदौबाट वडा अधिवेशन सुरु गरेर ९ देखि १३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याइएको थियो । कार्यतालिकाअनुसार १८ भदौबाट अधिवेशन सुरु भए पनि प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले महाधिवेशनको अन्तिम कार्यतालिका भएको बताए । ‘बुधबार तयार भएकै कार्यतालिकामा केन्द्रीय महाधिवेशनको मिति परिवर्तन गरेर सार्वजनिक गरिएको हो । अहिले तयार भएको कार्यतालिकाभित्रै महाधिवेशन हुन्छ । काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक अब महाअधिवेशनको कार्यतालिका तलमाथि हुँदैन,’ उनले भने ।
यस्तो छ संशोधित तालिका