१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कोरोना प्रभावितलाई एक अर्बबराबरको कर्जा प्रवाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४५:oo

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब रुपैयाँबराबरको कर्जा उपलब्ध गराएको छ। नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ अनुसार उक्त कर्जा उपलब्ध गराइएको हो।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ। आव ०७७/७८ र चालू आवको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरेको छ। गत आव र चालू आवको मौद्रिक नीतिमा समेत व्यवसाय र उद्यमका पक्षमा विशेष नीतिगत प्रबन्ध गरिएको छ।

बैंकले सोमबार जारी गरेको चालू आवको दोस्रो महिनाको विवरणअनुसार कोभिड– १९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा एक अर्ब रुपैयाँ स्वीकृत भएको जनाएको छ।

यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँबराबरको छ।  सो अवधिसम्म एक लाख २० हजार सात सय १५ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन्। उक्त कर्जामध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५१ हजार दुई सय ७२ ऋणी लाभान्वित छन्। ती ऋणीले एक खर्ब २१ अर्ब ६ करोड रुपैयाँ कर्जा  लिएका छन्।

महिला उद्यमशील कर्जाअन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमी  लाभान्वित भएका छन् । सो शीर्षकमा ६२ अर्ब ३७ करोड रुपैयाँ कर्जा उपयोग भएको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार सात सय ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ।

ad
ad