मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २५ सोमबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक पर्यटकले भरिन थाले चितवनका होमस्टे

Read Time : < 1 मिनेट
२०७८ असोज २५ सोमबार ०६:०९:००

विश्वभर फैलिएको कोभिड–१९ भाइरसका कारण सुनसान बनेका चितवनका होमस्टेमा क्रमिक रूपमा पर्यटक आउन थालेका छन् । असोज पहिलो हप्तादेखि सुरक्षा सतर्कता अपनाएर मेघौलीको थारू होमस्टे पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।  करिब डेढ वर्षदेखि ठप्प बनेको होमस्टेमा आन्तरिक पर्यटकको भिड बढ्दै गएको भरतपुर–२७, मेघौलीको थारू होमस्टेका अध्यक्ष सोमलाल महतोले बताए ।

उनका अनुसार पर्यटक र होमस्टे सञ्चालकले अनिवार्य मास्क लगाउनेलगायतका सरकारको स्वास्थ्य मापदण्ड पूर्ण गरी पालना गर्नुपर्ने नियम पनि होमस्टेले पालना गरेको छ । मेघौलीका अधिकांश होमस्टे सञ्चालकले कोरोना खोप लगाइसकेको उनको भनाइ छ ।  पर्यटकको आगमन ठ्प्प रहँदा तरकारी बेचेर गुजरा चलाएका डम्बरबहादुर महतो पनि होमस्टेले आशा जागेको बताउँछन् ।

कोभिड कहरमा होमस्टे बन्द हुँदा तरकारी उत्पादन र आफैँले ठेलाको तरकारी बिक्री गरेका महतोको अहिले होमस्टेमा पर्यटकको स्वागत पहिलो प्राथमिकता बनेको छ । बुबाको निधनपछि बुबाले सुरु गरेको होमस्टेलाई विदेशबाट फर्किएर निरन्तरता दिएका उनले कोभिडले पर्यटकको आगमन रोकेपछि गुजरा चलाउन नौ कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका थिए । 

गएको एक महिनामा मात्र माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा करिब चार सय आन्तरिक पर्यटक आएको उक्त होमस्टेका अध्यक्ष मोहनबहादुर पुनले बताए । उनका अनुसार पछिल्लो दिन अधिकांश मानिसहरू फोन गरेर होमस्टे सञ्चालन भए–नभएको जानकारी लिन्छन् र बुकिङ गरेर आउँछन् । महतोले भने, ‘वातावरण सहज भएको छ । हामीलाई सरकारले पहल गरिदिए होमस्टे व्यवसाय पहिलेकै अवस्थामा फर्किन्थ्यो । चितवनमा अहिले थारू, मगर, बोटेलगायतका विभिन्न जातिका गरेर सातवटा होमस्टे सञ्चालनमा छन् । त्यसमा पनि माडीको मगर समुदाय र मेघौलीको थारू समुदायको होमस्टेमा मानिसहरूको चाप बढी छ ।