धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको गहिराइ नाप्न सुरु भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिन गोसाइँकुण्डको गहिराइ नाप्न थालिएको हो ।
पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्डलगायतका कुण्डको गहिराइ नाप्न सुरु गरेको हो । यसका लागि अनुसन्धानकर्ता वासुदेव न्यौपानेको नेतृत्वमा आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी बिहीबार सदरमुकाम धुन्चेबाट गोसाइँकुण्ड पुगेका थिए । एक साताभित्र गोसाइँकुण्ड तथा वरिपरिका कुण्डहरूको गहिराइ नापिने अनुसन्धानकर्ता वासुदेव न्यौपानेले बताए । गोसाइँकुण्डवरपर १६ वटा कुण्ड छन् । ‘एक साताभित्र कुण्डको गहिराइ नाप्ने छौँ, तर उच्च हिमाली क्षेत्रमा काम गर्न आफूले सोचेको जस्तो हुँदैन, त्यसकारण थप समय लाग्न पनि सक्छ,’ उनले भने, ‘जलवायु, मौसम तथा गहिराइ नाप्न प्रयोग हुने सामग्रीको आधारमा पनि कति समय लाग्ने भन्ने हो ।’
गोसाइँकुण्डवरिपरि रहेको कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्वपूर्ण भएकाले त्यहाँको अवस्थाबारे अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । तालको सबैतिरको गहिराइ नापिनेसमेत उनको भनाइ छ । तालको गहिराइ साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नाप्ने भएको छ । अनुसन्धानपछि प्रतिवदेन तयार पारिने उनले बताए । ‘पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुनेछ, पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एन्ड एजुकेसन टुरिजमको अवधारणालाई समेत सहयोग पुग्ने देखिन्छ,’ न्यौपानेले भने ।
नेपाल माउन्टेन एकेडेमीले हरेक वर्ष हिमाली क्षेत्रहरूमा विभिन्न अध्ययन अनुसन्धान गर्ने गरेको छ । गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाको दिन ऋषि तर्पणी अर्थात् जनैपूर्णिमामा गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।
प्राकृतिक रूपमा निकै आकर्षक कुण्डको लम्बाइ ६ सय मिटर र चौडाइ तीन सय ७० मिटर छ । उच्च हिमाली क्षेत्रमा अवस्थित गोसाइँकुण्ड जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । यसको वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत छन् । यहाँ १४ प्रजातिका गुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चराचुरुंगी पनि पाइन्छ । घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेशगौँडा मनोरम दृश्यका गन्तव्य हुन् । त्यस्तै, कुण्डनजिकै अमरसिंह गुफा र अमरसिंह थापाको चिहान छ । १०८ कुण्ड रहेको रसुवामा बर्सेनि हजारौको संख्यामा तिर्थालु आउने गरेका छन् । समुद्री सतहदेखि ४३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ ।
काठमाडौंबाट गोसाइँकुण्ड सामान्यतः तीन दिनमा पुगिन्छ । एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि हिसाब गर्दा करिब एक साता छुट्याउनुपर्छ । गोसाइँकुण्ड जान धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । चल्तीको पदमार्ग भने काठमाडौं–धुन्चे–गोसाइँकुण्ड नै हो । काठमाडौंबाट धुन्चेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीविना र दोस्रो दिन गोसाइँकुण्ड पुगिन्छ । अर्को, काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो आउँछ । कमै यात्रुले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्छन् ।