मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज २० बुधबार ०७:११:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

३८ क्विन्टल  सुन तस्करी  प्रकरण ‘डिसमिस’

Read Time : > 5 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज २० बुधबार ०७:११:००

- सुन तस्करीको आधार नभेटिएको भन्दै सबै ५६ अभियुक्तलाई सफाइ

- तर, सुन लुकाउने सनम शाक्य हत्यामा संलग्न गोरेसहित ६ जनालाई जन्मकैद

सुन नै बरामद हुन नसकेको र तस्करी भएको अन्य पर्याप्त प्रमाण नपुगेको भन्दै बहुचर्चित ३८ क्विन्टल सुन तस्करी मुद्दामा अदालतमा उपस्थित भएका सबै ५६ अभियुक्तले सफाइ पाएका छन् । तस्करीसँगै जोडिएको सनम शाक्यको अपहरण तथा हत्या मुद्दामा भने प्रत्यक्ष संलग्न गोरे भनिने चूडामणि उप्रेतीलगायत आठजना मात्र दोषी ठहर भएका छन् । मुद्दा दायर भएको करिब साढे तीन वर्षपछि जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालले मंगलबार फैसला सुनाएका हुन् । 

भन्सार ऐन, २०६४ मा तस्करी भएको सामान बरामद भएको अवस्थामा मात्र यस्तो सजाय हुने मकसत रहेको, तर त्यसअनुसार तस्करीको सामान बरामद हुन नसक्नुलाई सफाइको प्रमुख आधार बनाइएको छ । प्रहरीले ६ वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजार सात सय ९९.५५ केजी सुन तस्करी भएको दाबीसहित भन्सार ऐन २०६४ को दफा ५७ को उपदफा १ (च) अनुसार अभियोग दायर गरेको थियो । तर, त्यसमध्ये अलिकति पनि सुन बरामद हुन सकेन । हराएको भनिएको साढे ३३ किलो सुनसमेत बरामद हुन नसक्दा आरोपीलाई फाइदा भएको हो । 

विमानस्थलबाट सुन तस्करी भएको भन्ने बलिया प्रमाण नहुनुलाई पनि सफाइको आधार बनाइएको छ । विमानस्थलमा कार्यरत थाई एयरलाइन्स तथा नेपाल एयरलाइन्सका कर्मचारीको प्रहरीसँगको साबिती बयान तथा सुन कारोबारसम्बन्धी हिसाबकिताबको डायरीलाई प्रमुख प्रमाणको रूपमा पेस गरिएको थियो । तर, सर्वाेच्च अदालतको एक फैसलाअनुसार निजी डायरीलाई प्रमाण मान्न नसकिने नजिरलाई समेत टेकेर सफाइ दिने निर्णय भएको हो । 

साथै, अभियोगमै त्रुटि रहेकोसमेत फैसलामा औँल्याइएको छ । ०६९ देखि ०७४ सम्म पटक–पटक सुन तस्करी भएकोमा ‘गोश्वारा अभियोग’लगायत नमिल्ने फैसलामा उल्लेख छ । कसुरअनुसार छुट्टाछुट्टै अभियोग लगाउनुपर्नेमा एकमुष्ट अभियोग लगाउन नमिल्ने फैसलामा उल्लेख छ । जिल्ला अदालत मोरङ स्रोतका अनुसार यसरी सुन तस्करी नै भएको प्रमाणित नभएपछि संगठित अपराधको अभियोग दाबी स्वतः नपुग्ने फैसला राय किताबमा लेखिएको छ । फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन । 

प्रहरीको अनुसन्धानमा एयरलाइन्सका कर्मचारी, विमानस्थल प्रहरीसमेत मिलेर ६ वर्षसम्म विमानस्थलबाट संगठित रूपमा सुन तस्करी भएको पाइएको थियो । विमानस्थलका सिसिक्यामेरामा पनि त्यो देखिएको थियो । तर, तस्करी भएको सुन बरामदतर्फ अनुसन्धान केन्द्रित नहुँदा मुद्दा कमजोर बन्न पुगेको छ । जसकारण बहुचर्चित मुद्दा अदालतबाट ‘डिसमिस’ हुन पुगेको छ । 

हत्या मुद्दामा गोरेसहित ६ जनालाई जन्मकैद 

अभियोग लगाइएका ७७ मध्ये ६ जना अभियुक्तलाई सनम शाक्य हत्या आरोपमा जन्म कैदको फैसला भएको छ । त्यस्तै दोषी ठहर भएका थप एकजनालाई तीन वर्ष र अर्का एकजनालाई ६ महिना सजाय भएको छ । 

पुरानो मुलुकी ऐनअनुसार बढीमा २० वर्ष जन्मकैद सजाय पाउनेहरूमा मुख्य योजनाकार भनिएका मोरङ उर्लाबारी नगरपालिका– ७ का गोरे भन्ने चूडामणि उप्रेती, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका– १२ का टेकराज मल्ल ठकुरी, झापा मेचीनगर नगरपालिका– १३ का लाक्पा शेर्पा, मोरङको उर्लाबारी नगरपालिका– ४ का मोहन काफ्ले, मोरङ उर्लाबारी नगरपालिका– ७ का कृष्ण भन्ने नरेन्द्र कार्की र झापा गौरादह नगरपालिका– ८ का भोजे मामा भन्ने भोजराज भण्डारी छन् । पुरानो मुलुकी ऐनको दफा १७ को उपदफा ३ अनुसार काठमाडौं महानगरपालिकाका राजनकुमारलाई तीन वर्ष र मोरङ उर्लाबारी नगरपालिका– २ का माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना मात्र सजाय भएको छ । 

त्यस्तै, अपहरण तथा शरीर बन्धक मुद्दामा पनि गोरेलाई दोषी ठहर भएको छ । तर, सजाय निर्धारण भने भइसकेको छैन । तस्करीको साढे ३३ केजी सुन लुकाएको आशंकामा गोरेको समूहले शाक्यलाई नियन्त्रणमा लिएर करेन्ट लगाई यातना दिएको थियो । त्यही क्रममा उनको मृत्यु भएको थियो । 

नौ प्रहरीसहित ४८ जनाले पाए सबै मुद्दाबाट सफाइ
संगठित सुन तस्करी आरोपका नौजना प्रहरी अधिकारीले पनि सफाइ पाएका छन् । पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री (जेलमै अवकाश), तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, एसपी प्रजित केसी, डिएसपी सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल तथा हवल्दारद्वय विष्णुबहादुर खड्का र अम्बरबहादुर थापाले सबै आरोपबाट सफाइ पाएका हुन् । उनीहरूमध्ये खत्री, राउत, थापा र खड्का साढे तीन वर्षदेखि जेलमा थिए । उनीहरू मंगलबार नै जेलमुक्त भएका छन् । 

सरकारी वकिल भन्छन्, ‘पुनरावेदन गर्छौँ’ 

जिल्ला अदालत मोरङको फैसलाप्रति जिल्ला सरकारी वकिल कार्यालयले असन्तुष्टि व्यक्त गरेको छ । उसले मुद्दाको पुनरावेदनको तयारी गरेको छ । ‘फैसला हामीलाई चित्त बुझेको छैन,’ जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले भने, ‘फैसलाको पूर्णपाठ आएपछि हामी उच्च अदालतमा पुनरावेदन गर्छाैँ ।’

त्यस्तै, काठमाडौंको नागार्जुन– ४ का डा. डेबिट भन्ने छिरिङ वाङ्गेल घले, भूपालकुमार श्रेष्ठ, काठमाडौं– ३२ का राजेन्द्रकुमार शाक्य, विमल पोदार, काठमाडौं– १८ का तुलाराम थारू, काठमाडौंकै सुनील श्रेष्ठ, काठमाडौं– ९ का चेतन भन्ने चेतनाथ भण्डारी, नागार्जुन– ६ का कपिलराज पुरी, काठमाडौं– १६ का भुजुङ गुरुङ, चन्द्रागिरि– १३ का हेमन्त गौतम, काठमाडौं– १३ का राजन थापा, काठमाडौं– ८ का वीरेन्द्रमान श्रेष्ठ, काठमाडौं– १८ का राजु महर्जन, काठमाडौं– ९ का बालकृष्ण श्रेष्ठ, काठमाडौं– ७ का निरु भन्ने नर्वदा खरेल उप्रेती, काठमाडौं– ८ का गोपालबहादुर श्रेष्ठ, काठमाडौं– ९ का बालकृष्ण सन्जेल, काठमाडौं– ३ का गोविन्द्रप्रसाद निरौला, काठमाडौंकै चाचाजी भन्ने महावीरप्रसाद गोल्यान अग्रवाल, काठमाडौं– ३१ का प्रमोदकुमार श्रेष्ठ, ललितपुर– १४ का सम्बिरप्रसाद तोलाङ्गे, ललितपुर कोन्ज्योसोम– ३ का तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ, भक्तपुर सूर्यविनायक– ८ का अमरमान डंगोल, थिमि– ४ का श्यामबहादुर खत्री, सूर्यविनायक– ९ का दोराम खत्री, काभ्रेपलान्चोक बेथानचोक– ४ का हरिशरण खड्का, बेथानचोक– ४ का रामहरि कार्की, सिन्धुपाल्चोक लागर्चे– ६ का एलबी मगर भन्ने लालबहादुर मगर, सुनसरी इटहरी–६ का बेनु श्रेष्ठ, पर्वत पैयुँ– ७ का रोशन भुसाल भन्ने गुप्तलाल भुसाल र धनकुटा– ४ का गीता श्रेष्ठ छन् । 

२१ अभियुक्त फरार
७७ अभियुक्तमध्ये २१ जना फरार छन् । उनीहरूको हकमा मुद्दा मुल्तबीमा रहने मोरङ अदालतका स्रेस्तेदार टेकेन्द्रवीरजंग राणाले जानकारी गराए । उनका अनुसार फरार अभियुक्तहरू दुई वर्षभित्र अदालतमा हाजिर भएमा सुनुवाइपछि उनीहरूको हकमा फैसला हुनेछ । हाजिर नभएमा उनीहरू दोषी करार हुनेछन् । 

मुद्दा मुल्तबीमा रहेका फरारहरूमा झापा मेचीनगर– १३ का रुस्तम भन्ने मोहमद उस्तम मियाँ, सोलुखुम्बु दूधकुण्ड– ८ का टुकबहादुर मगर, मोरङ उर्लाबारी– ४ का भविन राई भन्ने भविन तामाङ, मोरङ गोविन्दपुर– ८ का अर्जुनप्रसाद खरेल, सुनसरी धरान उपमहानगरपालिका– २ का कृष्ण बस्नेत, काठमाडौं– २९ का एमके मामा भन्ने मोहनकुमार अग्रवाल, काठमाडौं चन्द्रागिरि– ४ का कालु÷काले÷किसन भन्ने कृष्णगोपाल अग्रवाल, काठमाडौं– १६ का मणिराज चौलागाईं, काठमाडौ कागेश्वरी–मनोहरा– ३ की रक्षा भण्डारी, सुनसरी धरान– २ का सुनीलकुमार अग्रवाल, काठमाडौं– ७ का रमेश उप्रेती, पोखरा– २१ का प्रयास पराजुली, बाग्लुङ काठेखोला– ७ का कमल कार्की, सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका शिवकुमार गुभाजू, मोरङको कानेपोखरी– ४ का माधव आचार्य, मोरङ सुन्दरहरैँचा– २ का ओमप्रकाश नेवार, सिराहा धनगढीमाई– २ का रोहित आचार्य, मकवानपुर हेटौँडा– १६ का सुरेन्द्र गौतम, सिन्धुपाल्चोक बलेफी– ५ का समीर अधिकारी र सञ्जय अधिकारी छन् । 

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, मानव अपहरण शरीर बन्धक र कर्तव्य ज्यान अभियोगको उक्त मुद्दा पहिलोपटक १९ वैशाख ०७५ मा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो । त्यसपछि ३० वैशाख ०७५, २० असार ०७५ र ७ भदौ ०७५ मा थप अभियुक्तमाथि पूरक अभियोग दर्ता भएको थियो । उक्त मुद्दाको मोरङ अदालतमा १५ पटक पेसी चढेको थियो । पहिलो चरणमा सरकारी र प्रतिवादीसहित ८० जना वकिलले बहस गरेका थिए भने अन्तिम सुनुवाइमा ५५ जनाले बहस गरेका थिए । न्यायाधीश लम्सालले १० दिन निरन्तर अन्तिम सुनुवाइ गरेर मुद्दा फैसला सुनाएका हुन् । 

यसरी भएको थियो घटना 
०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएको थियो । सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्यको हत्या भएको थियो । उनको शव १९ फागुनमा ०७४ मा अपराध अनुसन्धान महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलको टोलीले स्कारपियो जिपभित्र विराटनगर– १ पोखरियामा फेला पारेको थियो । घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए । सुन तस्करहरू पक्राउ गर्ने क्रममा मारिएको भनिएको उक्त घटना सामसुम भइसकेको थियो । 

तर, घटनाबारे उर्लाबारीवासीले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई गुहारेपछि सरकारले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली बनाएर घटनाको अनुसन्धान गराएको थियो । सोही प्रतिवेदनका आधारमा मोरङ प्रहरीले सरकारी वकिलको कार्यालय मोरङमार्फत नौजना प्रहरीसहित ७७ आरोपीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सबै अभियुक्तलाई आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी बन्धक बनाएर हत्या गरेको अभियोग लगाइएको थियो । त्यस्तै, २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित आपराधिक सञ्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको अभियोग पनि लगाइएको थियो ।