मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असोज १९ मंगलबार ०९:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने तयारी  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असोज १९ मंगलबार ०९:१९:००

३८ क्विन्टल संगठित सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्य हत्या आरोपकाे मुद्दा फैसला गर्ने तयारी भएको छ ।  न्यायाधीश भरत लम्सालको इजलासमा आइतबारदेखि हेर्दाहेर्दैमा राखेर अन्तिम सुनुवाइ भइरहेको उक्त मुद्दाको फैसला गर्ने मोरङ जिल्ला अदालतले अन्तिम तयारी गरेको हो । 

वादीतर्फका न्यायाधिवक्ताहरू र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिए पनि फैसला लेखन नसकिएकोले अदालतले सोमबार मुद्दा फैसला  सार्वजनिक गर्न सकेन ।  लेखनकार्य सकिएमा मंगलबार नै मुद्दाको फैसला हुन सक्ने अदालतका श्रेस्तेदार टेकेन्द्रवीरजंग राणाले बताए । श्रेस्तेदार टेकेन्द्रवीरजंगका अनुसार घटस्थापना लागेसँगै बिहीबारदेखि अदालतमा दसै‌ँ बिदा हुने भएकोले सकेसम्म आज मंगलबार नै फैसला सार्वजनिक गर्ने अदालको तयारी छ ।

पहिलोपटक दुई वर्ष अवधि नाघिसकेको जघन्य फौजदारी कसुरअन्तर्गतको उक्त मुद्दा मोरङ अदालतले हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्दै आइरहेको हो ।

१९ वैसाख ०७५ मा पहिलोपटक र त्यसपछि थप तीनपटक दर्ता भएको उक्त मुद्दामा ७७ जना अभियुक्तविरुद्ध अभियोग दर्ता छ ।  जसमध्ये  वहालवाला र पूर्वसहित  नाैजना प्रहरी पनि अभियुक्त्त छन् । हालसम्म ५५ जना अभियुक्त अदालतमा हाजिर भए पनि २२ जना अझै फरार छन् । २५ जना अभियक्त अझै विभिन्न जेलमा पुर्पक्षका लागि थुनामा छन् ।

पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसपी विकासराज खनाल, एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल उच्च अदालत विराटनगरबाट थुनामुक्त  भएका थिए । डिएसपी सञ्जयबहादुर राउत र एसएसपी श्यामबहादुर खत्री अझै थुनामा छन् । यसैगरी प्रहरी हवल्दार विष्णुबहादुर खड्का र  अम्बरबहादुर थापा मगर जिल्ला अदालतबाट छुटे पनि उच्च अदालतबाट पुनः थुनामा गएका थिए । उनीहरू दुवैले अदालतको म्याद गुजारिसकेका छन् ।  फरारमध्ये सातजनाको ठेगाना पत्ता नलागेकोले अझै म्याद तामेल हुन सकेको छैन । 

०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएको थियो । सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे) र उनका  सहयोगीहरूले  मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्यको  हत्या गरेका थिए  । उनको शव १९ फागुनमा स्कार्पियो जिपभित्र विराटनगर– १ पोखरियामा फेला परेको थियो । घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए ।

उक्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो । छानबिन समितिको  प्रतिवेदनको आधारमा नेपाल प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी, निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो  । सबै अभियुक्तहरूउपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म  संगठित आपराधिक सञ्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी बन्धक बनाएर हत्या गरेको  चारवटा अभियोग लगाएको थियो ।