लगातार चौथो हार व्यहोरेपछि विराटनगर वारियर्स चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को लिग चरणबाटै बाहिरिएको छ । जारी इपिएलमा लिग चरणबाटै बाहिरिने विराटनगर पहिलो फ्रेन्चाइज टोली बनेको छ ।
त्रिवि मैदानमा शनिबार विराटनगर पोखरा राइनोजसँग सात विकेटले पराजित भएको हो । विराटनगरले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रनको योगफल खडा गरेको थियो । तर, पोखराले १७.४ ओभरमै तीन विकेटको नोक्सानीमा एक सय ७३ रन बनाउँदै लिगमा दोस्रो जित दर्ता ग¥यो ।
विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग दुई विकेट, भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेट र ललितपुरसँग ३७ रनले पराजित भएको थियो । जितसँगै पोखराले प्लेअफको आशा जीवितै राखेको छ । दोस्रो स्थानमा उक्लेको पोखराले पाँच अंक बटुलेको छ । शीर्ष स्थानमा रहेको चितवन टाइगर्सले सर्वाधिक ६ अंक जोडेको छ ।
चितवन प्लेअफमा पुगिसकेको छ । भैरहवा र ललितपुर क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् । इपिएलको १५औँ खेलमा पोखराका आसेला गुनरत्नेले १७.४ ओभरमा करण केसीले फ्याँकेको बललाई छक्काका रूपमा प्रहार गर्दै जित दिलाएका हुन् ।
दुई महत्वपूर्ण साझेदारी
पोखराको जितमा दुई महत्वपूर्ण साझेदारी रह्यो । ओपनर रिचार्ड लेभी र सहन अराछिगेबीच दोस्रो विकेटका लागि ७८ रनको साझेदारी भएको थियो । इनिङ्सको १.२ ओभरमा पोखराले अर्का ओपनर रित गौतमलाई गुमाएको थियो । त्यसपछि सहन र रिचार्डले ९.१ ओभरसम्म दरिलो साझेदारी गर्दैै पोखरालाई बलियो स्थानमा पुर्याए । जारी इपिएलमा पहिलोपटक उत्कृष्ट फर्ममा देखिएका रिचार्डले ४७ रनको योगदान दिँदा २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । कप्तान विनोद भण्डारी र गुनरत्नेबीच चौथो विकेटका लागि अविजित ६४ रनको साझेदारी भएको थियो ।
गुनरत्नेले २४ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोदले १६ बलमा १५ रन बटुले । सहनले ३६ बलमा चार चौका र एक छक्काको सहयोगमा ४३ रन बनाए ।
विराटनगरको सुधारिएको ब्याटिङ
लगातार दोस्रो खेलमा विराटनगरले सुधारिएको ब्याटिङ गर्यो । अघिल्लो दिन (शुक्रबार) विराटनगरले इपिएल इतिहासकै सर्वाधिक दुई सय २७ रनको लक्ष्य पछ्याएको थियो । विराटनगरले सो खेलमा एक सय ८९ रन जोडेको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ सेख र श्रीलंकाली खेलाडी दिल्सान मुनुविराले दोस्रो विकेटका लागि ४५ रनको साझेदारी गर्दै ३–१ बाट ४८–२ को स्थितिमा राखे ।
क्रिजमा सेट दिल्सानलाई विक्रम सोबले विकेटपछाडि विनोदबाट क्याचआउट गराए । दिल्सानले १६ रन बटुले । सेखले आफ्नो विकेट ४४ रनमा गुमाएका थिए । उनले ३३ बलमा ६ चौकाको सहयोगमा ४४ रन बनाए । त्यसपछि जिम्बावेका सिकन्दर राजा र सन्दीप राजलीबीच पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी भयो । दुवैले विराटनगरलाई ७९–४ बाट १३५–५ को स्थितिमा राखे । सन्दीपले २८ रन जोडे । उनले २२ बलमा दुई चौका र एक चौका प्रहार गरे ।
इनिङ्सको अन्तिमतिर कप्तान करण
केसीले नौ बलमा २४ रन जोडे । उनले तीन छक्का ठोके । सिकन्दरले २० बलमा तीन छक्का र एक चौका प्रहार गरी २९ रन बनाए । बलिङमा विक्रम सोवले ३३ रन खर्चेर दुई विकेट लिए । यसअघि शनिबारको काठमाडौं किंग्स इलाभेन र भैरहवाबीचको पहिलो खेल वर्षाका कारण स्थगित भएको थियो ।
मेहबुब सम्मानित
एसोसिएट क्रिकेटमा विश्वकीर्तिमानी बलिङ गरेका नेपालका अलराउन्डर तथा बायाँहाते बलर मेहबुब आलम आयोजक इपिएलबाट सम्मानित भएका छन् । इपिएलले शनिबार मेहबुबलाई ५१ हजार रुपैयाँ प्रदान गरी सम्मानित गरेको हो ।
नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले मेहबुबलाई नगद हस्तान्तरण गरेका हुन् । मेहबुबले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । नेपालबाट उनले मार्च २०१७ मा बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कपमा अन्तिमपटक खेलेका थिए ।
उनले सन् २००८ मा मोजाम्बिकविरुद्धको विश्वकीर्तिमानी बलिङ गरेका थिए । उनले मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नाम लेखाएका थिए । उनी एसोसिएटतर्फ एकदिवसीय खेलमा १० विकेट लिने विश्वको एक्लो बलर हुन् । उनी सन् २००० मा जापानविरुद्ध डेब्यु गरेका थिए । मेहबुब घरेलु क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो र एकै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानसमेत हुन् ।