ओलाफ सोल्जको नेतृत्वमा रहेको सोसल डेमोक्रेट्स (एसपिडी)ले जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा २५.७ प्रतिशत मत ल्याएर अग्रस्थान हासिल गरेको छ । १६ वर्षदेखि निरन्तर जर्मनीमा शासन गर्दै आएकी चान्सलर एन्जेला मर्केलको क्रिस्चियन डेमोक्रेटिक पार्टी (सिडियू) र पार्टीको बाभारियन भगिनी दल क्रिस्चियन सोसल युनियन (सिएसयू) दोस्रो स्थानमा धकेलिएका छन् । तिनले २४.१ प्रतिशत मत हासिल गरे ।
सोल्जले चार महिनाअघि मात्र जर्मनीको भावी चान्सलरमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । त्यसवेला उनको दलप्रतिको जनसमर्थन जम्मा १४–१५ प्रतिशत थियो, जुन छोटो अवधिमा उल्लेख्य सुधार भएर २५.७ प्रतिशतमा पुग्यो । पार्टीको जनसमर्थनमा उल्लेख्य सुधार भएछ ।
चान्सलर पदमा प्रतिस्पर्धा गर्ने सोल्जको घोषणालाई केहीले प्रश्न उठाएका थिए । कतिले यसलाई दुस्साहसी र कतिले अव्यावहारिक कदम भने । हुन पनि एसपिडीप्रतिको जनसमर्थन खुम्चिएको थियो, जुन प्रक्रिया तत्काल आएको नभई वर्षौंदेखि चलिरहेको थियो । पार्टीले उसको मूल आधार मानिने श्रमिक तथा मध्यमवर्गमाझ समर्थन गुमाइरहेको थियो । पछिल्लो चुनावमा तीमध्ये केहीलाई पार्टीले पुनः हासिल गरेको छ ।
आखिरमा सोल्जले छोटो समयमा धेरैले कल्पना नगरेको चुनावी सफलता कसरी हासिल गरे ? यसका धेरै कारण छन् । मुख्यतः यसको संकेत एसपिडीको स्पष्ट नारामै भेटिन्छ । एसपिडीले यसपटकको चुनावमा स्पष्ट र धेरैलाई छुने चुनावी नारा ल्यायो । उसको चुनावी नारा थियो– ‘समाजिक नीति, तपाईंको लागि’ र ‘तपाईंको भागमा सम्मान’ । चुनावी कार्यक्रमबारे पार्टीको अनलाइन बहसमा, धेरै दोहोरिरहने सन्देशमा भनिन्थ्यो– ‘सोल्जसँग भविष्यमा के गर्नुपर्नेछ भन्ने योजना छ ।’ साथै, उनलाई पपुलिस्ट नेतालाई कसरी जित्ने भन्ने राम्रो जानकारी भएको भनेर प्रचार गरियो ।
पार्टीले आफ्ना प्राथमिकतामा ‘सम्मान’, ‘आत्मसम्मान’, ‘भविष्य’ र ‘सार्वभौम युरोप’लाई राख्यो र तिनलाई सबै मतदातासम्म पु¥यायो । आखिर यो कार्यक्रम कहाँबाट आएको थियो ? यसका विभिन्न प्रेरणा स्रोत रहेका छन्, जसमध्ये एकजना हार्वर्ड विश्वविद्यालयका दार्शनिक माइकल स्यान्डेल पनि हुन् ।
स्यान्डेलको पछिल्लो समय प्रकाशित भएर उल्लेख्य बिक्री भएको पुस्तक ‘द टिरेनी अफ मेरिट’मा उनले शिक्षा समाजमा विभाजनको सबैभन्दा ठूलो कारण हुँदै गएको तर्क गरेका छन् । तर, यो कसरी ? शताब्दिऔँदेखि शिक्षालाई सामाजिक गतिशीलताको प्रमुख कारण मानिदै आएको थियो, त्यस्तो विषय कसरी असमानताको कारण हुन सक्छ ? प्रगतिशील व्यक्ति तथा दलले शिक्षालाई सबैभन्दा उच्च प्राथमिकता दिने गर्छन् । मध्यवामपन्थी विचारधारा बोकेको सोल्जको पार्टी एसपिडीले पनि शिक्षालाई महत्व दिन्छ । कडा मिहिनेत र शिक्षाको योगमा समाजमा उन्नति गर्न सकिन्छ भन्ने विचार सामाजिक लोकतान्त्रिक दलहरू स्विकार्छन् ।
तर, स्यान्डेलको तर्क छ, मेरिटोक्रेसी (प्रतिभाशालीलाई कदर गरिने व्यवस्था)का असल गुण मात्र छैन । यसको अँध्यारो पक्ष पनि छ । किनकि, विजेताहरूले जहिले पनि समाजमा उही स्तरको उचाइ हासिल गर्न नसक्नेप्रति हीन रूपमा हेर्ने गर्छन् । अर्थात्, विजेताहरू आफूमा केही विशेष गुण रहेकाले वा आफूले धेरै मिहिनेत गरेकाले सफल भएको र त्यसको हकदार रहेको निष्कर्षमा पुग्छन् ।
अर्कोतर्फ, सफलता हासिल गर्न नसक्नेहरू तिनकै अल्छीपनका कारण असफल भएको विश्वास बलियो हुन थाल्छ । उनीहरूले सफल हुनलाई पर्याप्त मिहिनेत गरेनन् । त्यसैले आजको दयनीय अवस्थामा आउनु स्वाभाविक हो भन्ने निष्कर्ष निकाल्न थालिएको छ । स्यान्डेनका अनुसार मेरिटोक्रेसी र यसले विकास गर्ने माथि उल्लेखित मानसिकताका कारण एलिट वर्ग अहंकारीहरूको झुन्डमा रूपान्तरित भएको छ । जसले बाँकी ठूलो समूहको आत्मसम्मानमा चोट पु¥याएको छ ।
स्यान्डेल मेरिटोक्रेसीको यो पक्षको आलोचक हुन् । हुन पनि मेरिटोक्रेसीको यो व्याख्याले सबैसामु ‘जित्ने’ समान अवसर हुँदैन भन्ने कुरालाई बेवास्ता गर्छ । जबकि, जर्मनीभित्र नै यस्ता धेरै उदाहरण देख्न सकिन्छ । पहिले त शिक्षामाथिको पहुँच नै सबैका लागि समान छैन । जर्मनीमा विश्वविद्यालय शिक्षा हासिल नगरेका आमाबुबाहरूका १५ प्रतिशत सन्तानले मात्र स्नातक तह पार गर्छन् । जबकि, विश्वविद्यालयबाट शिक्षित आमाबुबाका ६३ प्रतिशत सन्तानले सो तह पास गर्छन् । जर्मनी सामाजिक गतिशीलतामा सम्पन्न मुलुकहरूको समूह (ओइसिडी मुलुक)मध्ये पछाडि पर्नुको महत्वपूर्ण कारण हो, यो ।
ओलाफ सोल्जले चुनावअघि स्यान्डेलको विचार जर्मनीको सन्दर्भमा पूर्ण रूपमा लागू हुने पहिचान गरे । जर्मनीमा शिक्षाका कारण सानो समूह एकदम सफल हुँदै जाने र बाँकी समूह भने शिक्षामाथिको पहुँचबाटै वञ्चित भइरहेको कुरालाई ओलाफले ठीक गर्ने संकेत गरेका छन् ।
उनको चुनावी अभियान सफल हुनुमा यो एउटा महत्वपूर्ण कारण भयो । किनकि, स्यान्डेलको विचारलाई प्रयोग गरेर एसपिडीले ऊबाट टाढिँदै गएको परम्परागत मतादाताको मन जित्न सफल भयो । पहिले यो वर्गले पार्टीबाट धोका पाएको महसुस गर्दै वामपन्थी दल ‘डी लिन्का’तर्फ ढल्किएका थिए । सोल्जको सफल चुनावी अभियानका कारण डी लिन्काको मत सन् २०१७ को भन्दा आधा कम भएको छ । अझ रोचक पक्ष के छ भने यसपटक एसपिडीले उग्र–दक्षिणपन्थी ‘अल्टरनेटिभ फर ड्युचल्यान्ड (एएफडी)’का मतसमेत तानेको देखिन्छ । एसपिडी पूर्वी जर्मनीका दुई राज्य स्याक्सोनी र थुरिन्गियाबाहेक सबैमा सबैभन्दा बलियो दल बनेको छ । दुई राज्यमा एएफडी बलियो बनेको छ ।
एसपिडीले अघि सारेको ‘सम्मान’युक्त चुनावी नाराले साम्यवादको पतन र जर्मन एकीकरणदेखि आत्मसम्मानमा चोट महसुस गरेका जर्मनलाई आकर्षित गर्यो । एसपिडीले मध्य–दक्षिणपन्थी दल सिडियू/सिएसयूको मत पनि खोसेको छ । विगतका चुनावमा केही एसपिडी मतदाताहरू मर्केललाई हेरेर सिडियूलाई मत दिन्थे । मर्केलले जर्मन राजनीतिमा सुरक्षित तथा स्थायी केन्द्रको प्रतिनिधित्व गर्ने भएकीले धेरैले राजनीतिक विचारलाई बेवास्ता गर्दै उनलाई मत दिएको देखिन्थ्यो । मर्केलले चुनावी राजनीतिबाट सन्न्यास लिएसँगै एसपिडीका पुराना मतदाताहरू आफ्नै दलमा फर्किए ।
एसपिडीले ग्रिन पार्टीका मतदातालाई पनि आकर्षित गर्यो । पछिल्ला निर्वाचनमा ग्रिन पार्टीका धेरै अडान सामाजिक प्रजातान्त्रिक देखिएकाले पनि मानिसहरू मूल सामाजिक प्रजातान्त्रिक विचारधारा बोकेको पार्टीमै गएका हुन सक्छन् । सोल्जले सञ्चालन गरेको आत्मसम्मानको अभियानले आकर्षक परिणाम दिएको छ । अब परिवर्तित एसपिडीको एजेन्डा कसरी नयाँ सरकार र सार्वजनिक नीतिमा रूपान्तरण हुन्छ, हेर्न बाँकी छ ।