मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ७ बिहीबार ०६:३४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा सहभागी  १३ खेलाडीमा कोरोना संक्रमण 

Read Time : > 1 मिनेट
२०७८ असोज ७ बिहीबार ०६:३४:००

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले युएईमा जारी १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेजको प्रतियोगितामा कोरोनाको कुनै प्रभाव नपर्ने गरी तयारी गरेको जनाएको थियो । प्रतियोगितामा सहभागी खेलाडी, पदाधिकारी तथा दर्शक सबै सुरक्षित रहेने दाबी गर्दै बिसिसिआईले गत शुक्रबारदेखि दुबईमा आइपिएलको दोस्रो फेज सञ्चालन गर्‍यो । 

तर, प्रतियोगिता सुरु भएको चौथो दिनमै कोरोना भाइरसबाट सहभागीहरू प्रभावित हुन थालेका छन् । अहिलेसम्म आइपिएलमा सहभागी १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको भारतीय एजेन्सीहरूले जनाएका छन् । यो घटनाले आयोजक बिसिसिआईको तयारीमाथि प्रश्न उठेको छ । बुधबार सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सको खेलअघि प्रमुख खेलाडी नै कोरोना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । योसँगै दुबईमा कोही पनि सुरक्षित नरहेको एजेन्सीहरूको आरोप छ । 

आइपिएलको पहिलो फेज भारतमै सञ्चालन भएको थियो । मे महिनामा भारतमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि तत्कालै बिसिसिआईले आइपिएल स्थगित गरेको थियो । त्यसवेला आइपिएलका ३१ खेल बाँकी थिए । बिसिसिआईले दुबई सुरक्षित रहेको दाबी गर्दै बाँकी प्रतियोगिता यहीँ गराउने निर्णय गरेको हो । 

खेलअघि नै हैदरावादका नटराजनको रिपोर्ट पजिटिभ आएपछि बाँकी खेलाडीहरू पनि सुरक्षित नरहेको आरोप लाग्न थालेको छ । नटराजको रिपोर्टसँगै अलराउन्डर विजय शंकरसहित हैदरावादका पाँच कर्मचारी आइसोलेसनमा बसेका छन् । यद्यपि, आइपिएलमा खेलाडी संक्रमित हुनु नौलो भने होइन ।

आइपिएल सुरु हुन केही दिनअघि रोयल्स च्यालेन्जर्स बैंग्लोरका ओपनर देवदत्त पडक्कल, कोलकाता नाइट राइडर्सका नितिश राणा र मुम्बई इन्डियन्सका विकेटकिपर प्रशिक्षक किरण मोरे कोरोना संक्रमित भएका थिए । संक्रमित खेलाडीले कोरोनामाथि जित निकाली पुनः आइपिएलमा आबद्ध भएका छन् ।

१४औँ संस्करण आइपिएलको पहिलो फेजमा एकपछि अर्को खेलाडी संक्रमित भएपछि रोकिएको हो । कोलकताका सन्दीप वारियर, वरुण चक्रवर्ती, दिल्लीका अमित मिश्रा, अक्षर पटेल, हैदरावादका रिद्धिमान साह तथा चेन्नई सुपर किंग्सका लक्ष्मीपति बालाजीसहित सिइओ काशी विश्वनाथ त्यसवेला कोरोना संक्रमित भएका थिए ।

 प्रतियोगिता स्थलमा एयर एम्बुलेन्स स्ट्यान्डबाई 
दुबईमा जारी आइपिएलमा खेलाडीहरू भटाभट संक्रमित हुन थालेपछि आयोजक बिसिसिआईलाई टाउको दुखाइको विषय बनेको छ । सुरक्षित रूपमा आइपिएल सञ्चालन गर्ने प्रतिबद्धता जनाएको युएई र प्रतियोगिताका मुख्य आयोजक बिसिसिआईले इमर्जेन्सी मेडिकल सर्भिस, अनकल डाक्टर, एयर एम्बुलेन्स तथा दुबईकै भिपिएस हेल्थकेयर संस्थासँग हातेमालो गरी सुरक्षा व्यवस्था प्रबन्ध गरेका छन् । 

आइपिएलमा प्रतिस्पर्धा गर्नुअघि सहभागी खेलाडी, अफिसियल तथा अन्य स्टाफहरूलाई विभिन्न १४ होटेलमा राखिएको थियो । सुरुवाती क्रममा सात सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ । युएईले जारी गरेको प्रोटोकलअनुसार सबै खेलाडी तथा अफिसियलले हरेक तीन दिनमा कोरोना परीक्षण गर्नुपर्नेछ । यति हुँदाहुँदै पनि खेलाडी कसरी संक्रमित भए भन्ने प्रश्न उठेको छ ।