विश्व खाद्य प्रणाली टिकाउ छैन । खाद्य प्रणालीको वार्षिक मूल्य झन्डै ८० खर्ब डलर रहे पनि यसको नकारात्मक प्रभाव लगभग १२० खर्ब डलर छ । खाद्य प्रणालीको अन्तरविरोध यतिमा मात्र सीमित छैन । विश्व खाद्य प्रणालीले एकातर्फ खराब जलवायु परिवर्तन (खराब मौसम र तापमान दुवैको कारण)को असर भोगिरहेको छ भने यो परिवर्तनमा प्रणालीको पनि योगदान रहेको छ (खाद्यान्न उत्पादनका क्रममा हरितगृह ग्यास उत्सर्जन हुन्छ भने यसले जैविक विविधता पनि नष्ट गर्छ) । तिनले प्रदान गर्ने करोडौँ रोगजारी प्रायः न्यून गुणस्तर तथा न्यून ज्यालायुक्त हुने गर्छ । र, मुख्य कुरा विश्व खाद्य प्रणाली सबैलाई सस्तो र स्वस्थ खाना पुर्याउने लक्ष्यमा असफल देखिँदै आएको छ ।
विश्व खाद्य प्रणाली टिकाउ नहुनाले यसलाई नबदली सुख छैन । समावेशी, दिगो खाद्य क्षेत्र निर्माणका लागि गुज्रिनुपर्ने क्रान्तिकारी परिवर्तनले अल्पकालमा नकारात्मक परिणाम निम्त्याउन सक्छ । यदि हामीले गलत मार्ग लियौँ भने ठूलो रकमको क्षति, विशाल ग्रामीण बेरोजगारी, मूल्यवृद्धि र गरिबीको दरमा समेत वृद्धि सामना गर्नेछौँ । सबैलाई सस्तो र स्वस्थ खाना प्रदान गर्न सक्ने दिगो विश्वव्यापी खाद्य प्रणालीतर्फको संक्रमण छिटो, सस्तो र सुरक्षित रूपमा हासिल गर्ने उत्कृष्ट तरिकाबारे चर्को ठूलो बहस छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी सम्मेलनअघि यस्ता कैयौँ ठूला अनुत्पादक बहसमा त्यो प्रतिबिम्बित हुन्छ । सम्मेलन यो महिना आयोजना हुने संयुक्त राष्ट्रसंघको साधारणसभामाझ आयोजना हुनेछ ।
उत्पादनको दृष्टिमा पुनरुत्पादन खेतीका पक्षधरहरू नयाँ पुस्ताको माटोविहीन खाद्य उत्पादनको खरो विरोध गर्छन् । नयाँ पुस्ताको खाद्य उत्पादनमा प्रयोगशालामा बनाइने ‘वैकल्पिक प्रोटिन’ र भर्टिकल फार्मिङ (ठाडो खेती) पर्छन् । तर, पुनरुत्पादन खेतीलाई तीव्रताका साथ घटाउन कठिन हुन्छ । तर, हाम्रो जोड थोरै पानी लाग्ने र उल्लेख्य कार्बन फुटप्रिन्ट घटाउने माटोविहीन प्रणालीको वृद्धिमा जोड दिनुपर्छ । नयाँ प्रणालीले जैविक विविधतामा समेत कम नकारात्मक प्रभाव पार्छ । यो संक्रमणमा वित्तको भूमिका पनि कम विवादास्पद छैन ।
सम्पूर्ण वैश्विक खाद्य प्रणालीमा सीमित निजी संस्थाको ठूलो प्रभावविरुद्ध हाल कायम गुनासो तथा विरोधका केही सकारात्मक पक्ष छन् । विश्वव्यापी खाद्य प्रणालीमा वित्तीय फाइदा अधिकतम गर्ने प्रवृत्ति अथवा वित्तीयकरण बढिरहेको छ । परिणामस्वरूप बजार केन्द्रीकरण भइरहेको छ । जस्तो– विश्वका आधा बिउबजार जम्मा दश कम्पनीको नियन्त्रणमा छ र ९० प्रतिशत विश्वव्यापी अन्नबालीजन्य व्यापार चारवटा कृषि–व्यावसायिक फर्मले गर्छन् । १ प्रतिशत कृषिजन्य उद्योगको हातमा विश्वमा उपलब्धमध्ये ६५ प्रतिशत कृषियोग्य खेत छ ।
वित्तीयकरणले आर्थिक मुनाफाको असमान वितरणलाई बल पुर्याउँछ । किनकि, यसले साना किसान र समुदायको आय खुम्च्याउँछ । अर्कोतर्फ, यसले स्वस्थ तथा सस्तो खानाको न्यून आपूर्ति गर्ने तर उच्च मात्राको चिनी, नुन, बोसो र कार्बोहाइड्रेटयुक्त खाद्यान्नको उच्च आपूर्ति गर्ने व्यावासायिक मोडेललाई सघाउँछ । त्यसका अतिरिक्त वित्तीयकरणले कर्पोरेट लबिङ बढाउँछ, जसले आमउपभोक्ताको हित गर्दैन । किनकि, यस्तो लबिङले खराब कृषि अनुदान कायम राख्न र जलवायु परिवर्तनलाई ख्याल नगरी मुनाफामा ध्यान दिने कार्यलाई संरक्षण गर्ने प्रयास गर्छ ।
यी सब खराबीका बाबजुद विश्वस्तरीय खाद्यान्न प्रणालीमाथि लगानी गर्न निजी पुँजी आवश्यक पर्छ । हामीले सबैको सामूहिक हितका लागि विशाल वित्तीय स्रोतको उपभोग गर्न आवश्यक छ । वित्तीयकरणको जोखिमलाई न्यूनीकरण गर्दै यस प्रयोजनमा पेन्सन कोष, बैंकहरूलाई प्रयोगमा ल्याउन सकिन्छ । भर्खरै जारी एक रिपोर्ट– ‘मेकिङ फाइनान्स वर्क फर फुड’ (खाद्यान्नका लागि वित्तीय क्षेत्रको उपभोग)ले वैश्विक वित्तले खाद्य प्रणालीको संक्रमणमा खेल्न सक्ने भूमिकाबारे व्याख्या गरेको छ । ‘फुड सिस्टम इकानोक्स कमिसन’को सहकार्यमा तयार पारिएको यो रिपोर्टले भविष्यको खाद्य प्रणालीलाई आकार दिन वित्तीय औजारको प्रयोग गर्ने चार उपायबारेमा लेखिएको छ ।
विश्व खाद्य प्रणाली व्यापक बदलिएन भने यसले जलवायु परिवर्तनलाई पनि थेग्न सक्दैन र समस्त विश्वलाई सस्तो र स्वस्थ खाना प्रदान गर्न सक्दैन । यो संक्रमण सफल बनाउन वित्तीय क्षेत्रले महत्वपूर्ण सघाउ पुर्याउन सक्छन् ।
पहिलो, वित्तीय नीति तथा नियमनले लगानीकर्ताहरूलाई तिनको वित्तीय निर्णयले प्रकृति र वातावरणमा पार्ने असरको मूल्यांकन गर्न बाध्य पार्नुपर्छ । थप दबाबका लागि सेयरहोल्डर तथा सार्वजनिक अभियन्ताले सहकार्य गर्न सक्छन् । यो परिवर्तनले हरितमैत्री लगानी वृद्धि गराउँछ र थप पोषणयुक्त खाद्यान्न उत्पादनतर्फको रूपान्तरणलाई प्रेरित गर्छ । दोस्रो, प्रकृतिमैत्री खेतीले उत्पादन गर्ने स्वस्थ खाद्यान्नमाथि लगानी अभिवृद्धि गर्न सार्वजनिक तथा निजी समाधान मिलाएर वित्तीय नवप्रवर्तनको आवश्यकता पर्छ । त्यसले मात्र मूल्य घट्नेछ । यस्तो नवप्रवर्तनका लागि नविकरणीय ऊर्जामा लगानी वृद्धि गर्न प्रयोग गरिएजस्तै करहरू पनि प्रयोग गर्न सकिन्छ ।
तेस्रो, संक्रमणकालीन समयमा जीवनशैलीमा असर भोगेकाहरूको सुरक्षा तथा संरक्षणका लागि नीति तथा सार्वजनिक वित्त जरुरी हुन्छ । प्रविधि, सीप विकास र पुँजी प्रदान गरेर तिनलाई आफ्नै पुनरुत्पादन वा माटोविहीन खाद्य उत्पादन प्रणाली सञ्चालन गर्न सक्षम बनाउनुपर्छ । अन्तिममा नागरिकलाई डिजिटल प्रविधिको शक्ति उपयोग गर्ने अवसर सिर्जना गर्नुपर्छ । उपभोक्ताको रूपमा तिनले सुधारिएको र दिगो पौष्टिक खाद्य सामग्री उपभोग गरेर ठूलो प्रभाव पार्न सक्छन् ।
लगानीकर्ता, पेन्सन सेवाग्राही र करदाताले पनि आफ्नो पैसाको सही उपयोग हुनुपर्ने कुराको वकालत गरिरहनुपर्छ । थप समावेशी र टिकाउ वैश्विक खाद्यान्न प्रणालीतर्फको संक्रमण जति ढिलो गर्यो, त्यति नै खाद्य सुरक्षा जोखिममा पर्नेछ । र, हामीले वातावरणीय उद्देश्य पनि हासिल गर्न सक्दैनौँ । आजको प्रणालीबाट फाइदा पाइरहेकाहरूले मात्र होइन, परिवर्तनले कैयौँ जीवन धराशायी बनाउने भन्दै थुप्रैले परिवर्तनको विरोध जनाउनेछन् । हामीले तिनको सामना गर्न तयार हुनुपर्छ । समतामुखी, द्रुत तथा दिगो संक्रमणमा लगानी गर्नका लागि वैश्विक वित्तको पुरर्संचरना गर्न र त्यसको फाइदा लिन जरुरी छ ।