१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o६:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्टरनेट नभए पनि डिजिटल कारोबार

टेलिकमको झन्डै दुई करोड ग्राहकले प्रयोग गर्न सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:३६:oo

एक करोड ९४ लाख ग्राहक रहेको टेलिकमको मोबाइलमार्फत अफलाइन डिजिटल भुक्तानी सेवा सुरुसँगै ग्रामीण भेगका जनताले पनि डिजिटल वालेट उपयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमको सहायक कम्पनीमार्फत सुरु भएको ‘नमस्ते पे’मार्फत इन्टरनेटको पहुँचमा नभएका ग्राहकले पनि डिजिटल भुक्तानी गर्ने सुविधाले नेपालको डिजिटल युगको दायरालाई निकै अगाडि बढाउने अपेक्षा गरिएको छ । 

हाल भुक्तानी सेवाप्रदायक इसेवा, आइएम डिजिटल, खल्तीलगायतका मोबाइल वालेटबाट मात्रै मासिक १२ अर्ब ६९ करोडको कारोबार हुँदै आएको छ । यस्ता सेवाप्रदायकबाट एक करोड २५ लाखपटक कारोबार भएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, २८ भन्दा बढी सेवाप्रदायकहरूले सञ्चालनमा ल्याएको वालेट प्रयोगकर्ताहरूको संख्या ८८ लाख ८५ हजार मात्रै छ । २९ भदौबाट सञ्चालनमा आएको ४० करोड चुक्ता पुँजी रहेको नेपाल डिजिटल्स पेमेन्ट कम्पनीमा ५६ प्रतिशत सेयर स्वामित्व नेपाल टेलिकमको र ३४ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकको छ । 

नमस्ते पेमार्फत हुने कारोबारको राफसाफ वाणिज्य बैंकले गर्छ । इन्टरनेट सुविधा भएको समय (अनलाइन)मा मात्र नभई अफलाइनमा समेत भुक्तानी गर्न सकिने विशेषताका कारण पनि यसको प्रयोगमा वृद्धि हुने अपेक्षा गरिएको नेपाल डिजिटल्स पेमेन्ट कम्पनीकी सञ्चालक सरस्वती अधिकारीले बताइन् । ‘अनलाइन र अफलाइन दुुवै अवस्थामा नमस्ते पेबाट भुक्तानी गर्न सकिन्छ,’ अधिकारीले भनिन्, ‘यही कारण नमस्ते पेको लाभ स्मार्ट फोन वा फिचर फोन दुवै प्रयोगकर्ताले लिन सक्छन् ।’   

नमस्ते पेमा सेन्चुरी कमर्सियल, ग्लोबल आइएमई, कामना सेवा विकास, लक्ष्मी, मेगा, मुक्तिनाथ, एनआइसी एसिया, नेपाल बैंक, प्रभु र राष्ट्रिय वाणिज्य बैंकको खातासमेत आबद्ध गरिएको छ । त्यस्तै, नमस्ते पेमार्फत भुक्तानी कारोबार गर्न चाहनेको बैंक खाता अनिवार्य छैन । 

नमस्ते पे एजेन्ट्सहरूमार्फत पनि यसमा रकम लोड (जम्मा) गर्न सकिनेछ । मोबाइल सिममा नै भएको टक टाइम तथा एयर भ्यालुलाई समेत पैसामा रूपान्तरण गर्न सकिने व्यवस्था गर्ने कम्पनीको सोच भए पनि हाललाई राष्ट्र बैंकले यसमा रोक लगाएको छ । यद्यपि रेमिट्यान्स रकमलाई समेत यसमा जम्मा गर्न सकिनेछ । राष्ट्र बैंकले वालेटमा रहने रकममा ब्याज दिन सकिने व्यवस्था गर्ने बताएको भए पनि पछिल्लो समय यसमा उदासीन देखिएको छ ।

 ‘बैंक तथा वित्तीय संस्थाहरूले जसरी वालेटमा रहने रकममा पनि ब्याज दिन सकिन्छ भनेका थियौँ,’ राष्ट्र बैंकका भुक्तानी व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक भुवन कँडेलले भने, ‘तर, बैंकहरूमै रकम राख्दा ब्याज पाइने भएकाले वालेटलाई खासै प्रोत्साहित नगरिएको हो ।’ 

ad
ad