Skip This
ad
एमाले र ओलीविरुद्ध प्रचण्ड आक्रामक : एमाले गुटैगुटको पार्टी, ओली झुट बोल्न सिपालु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले र ओलीविरुद्ध प्रचण्ड आक्रामक : एमाले गुटैगुटको पार्टी, ओली झुट बोल्न सिपालु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:२१:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र अध्यक्ष केपी ओलीबारे कठोर टिप्पणी गरेका छन् । उनले एमालेलाई झुट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टाचार, पद जसरी पनि प्राप्त गर्ने गुटैगुटको पार्टीका रूपमा चित्रण गरेका छन् । ओलीलाई झुट बोल्न सिपालु मान्छेका रूपमा प्रस्तुत गरेका छन् ।

सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले र ओलीलाई लिएर प्रचण्डको टिप्पणी थियो, ‘झुट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टचार, पद जसरी पनि प्राप्त गर्ने, गुटैगुट, एमाले भनेको त्यही हो ।’ झापा पुगेर ओलीले केही दिनअगाडि प्रचण्डलाई धोकेबाज नेता भनेका थिए । पत्नी सीता दाहाललाई विभूषण दिलाएको भन्दै ओलीले आइतबार प्रचण्डको आलोचना गरेका थिए । त्यसको अर्को दिन प्रचण्डले ओलीबारे टिप्पणी गरे, ‘केपी ओली छन् नि, झुट बोल्न त्यत्तिको सिपालु मान्छे अरू छैनन् । तिनको जीवन धोकैधोकाको छ, तर सजिलैसँग अर्कालाई धोकेबाज भन्छन् ।’ 

प्रचण्डले एमाले विचारविहीन पार्टी भएको भन्दै माओवादी पनि त्यतैतिर जान थालेको हो कि भन्ने आफूलाई चिन्ता लागेको पनि बताए । ‘एमालेसँग अहिले केही छैन । बस्, सूर्य छ । विचार, सिद्धान्त भनेको त्यही लोगो हो । उहाँहरूलाई जबज भनेपछि भयो । जबज के हो ? अब के गर्नुपर्ने हो ? टुंगो छैन,’ प्रचण्डले भने, ‘मलाई चिन्ता हुने गरेको पनि त्यही हो, हामी पनि त्यस्तैत्यस्तै हुने भइयो । माओवादी भनेपछि सक्कियो, कसैकसैले हामीलाई खाओवादी भन्छन् ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन् ‘केपी ओली छन् नि, झुट बोल्न त्यत्तिको सिपालु मान्छे अरू छैनन् । तिनको जीवन धोकैधोकाको छ, तर सजिलैसँग अर्कालाई धोकेबाज भन्छन् ।

माधव नेपाल पक्ष छाडेर एमालेमै फर्किएका योगेश भट्टराई, घनश्याम भुसाललगायत १० जनाप्रति पनि उनले आक्रोश व्यक्त गरे । ‘जसले आफूलाई अलि वैचारिक भन्थे ती मान्छेहरू सबैले आत्मसमर्पण गरे । तिनीहरूलाई केपीको निरंकुशता थाहा छ, उनीहरूलाई ओली नेपालको एक भ्रष्ट र जालीझेली नेता हो भन्ने पनि थाहा छ,’ प्रचण्डले थपे, ‘ओली यति भ्रष्ट, बेइमान, छली, जाली मान्छे छन् भनेर हामीलाई सिकाएको घनश्याम, योगेश, गोकर्णलगायतको १० जनाको टिमले हो । ‘दह्रोसँग टेक्नुस्, हामी साथमा छौँ’ भन्ने पनि उनीहरू नै हुन् । तर, अन्तिममा सबैले आत्मसमर्पण गरे, अनौठो लागेको छ ।’

 ‘अहिलेको जस्तै माओवादीको औचित्य छैन’ 
प्रचण्डले अहिलेको जस्तै माओवादीको औचित्य नहुने पनि दोहोर्‍याए । ‘विज्ञापनजस्तो नामचाहिँ छ, माओवादी केन्द्र । तर, काम हेर्दा जनतालाई माओवादी, कांग्रेस, एमाले कुन हो भनेर छुट्याउन धेरै गाह्रो भएको छ । यही स्थिति रह्यो भने यो पार्टी नभए पनि के हुन्छ र ? जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनुभन्दा पार्टी नहुनु राम्रो हुन्छ,’ प्रचण्डले प्रस्टीकरण दिँदै भने, ‘मैले नकारात्मक रूपमा भनेको होइन । पार्टी सिध्याइदिऊँ भन्न खोजेको पनि होइन । सबैको दिमागमा यसको गम्भीर्यताबोध होस् भन्नका लागि भनेको हुँ ।’ 

माओवादी पार्टीमा रूपान्तरणको आवश्यकता रहेको उनको ठम्याइँ थियो । ‘समाजवादी क्रान्ति अघि बढाउनका निम्ति, विकास र समृद्धिको यात्रा हुँदै सामाजिक न्यायसहितको नयाँ समाजको निर्माणका निम्ति हाम्रो पार्टीले आफूलाई रूपान्तरण गर्नैपर्छ । हाम्रो पार्टी बिस्तारै–बिस्तारै एमालेकरण हुन थाल्यो,’ उनको भनाइ थियो ।

ad
ad