
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्तागठबन्धनलाई लोभीपापीको झुन्ड बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै रायमाझीले गठबन्धनले कुनै आधारविना सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधारमा सरकार चलाउन खाजेको आरोप लगाए ।
उनले गठबन्धनलाई पटकपटक लोभीपापीहरूको झुन्ड भन्दै झुन्डको व्यक्तिको स्वार्थका कारण नै दुई महिनाभन्दा धेरै समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाएकाे बताए ।
‘लोभीपापीहरूको यो गठबन्धन हो । जसरी पनि सत्तामा पुग्ने लोभीपापीहरू, कुनै बेसबिनै गइरहेका छन् । कुनै आधार हुन्छ, सरकारमा पुग्नको लागि, जनताले दिएको जनादेश हुन्छ। जनादेशको खिलाफमा जुन किसिमको एउटा सर्वसत्तावादी, चरम अराजकतावादी चिन्तनको आधारमा जुन सरकार चलाउन खोजिएको छ, त्यो नेपाली जनताले छर्लङ्ग देखेका छन्,' उनले भने ।
रायमाझीले केही सांसदलाई पार्टीको ह्विप नलाग्दा त्यही विषयमा आफूहरू कारबाहीमा परेर सांसद पद गुमेको बताए । सभामुखले एउटै विषयमा दोहोरो मापदण्ड कायम गरेको भन्दै उनले नैतिक रूपमा सभामुखले राजीनामा दिनुपर्ने टिप्पणी गरे ।
'यो संविधानको रक्षा, कार्यान्वयन भयो कि रद्दीको टोकरीमा फालियो ? यस्तो किसिमको संविधान र लोकतन्त्रविरोधी कामहरू भएका छन्, केही सांसदलाई पार्टीले कारबाही गर्दा ह्विप लागेन, कारबाही भएन, त्यही केसमा हामी कारबाहीमा परेर सांसद पद गुम्यो, एउटै केसमा दोहोरो मापदण्ड संसारमा कहीँ हुन्छ ? त्यसैले ती सभामुखले नैतिक रूपमा पनि राजीनामा दिनुपर्छ कि पर्दैन ?' उनले भने ।