मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
२०७८ भदौ २८ सोमबार १७:५५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

प्यालेस्टिनी बन्दीहरूका लागि आशाको क्षण 

Read Time : > 2 मिनेट
२०७८ भदौ २८ सोमबार १७:५५:००

६ जना प्यालेस्टिनी राजबन्दीको कहानीले हामीलाई निराशाका लागि होइन, आशा र सक्रियताका लागि प्रेरित गर्नुपर्छ।

प्यालेस्टाइनमा रहेका र प्यालेस्टाइनबाहिर निर्वासित जीवन बिताइरहेका प्यालेस्टिनी चार दिनसम्म आनन्दित रहे । असाधारण सिर्जनशीलता र दृढसंकल्पको माध्यमबाट ६ जना प्यालेस्टिनी राजनीतिक कैदी इजरायलको उच्चतम सुरक्षा घेरालाई तोडेर बाहिर निस्कन सफल भए ।

जेलबाट बाहिर निस्कनका लागि केही पनि साधन नभएकाले उनीहरूले एउटा चम्चाको सहाराले सुरुङ खनेको अनुमान गरिएको छ । निश्चित रूपमा उनीहरूसँग यत्रो उपलब्धिका लागि आवश्यक पर्ने ठूला मेसिनहरू थिएनन् । उनीहरूले खनेका सुरुङका मुखहरू यति साना थिए कि त्यसबाट ६ जना परिपक्व मानिस कसरी निस्कन सफल भए भन्ने कुराले सबैलाई अचम्मित बनाएको छ ।

यो थाहा पाउनासाथ मैले मुहमद डार्बिसको कविताका हरफहरू सम्झिएँ :
    अन्तिम मार्गबाट हामीलाई धकेल्दै 
   यो पृथ्वी हामीमै रोकिएको छ
   र हामी हाम्रा हातगोडा च्यातेर बाटो छिचोल्नेछौँ ।

वास्तवमा, उनीहरूमध्ये दुईजना याकुब कद्री र मोहम्मद अब्दुल्लाह अल–अरिदा पाँचौँ दिनमा पक्राउ परे । उनीहरूको तस्बिर सार्वजनिक भएपछि थाहा भयो कि सम्भवतः ती सुरुङका मुखहरूबाट छिर्नका लागि उनीहरूले भारी मात्रामा तौल घटाएका थिए । उनीहरूले स्वतन्त्रताको मार्ग पहिल्याउन आफ्ना शरीरका अंगहरू काटेका थिए । त्यो साँच्चै जीवनलाई अनुकरण गर्ने कला थियो ।

त्यसको भोलिपल्ट जकारिया जुबेइदी र मोहम्मद अल–अरिदा पक्राउ परे । जीवनका लागि लड्दै जतिसम्म उनीहरू सहन सक्छन्, त्यतिसम्म सहँदै आहेम कमाम्जी र मुन्दिल इन्फात आजाद भए । इजरायली प्रहरीले हथकडी लगाएका मानिसको तस्बिर सार्वजनिक गर्यो, जसले पक्राउ परेकाहरूको चरम वेदना झल्काइरहेको थियो । कसैले तुरुन्तै याकुब र मोहम्मदको अनुहारमा फोटोसप गरेर मुस्कान भरिदियो । र, ती सम्पादित तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए ।

तस्बिरमा गरिएको अदलबदलको कैयौँ मानिसहरूले आलोचना पनि गरे । आलोचना गर्नेहरूले तर्क गरे कि उनीहरूका लागि यो पलले कस्तो अर्थ राख्छ भन्ने बुझ्न हामी असमर्थ छौँ । त्यसैले उनीहरूको पीडा र हारलाई तटस्थ भएर हेर्नुपर्छ । तर, म विश्वास गर्छु कि जसले ती फोटोहरू परिवर्तन गरे, तिनीहरूले हाम्रो समाजका लागि महान् सेवा गरे र मलाई आशा छ कि तिनीहरूले जकारिया र मोहम्मदका तस्बिरहरूलाई पनि यस्तै गर्नेछन् ।

इजरायली अधिकारीहरूले त्यस्ता पीडादायक तस्बिरहरू सार्वजनिक गर्नुको कारण छ । उनीहरू हामी सबैको हृदयभरि हारको भावना र निराशा छाओस् भन्ने चाहन्छन्। उनीहरू हाम्रो दुःखाइ हाम्रो सुरुवाती हर्षबढाइँभन्दा ज्यादै भयानक र गहिरो होस् भन्ने चाहन्छन् । ती ६ जना प्रतिरक्षाविहीन र कमजोर मानिसहरूले एउटा चम्चाको सहाराले औपनिवेशिक जिओनिस्ट परियोजनाको मुटु हल्लाइदिएको ज्ञान हामी सबैको अन्तःस्करणबाट मेटाउन चाहन्छन् । यसले उनीहरूलाई भयभीत गराउँछ कि हामी सामूहिक रूपबाट आशा र दृढसंकल्पका साथ सोच्न सक्छौँ कि ती ६ योद्धाले सबैले असम्भव मानेको कुरा सम्भव तुल्याइदिए ।

यदि हामीले प्रत्येक क्रान्तिकारी र लडाकुको हृदयमा भएको असीमित आशा र स्वतन्त्रताकोे मौलिक आवेगमाथि चिन्तन गर्यौँ भने हामीले हाम्रो व्यक्तिगत र सामूहिक शक्ति पहिल्याउन सक्छौँ । हामीले असम्भव भन्ने केही पनि छैन र स्वतन्त्रता हाम्रो पहुँचमा छ भन्ने अनुभूत गर्न थाल्दछौँ । हामीले बाँकी रहेका ‘अहेम’ र ‘मुन्डाली’को जीवन बचाउन र अझै धेरै चुनौती र प्रतिरोधलाई उत्प्रेरित गर्न एउटा सामूहिक प्रणालीलाई संगठित गर्न सक्छौँ ।

मोहमम्द अब्बासको षड्यन्त्रकारी र अवैधानिक शासनबाट उन्मुक्ति प्राप्त गर्नका लागि हामी आफैँ उठ्न सक्छौँ र प्यालेस्टिनीहरूमाथि नियन्त्रण गर्ने, उनीहरूलाई लुट्ने र दबाउने राज्यसत्ताको सट्टा आफ्ना जनताको रक्षा गर्न सक्ने एउटा क्रान्तिकारी नेतृत्वलाई सत्तामा ल्याउन सक्छौँ ।

हाम्रा राजबन्दीहरूलाई उनीहरू कति जोखिम मोल्दै छन् भन्ने थाहा छ । क्रान्तिकारीहरूले गर्ने भनेको यही नै हो । तिनीहरू आत्मसमर्पण गर्नुभन्दा लड्नका लागि तयार हुन्छन् । अब के हुन्छ भन्ने विषयले खासै अर्थ राख्दैन, तिनीहरूले जे गरे त्यो अब फर्काइन सकिँदैन । तिनीहरूले इजरायलमाथि गरेको प्रहार अब फिर्ता हुन सक्दैन । हामीहरूमा आशाका किरणहरू छर्न तिनीहरूले धेरै त्याग गरेका छन् । हामी अब कसरी निराशा र हारको भावनामै बसिरहने हिम्मत गर्न सक्छौँ ? 

तिनीहरूलाई रात रातभर नसुतेर विशाल सुरुङ खन्नका लागि प्रेरित गर्ने हार वा निराशाको भावना थिएन। अझ इजरायल सर्वशक्तिमान छ भनेर निकै सावधानीपूर्वक बनाइएको भाष्यप्रतिको विश्वास त त्यो निश्चय पनि छँदै थिएन।

हामीले तिनीहरूको सम्मानका लागि गर्न सक्ने भनेको उनीहरूको नायकत्वको हृदयमा भएको आशाको किरण र मुक्तिका लागि भएको आवेग बोकेर अगाडि बढ्नु हो ।  हामीले सधैँभरि निर्वासित जीवन जिउन र पक्राउ पर्नका लागि गरिने अस्वीकार र अवज्ञालाई अझ मजबुत पार्न सक्छौँ । यो क्रूर जिओनिस्ट शासनको अन्त्य हुन सक्छ भनेजस्तै केही पनि असम्भव छैन भन्ने हामी बुझ्न सक्छौँ । ती साहसी योद्धाहरूले साक्षात्कार गरिरहेका त्रासदीका सामु हामीलाई यस घडीमा निराशा र हारको छुट छैन । उनीहरूले हामीलाई निराशा र हारका लागि प्रेरित गरेका होइनन् भन्नेमा हामी पूर्ण रूपले विश्वस्त छौँ।

(अलजजिरामा प्रकाशित सुजन अबुल्हवाको लेखको भावानुवाद हिमाल पौडेलले गरेका हुन्।)