पर्सा प्रहरीको हिरासतबाट आइतबार बिहान एक थुनुवा फरार भएका छन्। लागुऔषधसहित पक्राउ परेका चितवन भरतपुर महानगरपालिका– ३ का १६ वर्षीय बिक्की सोनार फरार भएका हुन्।
प्रहरीका अनुसार वीरगन्जको इनर्वा नाकाबाट भदौ १६ गते सोनार २१ पिस फेनारगनसहित पक्राउ परेर हिरासत पुगेका थिए। तर, उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि गत भदौ २२ गतेबाट नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचाररत अवस्थामा आइतबार बिहान उनी फरार भएका पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
प्रहरी उपरीक्षक पाण्डेका अनुसार नारायणी अस्पतालमा प्रहरी हवल्दारको रेखदेखमा उपचार गराइरहेका सोनार एकाएक फरार भएको पर्सा प्रहरीले जनाएको छ। अस्पतालमा अभियुक्तको रेखदेखमा खटिएका प्रहरी हवल्दारसँग सोधपुछ गरी फरार युवकको खोजी भइरहेको उनले बताए।
१० दिनसम्म सार्वजनिक गरिएको छैन
पर्सा प्रहरीले पछिल्लो समयमा जिल्लाभित्र कुनै आपराधिक वा अन्य गतिविधिमा संलग्नलाई पक्राउ गर्दा आफ्नो फेसबुक पेज अथवा इमेलमार्फत सार्वजनिक गर्दै आएको छ। तर, गत भदौ १६ मा लागुऔषधसहित पक्राउ परेका सोनारलाई प्रहरीले सार्वजनिक नै गरको छैन।
स्रोतका अनुसार सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा पक्राउ परेका सोनारलाई प्रहरीले आफ्नै मिलेमतोमा छाड्नका लागि सार्वजनिक नगरेको हो। पक्राउ परेका युवकलाई छाड्नका लागि अस्पताल भर्ना गरिएको र बिस्तारै भगाउने चाहना पूरा गरेको स्रोतको दाबी छ । पक्राउ परेका युवक जिल्लाका एक प्रहरी अधिकारीका निकटका व्यक्ति रहेकाले उनलाई प्रहरीले भगाएको स्रोतले जनाएको छ।
प्रहरी उपरीक्षक पाण्डेले भने पक्राउ परेका सोनार कारोबारी नभई सेवनकर्ता रहेकाले अन्य लागुऔषधको तुलनामा यो सानो कुरा रहेको बताए।