मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २६ शनिबार
  • Monday, 18 November, 2024
बालुवाटारमा प्रधानमन्त्रीसँग एमसिसी उपाध्यक्षको भेटवार्ता । तस्बिर : रोशन सापकोटा/रासस
२o७८ भदौ २६ शनिबार o९:oo:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमसिसीबारे शीघ्र निर्णय होस् : सुमार प्रधानमन्त्रीले भने– म प्रयास गर्दै छु, पर्खिनुहोस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २६ शनिबार o९:oo:oo

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी कम्प्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष फतेमा जेड सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा एमसिसी पास गरेर लिने कि नलिने शीघ्र निर्णयका लागि आग्रह गरेकी छिन् । सुमारले यथाशीघ्र संसद्बाट पारित नभए एमसिसीले अर्को मुलुकमा परियोजना लैजाने संकेत दिएकी छिन् । सकभर नेपालले एमसिसी परियोजना राखोस् भन्ने पक्षमा आफू रहेको सुमारको भनाइ थियो । 

प्रधानमन्त्री देउवाले एमसिसी संसद्बाट पारित गर्न आफूले राजनीतिक पहल थालेको जवाफ दिएका छन् । देउवाले केही समय पर्खिन आग्रह गरेको उनीनिकट स्रोतले बताएको छ । बिहीबार एमाले, एकीकृत समाजवादी र जनता समादवादी पार्टीका शीर्ष नेतालाई सुमारले नेपालले नलिए अन्य मुलुकमा एमसिसी परियोजना लैजाने बताएकी थिइन् । 

शुक्रबार सुमारले प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारी र कांग्रेस नेता गगन थापासँग भेटेकी थिइन् । प्रधानमन्त्रीसँगको भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी थिए ।

‘सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउने विषयमा आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताउनुभयो,’ भेटवार्तापछि अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अर्थ मन्त्रालयका अनुसार सुमारले एमसिसी सम्झौता यथाशीघ्र संसद्बाट पारित हुने विश्वास व्यक्त गरेकी थिइन् । 

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारका पालामा हस्ताक्षर भएको एमसिसी कार्यान्वयनका पक्षमा आफू उभिएको बताएका थिए । एमसिसीका तर्फबाट पछिल्लोपटक पठाइएको प्रस्टीकरणपछि परिस्थिति सकारात्मक रहेको देउवाको भनाइ थियो ।  बिहीबार बिहान काठमाडौं आइपुगेकी उपाध्यक्ष सुमारले सुरुमा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समादवादी पार्टीका नेताद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटेकी थिइन् । 

प्रचण्डले भने– राजनीतिक सहमतिमा निर्णय गर्छौँ 
शुक्रबार बिहान भेट्न पुगेकी एमसिसी उपाध्यक्ष सुमारलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलहरूबीच राजनीतिक सहमतिका आधारमा एमसिसीबारे निर्णय लिइने बताए । ‘भेटमा अध्यक्षले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो,’ प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रचण्डले अहिलेको गठबन्धन अग्रगमनको संवाहक भएको पनि सुमारलाई बताएका थिए । एमसिसी उपाध्यक्षले एमसिसीबारे दबाब दिन नभई स्थिति बुझ्न नेपाल आएको बताएकी थिइन् । उनले यसबारे सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उल्लेख गरेकी थिइन् ।

सुमारले शनिबार एमसिए नेपालका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । उनले आइतबार एक दर्जन विज्ञ तथा सरकारी उच्च अधिकारीसँग राउन्डटेबल छलफल गर्ने कार्यक्रम छ । भ्रमणको अन्तिममा पत्रकार सम्मेलन गरेर उनी अमेरिका फर्किने कार्यक्रम छ ।