मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
ड्यारोन एसेमोग्लु
२०७८ भदौ २३ बुधबार ०९:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपेली संघले हंगेरीको सदस्यता खारेज गर्नुपर्छ

युरोपेली संघले हंगेरीलाई जति लामो समयसम्म सामान्य प्रजातन्त्रको रूपमा व्यवहार गर्छ, त्यति नै संघको छविमा धक्का पुग्छ

Read Time : > 2 मिनेट
ड्यारोन एसेमोग्लु
२०७८ भदौ २३ बुधबार ०९:११:००

जुन महिनामा हंगेरीले देशभरका विद्यालयबाट ‘एलजिबिटिक्यू’ सामग्री प्रतिबन्ध लगाउने कानुन पास गर्‍यो । लगत्तै डच प्रधानमन्त्री मार्क रुटले हंगेरीलाई युरोपेली संघमा स्थान दिन नहुने टिप्पणी गरे । रुटको विचार सही छ । युरोपेली संघले हंगेरीलाई संघबाट हटाउने प्रक्रिया सुरु गर्नुपर्छ र साथमा पोल्यान्डसँग पनि त्यस्तै व्यवहार गर्नेबारेमा विचार मन्थन सुरु गर्नुपर्छ । विगत दशकमा हंगेरी र पोल्यान्डले युरोपेली परियोजनाको मूल सिद्धान्त कानुनी शासन तथा प्रजातान्त्रिक संस्थानलाई निरन्तर प्रहार गरिरहेका छन् । 

हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले आफैँले भन्ने गरेको ‘अनुदार प्रजातन्त्र’ले कुनै अर्थ दिँदैन । त्यसमाथि खासमा हंगेरीबाट प्रजातन्त्रको अस्तित्व मेटिन लागेको छ । अदालत बढ्दो रूपमा ओरबानको फिडेज पार्टीको नियन्त्रणमा पुगेको छ, मिडियासँग बचेखुचेका स्वतन्त्रता पनि खोसिने क्रममा छ । नागरिक समाजका संगठन निरन्तर त्रासमा काम गर्नुपर्ने अवस्थामा छन् भने विश्वविद्यालयका भएका सीमित स्वायत्तता पनि खोसिएको छ ।

पोल्यान्डमा पनि अधिनायकवादी सत्तारूढ दल ‘ल एन्ड जस्टिस पार्टी’ले खुला रूपमा ओरबानलाई पछ्याइरहेको छ । हुन त पोल्यान्डको नागरिक समाज र विपक्षी हंगेरीमा जस्तो झुकिसकेका छैनन्, तर पनि सरकारले त्यहाँको प्रजातान्त्रिक संस्थानलाई निरन्तर निसाना बनाइरहेको छ । युरोपेली संघको दृष्टिकोणमा नयाँ युरोपियन पब्लिक प्रोसेक्युटर कार्यालय (इप्पो)मा सहभागी हुन नमानेर दुई देशले सबै हद पार गरे । जुनमा गठन भएको इप्पोलाई युरोपेली कोषमा भएका सबै प्रकारका ठगी, जालसाजी र अन्य अपराधमाथि अनुसन्धान तथा कारबाही गर्ने अनुमति छ । हंगेरी तथा पोल्यान्डका सत्तारूढ पार्टीले कोषको रकम हिनामिना गरेको यथेष्ट प्रमाण छन् । युरोपेली संघबाट रकम लिइरहने तर इप्पोको अधिकारलाई नस्विकार्ने कार्यमार्फत हंगेरी र पोल्यान्डले युरोपेली परियोजनाको मजाक उडाइरहेका छन् । 

हंगेरी र पोल्यान्डविरुद्ध कारबाही गर्नका लागि युरोपेली संघसँग अर्को नयाँ कारण भेटिएको छ । तालिबानले अफगानिस्तान पुनः कब्जा गरेपछि बलपूर्वक तथा वैदेशिक अनुदानमार्फत प्रजातन्त्र स्थापना गर्ने पश्चिमी प्रयास असफल भएको स्पष्ट देखियो । अब पश्चिमी मुलुकले आफैँ आदर्श बनेर अरूलाई प्रेरित गर्ने मार्ग अवलम्बन गर्नुपर्छ । मसमेत संलग्न एक नयाँ अनुसन्धानले प्रजातान्त्रिक संस्थानले आर्थिक वृद्धि, शान्ति, स्थायित्व र सार्वजनिक सेवा ‘डेलिभर’ गर्न सके मात्र तिनमाथिको बृहत्तर विश्वास सिर्जना हुन्छ । 

विगत चार दशकका तथ्यांकहरूले प्रजातान्त्रीकरणको प्रक्रिया क्षेत्रीय उभारको रूपमा अघि बढेको देखिन्छ । प्रजातन्त्रको माग एक देशबाट छिमेकी वा नजिकका देशमा फैलिँदै जानु पनि यसका लागि आंशिक रूपमा जिम्मेवार छ । प्रजातन्त्रमा हुने क्षतिको पनि उस्तै खालको प्रभाव देखिने गर्छ । यो कुरा युरोपेली संघमा झन् लागू हुन्छ । किनकि, ऊ राष्ट्रहरूबीचको संघमा पनि प्रजातान्त्रिक संस्थान निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ । विश्वव्यापी सहकार्य सबैभन्दा बढी आवश्यक भएको आजको दिनमा युरोपेली संघको ऐतिहासिक प्रयोगलाई सफलताका रूपमा हेर्नुपर्छ ।

विगत चार दशकका तथ्यांकहरूले प्रजातान्त्रीकरणको प्रक्रिया क्षेत्रीय उभारको रूपमा अघि बढेको देखिन्छ

दोस्रो विश्वयुद्धको अन्त्यमा युरोप पूर्ण रूपमा क्षतिग्रस्त थियो भने सम्पूर्ण स्रोत हतियारमा खर्च गरेकाले ऊ आर्थिक रूपमा पनि खोक्रो बनेको थियो । अमेरिकामा फ्रिज, घर न्यायो बनाउने प्रणाली र आमयातायात प्रणाली विस्तार भइसक्दा पनि युरोपमा ती कुरा देखिएका थिएनन् । बाँकी युरोपेली मुलुकभन्दा राम्रो गरिरहेको मानिने बेलायतमा सन् १९४७ मा आधा घरमा मात्र न्यानो पानीको व्यवस्था थियो । जर्मनमा व्यापक बमबारीका कारण युद्धपूर्वको जनसंख्याको १० प्रतिशत मरेका थिए भने झन्डै दुई करोड जर्मन नागरिक बेघर बनेका थिए । बाँकी युरोपको अवस्था पनि त्यति राम्रो थिएन । त्यस्तोमा प्रजातन्त्रभन्दा साम्यवाद अथवा रूढिवादी तानाशाह विस्तार हुने आशंका गरिएको थियो । 

तर, आशंकाविपरीत शान्ति तथा प्रजातन्त्रले युरोपमा जरा गाड्यो र सम्पूर्णजसो पश्चिमी युरोपमा त्यो फर्कियो । यस अवधिमा आर्थिक रूपमा पनि परिस्थितिमा अविश्वसनीय सुधार आयो । जसका कारणले गर्दा युद्धको तीन दशकलाई महान् ३० वर्ष भनिन्छ । पछि युरोपेली संघ मध्य तथा पूर्वी युरोपमा विस्तार भयो । सुरुमा यो विस्तार पनि सफल देखिएको थियो । तर, पूर्वी विस्तार युरोपको कमजोरीको रूपमा देखिएको छ । हंगेरी र पोल्यान्ड युरोपेली संघको असफलता तथा संस्थागत कमजोरीका रूपमा देखिएको छ । 

संघले हंगेरीलाई निकालेर पोल्यान्डलाई पनि निकाल्ने धम्की दिनुको कारण छ । कुनै पनि सदस्य राष्ट्रमा प्रजातान्त्रिक संस्थान कमजोर बनाउन सक्ने सरकार चुनिन सक्छन् । अधिनायकवादी मार्गमा हिँड्न चाहने नेतृत्वलाई एक दिन तिनका मतदाताले हटाउनेछन् भनेर विश्वास गरिन्छ । तर, हंगेरीमा यो सिद्धान्त लागू हुने सम्भावना कमजोर हुँदै गएको छ । झन्डै दशकपछि पनि ओर्बानको पार्टीलाई मतदाताले हटाउने कुरामा शंका उब्जिएको छ । युरापेली संघले हंगेरीलाई जति लामो समयसम्म सामान्य प्रजातन्त्रको रूपमा व्यवहार गर्छ, त्यति नै संघको छविमा धक्का पुग्छ । संघले अब कठोर रूपमा ‘ट्रिटी अन युरोपेली युनियन’ सन्धिको धारा ७ लाई सक्रिय बनाउनुपर्छ, जसले हंगेरीको संघभित्र मतदान गर्ने शक्ति खोस्नेछ । त्यसपछि संघको कोष ती देशमा जानबाट रोकिनेछ । युरोपेली परियोजनालाई सही मार्गमा हिँडाउने हो भने हंगेरीले या  त संघका नियम पालना गर्नुपर्छ, अन्यथा उसलाई निष्कासित गर्नुपर्छ । 
एमआइटीका अर्थशास्त्रका प्राध्यापक ड्यारोन एसेमोग्लु चर्चित पुस्तक ह्वाई नेसन फेलका सहलेखक हुन् । 

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य