मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Friday, 11 July, 2025
मानदत्त रावल जुम्ला
२o७८ भदौ २२ मंगलबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडेको मासु बेच्छन् व्यापारी, एक क्विन्टल मासु नष्ट गरियो

Read Time : < 1 मिनेट
मानदत्त रावल जुम्ला
नयाँ पत्रिका जुम्ला
२o७८ भदौ २२ मंगलबार १७:११:oo

जुम्ला सदरमुकाम खलंगाका मासु व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको पाइएको छ। हालै सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंको नेतृत्वको टोलीले बजार अनुगमन गर्दा यस्तो भेटिएको हो।

अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमालस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो। त्यसक्रममा खुला र अव्यवस्थित रूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको छ।

खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैँसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरिएको चौलागाईंले जानकारी दिए। उनले भने, ‘हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौँ। व्यापारीले अटेर गरेपछि जफत गरिएको हो। सडेगलेको, कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो।’

सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ। व्यापारीले खुला रूपमै कुहिएको मासु बेच्दा र महिनौँदेखि नगरपालिकाले फोहाेर नउठाउँदा बजार दुर्गन्धित बनेको हो।

बजारका ६ वटा मासु पसलसहित १८ वटा खाद्य पसल अनुगमन गरेपछि ६९ हजार सात सय ४० रुपैयाँबराबरको सामान नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख अमृतसुमन भूषणले जानकारी दिए।