मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १० बिहीबार ११:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परीक्षा सकेर सिफारिस कुरेका लोकसेवाका परीक्षार्थीले बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १० बिहीबार ११:३३:००

लोकसेवा आयोगद्वारा सञ्चालित सबै चरणका परीक्षाहरू सकेर सिफारिसको पर्खाइमा बसेका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका परीक्षार्थीहरूले लोकसेवा आयोगका अध्यक्ष र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्। 

परीक्षार्थीहरूले बुधबार आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र मन्त्रालयका सचिव एकनारायण अर्याललाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। स्थानीय तथा प्रदेशमा समायोजित शाखा अधिकृतहरूले दायर गरेको रिट निवेदनउपर अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले ‘निवेदकहरू जतिको पद संख्यामा ज्येष्ठतासमेतका मापदण्ड पूरा भएका कर्मचारीको पद मिलान नभएसम्म उक्त पद संख्यामा पदपूर्ति नगर्नू–नगराउनू’ भनेसँगै उनीहरूले सम्पूर्ण चरणको परीक्षा सम्पन्न गरिसकेको अवस्थामा विज्ञापनबाट पदसंख्या कटौती नगर्न ज्ञापनपत्र बुझाएका हुन्।

‘सर्वोच्च अदालतको मिति २०७८/०४/२५ को आदेशअनुसार रिट निवेदक ३४ जनाको संघमा समायोजन भइसकेको बुझिन आएको छ। निज निवेदकहरू संघमा समायोजन भएका कारण हामीलाई लोकसेवा आयोगको सिफारिसबमोजिम पद मिलानमा समस्या भएको खण्डमा निजामती सेवा ऐन, २०४९ को दफा १८ (घ) तथा निजामती सेवा नियमावली, २०५० को नियम ३४ ग बमोजिम अतिरिक्त समूहमा रहनेसम्बन्धी व्यवस्था रहेको छ,’ आयोगमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ। 

०७६ माघमा प्रथम चरण र ०७७ पसमा द्वितीय चरणको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरूमध्ये ०७८ असार २१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा उत्तीर्ण ६ सय ३१ जना शाखा अधिकृत पदका परीक्षार्थीहरूको यही भदौ ८ गते अन्तर्वार्ता परीक्षा सकिएको थियो।

लोकसेवा आयोगमा रिक्त पदको विवरण  सामान्य प्रशासन मन्त्रालयले नै पठाएको र सोही पदसंख्याको आधारमा लोकसेवा आयोगले रिक्त पदमा दरखास्त दिन आह्वान गरेअनुसार आफूहरू परीक्षामा सहभागी भएकाले सबै चरणको परीक्षासमेत दिई योग्यताक्रमको आधारमा हुने अन्तिम सिफारिसको नतिजा पर्खिरहेको अवस्थामा उक्त पदसंख्यामा सिफारिस हुन पाउनु आफ्नो अधिकार भएको मन्त्रालयका सचिव अर्याललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।