गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीमा गएका कामदारलाई पेन्सन वा सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गरेको छ । संघले श्वेतपत्र जारी गर्दै नेपालमा रेमिट्यान्स भित्र्याउने कामदारको सामाजिक सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताएको हो ।
श्रम गन्तव्यका रूपमा रहेका मध्यपूर्व र मलेसियन रोजगारदाता कम्पनीले आफ्ना नागरिकलाई पेन्सनको व्यवस्था गरे पनि आप्रवासी कामदारलाई त्यस्तो सुविधा दिँदैनन् । ‘नेपाल सरकारले चलाएको पेन्सन योजना वा सामाजिक सुरक्षा कोषमा कामदारलाई समेट्न सकिन्छ,’ उनले भने । यस्ता सुरक्षा कोषमा कामदारलाई समेट्न सम्बन्धित रोजगारदातालाई पनि योगदान गर्न जिम्मेवार बनाउन सकिने उनले बताए । कामदारलाई पेन्सन वा सुरक्षा योजनामा जोड्नका लागि संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्ने सुझाब दिएको छ । नेपालबाट रोजगारीमा जाने अधिकांश कामदार अदक्ष भएका कारण पारिश्रमिक पनि न्यून रहेको संघका वरिष्ठ उपाध्यक्ष केसी बताए । ‘कामदारलाई दक्ष बनाउन ठूलो लगानी गर्नैपर्दैन । तीनमहिने सीपयुक्त तालिम दियौँ भने पनि पर्याप्त हुन्छ । तालिम दिनेबित्तिकै कामदारको पारिश्रमिक दोब्बर हुन्छ,’ उनले भने । तर, सरकारले यसतर्फ कुनै चासो नदेखाएको उनले गुनासो गरे ।
साथै, सम्बन्धका आधारमा घरेलु श्रमिकका रूपमा महिलालाई वैदेशिक रोजगारीको बन्देज हटाउनुपर्ने संघको सुझाब छ । सरकारले बन्देज गरे पनि महिलाहरू गैरकानुनी बाटो हुँदै विभिन्न मुलुक पुगेको संघका वरिष्ठ उपाध्यक्ष डा. केसीले बताए । गैरकानुनी रूपमा गएकै कारण महामारीको समयमा महिलाहरू झनै जोखिममा परेको उनले बताए ।