मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ ८ मंगलबार ०८:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्मार्ट भिलेज घलेगाउँमा आन्तरिक र बाह्य पर्यटक आगमन खुला

Read Time : > 1 मिनेट
२०७८ भदौ ८ मंगलबार ०८:५७:००

कोभिड– १९ का कारण वैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि खुला गरिएको छ । 
एक हप्ताअघि साउन ३२ गतेदेखि घलेगाउँको होमस्टे खुला गरिएको हो । बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

‘एक वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको छ,’ अध्यक्ष घलेले भने । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको बताए । उनले भने, ‘घलेगाउँ पुग्ने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।’ पर्यटक आगमन खुला गरिएसँगै जिल्लाभित्र र जिल्लाबाहिरका पर्यटक पनि आउन थालेका छन् । घरवास खुला गरेसँगै घलेगाउँमा दैनिक २०–२५ जना पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव विकले बताए । 

कोरोनाको त्रासले नआएका पर्यटक यतिवेला आउन थालेपछि घरवासमा चहलपहलसँगै आम्दानी हुँदा घरवास सञ्चालक खुसी भएका छन् । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायीले केही राहतको अनुभूति गरेका छन् । प्रकृतिले सिँगारिदिएको घलेगाउँ आफैँमा सुन्दर छ भने घरवास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३७ घरमा सञ्चालन गरिएको छ ।

समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटर उचाइको घलेगाउँमा ०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको थियो । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ ।

न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । 

घलेगाउँमा नमुना चिया बगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृश्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । हिमशृंखलाको काखमा अवस्थित घलेगाउँको झ्यालबाटै मनोरम सेताम्य हिमालको टाकुरा देखिन्छ । माछापुच्छ्रे अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्धलगायतका हिमशृंखलाको मनोरम दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ । लमजुङको सदरमुकाम बेंसीसहरबाट मोटरमा दुई घन्टामा घलेगाउँ पुग्न सकिन्छ ।