मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ७ सोमबार
  • Sunday, 22 December, 2024
२o७८ भदौ ७ सोमबार o६:३९:oo
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

क्यारिकेचरले थेगेको गाईजात्रा

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतले हास्यव्यंग्यको एक किसिमको संस्कृतिको विकास गरेका थिए । तर, अहिले त्यो संस्कृति र सिर्जनशीलता गुम्दै गएको देखिन्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ७ सोमबार o६:३९:oo

हरेक वर्षको गाईजात्रा हास्य कलाकारका लागि उत्सवझैँ बन्ने गर्छ । यस अवसरमा हास्य कलाकारहरू आफ्नो सिर्जनशीलतामार्फत दर्शकलाई मनोरञ्जन दिन्छन् । विभेद, अन्याय, कुसंस्कारमाथि व्यंग्य गर्छन् । समकालीन राजनीतिमाथि व्यंग्य गर्छन् । तर, दर्शकले खोजिरहेकै हास्यरस पस्किरहेको छ त हास्यकलाकारले ? चलचित्रकर्मी तथा समीक्षक मनोज पण्डित भन्छन्, ‘यसपटकको गाईजात्रामा जति सिर्जनात्मक कुरा आइरहेका छन्, त्यतिलाई मात्रै हास्यव्यंग्य मान्न सकिँदैन । हास्यव्यंग्यको क्षेत्र बृहत् छ, तर यसलाई खुम्च्याउँदै लगिएको छ ।’ 

यसपटकको गाईजात्रामा हाँस्यव्यंग्य प्रस्तुति ‘झापाली पुराण’ लिएर आएकी कलाकार कल्पना खतिवडा भन्छिन्, ‘जबसम्म हामीलाई चलाउँदैन, कुनै झापालीले त्यो मान्छेलाई फर्केर पनि हेर्दैन । सरल भाषामा भन्नुपर्दा जबसम्म कसैले प्रचण्डको जस्तो व्यहोरा देखाउँदैन, तबसम्म कुनै झापालीले ओली रूप लिँदैन ।’ प्रस्तुतिको सुरुवातमै यी वाक्य बोलेकी खतिवडाको राजनीतिप्रतिको बुझाइ जति सतही सुनिन्छ, बाँकी प्रस्तुतिले झनै प्रस्ट पार्छ । ‘प्रचण्डको जस्तो व्यहोरा’ हुनासाथ झापालीहरू ‘ओली’ बन्ने उनको भनाइ कुनै कोणबाट पनि सहज लाग्दैन । नेपाली राजनीतिमा ‘ओली’को बिम्ब जे छ, सबै झापालीमा त्यो नहुन सक्छ । सबै झापाली ‘ओली’ पनि होइनन् । यही बिम्ब अथवा प्रतीक छनोटमा उनी चुकेकी छिन् । 

गजुरियल युट्युब च्यानलबाट सार्वजनिक भएको यसपटकको गाईजात्राको यस शृंखलामा अर्का हास्यकलाकार आउँछन् सुबोध गौतम । अरू वेलाको प्रस्तुतिमा सिर्जनशीलतासहित हास्यव्यंग्य प्रस्तुत गर्ने गौतम यसपटक भने घरी पत्रकार रवि लामिछानेको क्यारिकेचर गर्छन्, घरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको । घरी राजेन्द्र महतोको गर्छन् त घरी रामनाराण विडारीको । अन्त्यमा मुकुन्द घिमिरेलाईसम्म छाड्दैनन् । तर, समग्रमा गौतमको प्रस्तुति क्यारिकेचरमै सकिएको छ । जसले क्षणिक मनोरञ्जनबाहेक केही दिन सक्दैन । 

हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ पछिल्लो समय हास्यव्यंंग्यको अवस्था बिग्रँदै गएको दाबी गर्छन् । ‘हरिवंश, मदनदाइहरूले हास्यव्यंग्यको एक किसिमको संस्कृतिको विकास गरेर ल्याएका थिए । तर, अहिले त्यो संस्कृति र सिर्जनशीलता कतै देखिन्न,’ घिमिरे भन्छन्, ‘दुई तीन नेताको क्यारिकेचर गर्नासाथ कलाकार भइहाल्ने अवस्था छ । यसले हास्यव्यंग्य क्षेत्रलाई नै संकटमा ल्याएको छ । हास्यव्यंग्यको विविध प्रकार छन्, त्यसमा रहेर काम गर्ने कलाकार एकदमै कम छन् ।’ हास्यकलाकार जितु नेपाल पनि पछिल्लो समय क्यारिकेचर बढी नै भएको स्विकार्छन् । ‘हाम्रो नेपालमा राजनीति नै सधैँ केन्द्रमा हुन्छ, त्यसैले पनि राजनीतिमाथि बढी व्यंग्य भएको होला । तर, नेताको क्यारिकेचरचाहिँ अलि ज्यादै भएको हो,’ नेपाल भन्छन्, ‘पहिलाका गाईजात्रामा क्यारिकेचर नै हुँदैनथ्यो ।’ क्यारिकेचरले हास्यव्यंग्यलाई व्यक्तिकेन्द्रित मात्रै बनाउने नेपालको बुझाइ छ । 

केही वर्षअघि मानिसको शारीरिक दुर्बलता, उनीहरूको शरीरको हाउभाउ हास्यव्यंग्यको केन्द्रीय विषयवस्तुु हुन्थ्यो । यसमा पनि सबैभन्दा मजाकको पात्र मधेसवासीलाई बनाइन्थ्यो । उनीहरूको हाउभाउ, बोल्ने शैलीलाई टिपेर उनीहरूलाई नै उडाइन्थ्यो । ‘मेरी बास्सै’ टेलिसिरियलमा सीताराम कट्टेल ‘खड्काजी’ बनेर मुख बिगारेर बोल्दा खुबै आलोचना खेपेका थिए । ‘भद्रगोल’का अर्का पात्र ‘पाँडे’लाई लिएर पनि पाँडे थरका समुदायले गुनासो गरेको थियो । नेपाली हास्यव्यंग्यको इतिहास केलाउने हो भने यस्ता उदाहरण बग्रेल्ती भेटिन्छन् । 

तर, आफूले कुनै समुदायलाई ठेस पुर्‍याउनका लागि ‘पाँडे’ नामक पात्र सिर्जना नगरेको घिमिरेको दाबी छ । उक्त पात्रले कसैलाई ठेस पु¥याउनेभन्दा पनि अभिनय र हास्यरसको माध्यमबाट दर्शकलाई मनोरञ्जन मात्रै दिने बताउँछन् घिमिरे । तर, पछिल्लो समयको हास्यव्यंग्यप्रति भने घिमिरे सन्तुष्ट छैनन् । ‘महहरूले प्रहसन, कमेडी गर्नुहुन्थ्यो, स्ट्यान्डअप कमेडी गर्नेहरूले सामाजिक, राजनीतिक मुद्दाहरूमाथि व्यंग्य गर्नुहुन्थ्यो,’ घिमिरे भन्छन्, ‘अहिले त जुन नेताले गलत बोल्यो, त्यसैलाई ‘कपी’ गरेर हास्यव्यंग्य क्षेत्रमा टिक्नेजस्तो देखियो । कुनै नेताले बोल्नासाथ हास्यव्यंग्य भइहाल्छ । हास्यकलाकारले त्यस्तोलाई मात्रै प्रश्रय दिनु राम्रो होइन ।’

तर, हरेक विषय समयअनुसार परिवर्तन हुँदै जानेमा विश्वस्त छन् कलाकार दीपकराज गिरी । कलाकारले कस्तो प्रस्तुति दिने भनेर समय र परिस्थितिले निक्र्योल गर्ने गिरीको बुझाइ छ । ‘पछिल्लो समय राजनीतिले समाजलाई डोर्‍याउन नसकेको अवस्था छ । राजनीति विकृत भएको अवस्थामा त्यही कलाकारले खेल्नु अस्वाभाविक होइन,’ गिरी भन्छन्, ‘हास्यव्यंग्यमा विषयवस्तुलाई घुमाएर, प्रतीकात्मक रूपमा प्रस्तुति दिनुभन्दा पात्रमाथि प्रस्तुति दिनु सजिलो भएकाले कलाकार त्यता लागेका हुन् ।

प्रचण्डको कार्यशैलीमाथि व्यंग्य गर्नु सिर्जनशीलता चाहिन्छ, तर लुगा, बोली पक्रिँदा पचास नम्बर बढिहाल्छ, त्यसले सजिलो पनि बनाउँछ ।’ हरिवंश, मदनकृष्णको पालामा सीधै भन्न नसकिने भएकाले प्रतीकात्मक भन्नुपथ्र्यो । दर्शक हाँस्दामा पनि बुझेर हास्नुपथ्र्यो । तर, आफूहरूको पुस्तामा आइपुग्दा प्रजातन्त्र पुनस्र्थापना भएको र ‘भल्गारिटी’ पनि अलि छिरेको गिरी स्विकार्छन् । भन्छन्, ‘अहिलेजस्तो प्रस्तुति आइरहेका छन्, त्यसमा अहिलेको समयको ठूलो भूमिका छ । तर, सधैँ एकै कुरा मात्रै चल्दैन भनेर कलाकारले बुझ्नुपर्छ । क्यारिकेचर हास्य विधाको एउटा पाटो मात्रै हो ।’

हास्यकलाकार नेपाल पनि राजनीतिक विषय मात्रै अउनुलाई त्यति नराम्रो मान्दैनन् । जताततै राजनीति मात्रै हाबी हुनुले पनि हास्यव्यंग्य त्यतै बढी ढल्किएको नेपालको विश्लेषण छ । भन्छन्, ‘जुन ठाउँमा घाउ बढी भयो, त्यही ठाउँमा औषधि लगाइन्छ । यहाँ त स्वास्थ्य, शिक्षालगायत कुनै ठाउँ राजनीतिबाट अछुत छैन, यसैले पनि बढीजसो हास्यव्यंग्य राजनीतिमा केन्द्रित भएको हो ।’ तर, समीक्षक पण्डित भने नेपाली हास्यव्यंग्य क्षेत्र ‘व्यंग्य’ तत्वमा मात्रै सीमित भएको देख्छन् । भन्छन्, ‘हास्यव्यंग्यमा ‘हास्य’ र ‘व्यंग्य’ हुन्छ । तर, हामी ‘व्यंग्य’मा मात्रै सीमित छौँ ।’

हास्यका लागि पात्र चाहिने, दर्शकलाई थ्रिलिङ महसुस हुनुपर्ने पण्डितको बुझाइ छ । दर्शकलाई हास्यरस प्रदान गर्नु सिर्जनात्मक कर्म भएकाले त्यसमा सबैको तागत नहुने बताउँछन् । ‘अहिले हास्यकलाकारभन्दा बढी व्यंग्य कलाकार छन् । तर, कलाकारले के बुझ्नुपर्छ भने गम्भीरता र हास्यबीचमा पातलो पर्दाको मात्रै फरक हुन्छ । गम्भीर विषय नै हास्यास्पद हुन सक्छ,’ पण्डित भन्छन् ।