१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २९ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण २९ शुक्रबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मिर्गौलामा कहाँबाट आउँछन् ढुंगा ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण २९ शुक्रबार o८:o६:oo

स्वास्थ्य सल्लाह

डा. प्रेमराज सिग्देल युरोलोजिस्ट भरतपुर अस्पताल

मिर्गौलामा ढुंगा अर्थात् पत्थर देखिनुलाई मिर्गौलामा पत्थरी भएको भनिन्छ । तर, आममानिसमा जिज्ञासा हुनसक्छ, मिर्गौलामा ती ढुंगाचाहिँ कहाँबाट आउँछन् ? यसको जवाफ जान्न पहिले मिर्गौलाले गर्ने कामबारे बुझ्न जरुरी हुन्छ । 

मिर्गौला हाम्रो शरीरको त्यो महत्वपूर्ण अंग हो जसले शरीरमा पैदा हुने दूषित÷विषाक्त तथा खनिज पदार्थलाई छानेर पिसाबमार्फत बाहिर फाल्ने काम गर्छ । मिर्गौलाले पर्याप्त मात्रामा छानेर फ्याँक्न सकेन भने यस्ता पदार्थ ढुंगाका रूपमा विकास हुन्छन् । पिसाबमा हुने क्याल्सियम, अक्सलेट, साइस्टाइन, युरिक एसिडजस्ता पदार्थ सामान्यतः पिसाबसँगै बगेर जान्छन् ।

तर, कम पानी पिउने व्यक्तिको हकमा यी पदार्थ बालुवाजस्तो बनेर मिर्गौलामै जम्मा हुन थाल्छन् । लामो अवधिसम्म यो सिलसिला रहँदा ढुंगाको रूप लिन्छन् । यसैलाई मिर्गौलामा पत्थरी भएको भनिन्छ । 

पत्थरी हुँदा कस्ता लक्षण देखिन्छन् ? 
१.    कोखा दुख्ने :  पत्थरीले पिसाबनली बन्द गरिदियो भने कोखा दुख्छ । दुखाइ कसैमा सामान्य वा कसैमा सहन नसक्ने हुन्छ । कोही बिरामी अस्पताल नै भर्ना हुनुपर्ने खालको हुन्छ । कोखादेखि सुरु भएको दुखाइ पेटको तल्लो भाग वा अण्डकोषसम्म विस्तार हुन्छ । 
२.    पिसाबमा रगत देखिने 
३.    वाकवाकी लाग्ने, उल्टी हुने, ज्वरो आउने 
४.    छिटो–छिटो पिसाब फेर्न मन लाग्ने 
५.    यीमध्ये कुनै पनि लक्षण नदेखिने ः मिर्गौलामा पत्थरी भएका कतिपयलाई भने कुनै पनि लक्षण नदेखिन सक्छ । मिर्गौलामा लामो समय पत्थरी रहेमा मिर्गौला नै बिग्रिन पनि सक्छ । 

कसरी पत्ता लगाउने ?

चिकित्सकले बिरामीको लक्षणका आधारमा विभिन्न जाँच गराउँछन्
  - पिसाब परीक्षण
   - भिडियो एक्सरे
   - सामान्य एक्सरे
   - सिटिस्क्यान

ढुंगा कसरी फाल्ने ?
मिर्गौलामा भएको पत्थरी हटाउने फरक–फरक तरिका हुन्छन् । मिर्गौलालाई नोक्सान नगरेका तथा नदुखेका पत्थरीको तत्काल उपचार आवश्यक पर्दैन । वेलावेलामा चिकित्सकलाई भेटेर पत्थरीको अवस्थाबारे भने बुझ्नुपर्छ । मिर्गौलाको पत्थरीको उपचारका सन्दर्भमा यसको आकार र कुन ठाउँमा छ भन्ने विषयलाई खास ध्यान दिइन्छ । 

१० एमएमभन्दा साना पत्थरी बिरामीले घरमै गर्ने सामान्य प्रयासबाट पिसाब हुँदै बाहिर निस्किन्छन् । पर्याप्त पानी पिउँदा तथा औषधि सेवन गर्दा साना पत्थरी झर्छन् । खासगरी पिसाबनलीमा भएका पत्थरी झार्न औषधि उपयोगी हुन्छन् ।

पत्थरीको कारणले ज्वरो आए, पिसाब बन्द हुने समस्या देखिए, एउटा मात्रै मिर्गौला भएका बिरामी, गर्भवती तथा धेरै दुखाइ भएकाहरू अस्पताल भर्ना हुनुपर्छ । दुखाइ धेरै नै बढेको छ भने आइबुप्रोफेनजस्ता औषधि चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्न सकिन्छ । यी औषधिको मात्रा तलमाथि हुँदा मिर्गौला नै बिग्रिन सक्ने जोखिम हुन्छ । 

पिसाबमा पत्थरी झरेको छ भने पनि जम्मा गरेर चिकित्सकलाई देखाउनुपर्छ । चिकित्सकको सल्लाहअनुसार ढुंगा जाँच गराएर थप उपचार अगाडि बढाउनुपर्छ । १० एमएमभन्दा ठूला पत्थरी भने आफैँ झर्न गाह्रो हुन्छ । अपरेसन नै गरेर निकाल्नुपर्छ । जटिल अवस्थाका बिरामीको वेलैमा उपचार नगरे मिर्गौला बिग्रिने तथा पिसाबको संक्रमण शरीरमा फैलिएर ज्यानै जानसक्ने हुन्छ । 

  •   नचिरी पिसाबको नली हुँदै मिर्गौलासम्म पुगेर उपचार गर्ने प्रविधि
  •   मिर्गाैलालाई छोडेर पत्थरी निकाल्ने प्रविधि 
  •   शरीरबाहिर झड्का दिएर पत्थरी फुटाउने प्रविधि, पत्थरी कमलो छ र अनुकूल ठाउँमा बसेको छ भने यो विधि प्रयोग गरिन्छ । 
  •   चिरेर अपरेसन गर्ने प्रविधि, चिर्नुपर्ने अवस्था विरलै आउँछ ।

पत्थरी बन्न नदिन ध्यान दिनुपर्ने पक्ष
   - पर्याप्त पानी पिउने– दिनमा कम्तीमा दुई लिटर पिसाब बन्ने परिणाम पानी पिउने । शारीरिक व्यायाम गर्ने अर्थात् पसिना धेरै निस्कने व्यक्तिले सामान्य व्यक्तिको तुलनामा धेरै पानी पिउनुपर्छ ।
   - नुन कम खाने 
  - तरकारी तथा रेसायुक्त खानामा जोड दिने
   - माछा, मासु कम खाने 
   - मोटोपन तथा तौल नियन्त्रण गर्ने
   - अक्सलेट पाइने खानेकुरा कम खाने (जस्तै– बदाम, पालुंगो, आलु, चुकन्दर, डार्क चकलेट, कालो चिया, सिमी)
  - सिट्रेट पाइने खानेकुरा पर्याप्त खाने (फलफुल तथा तरकारीहरू)

एकपटक हटाएपछि फेरि पत्थरी बन्छ ? 
एकपटक हटाएपछि पुनः पत्थरी बन्ने सम्भावना रहन्छ । त्यसैले पहिलो उपचारका क्रममै आफूलाई पत्थरी बन्नुको कारण पत्ता लगाउनुपर्छ । रगत जाँच गरेर हेर्नुपर्छ । कुनै रोग पत्ता लागेमा सोको उपचार गर्नुपर्छ । २४ घन्टाको पिसाब जाँच गरेर पत्थरी बन्नुको कारण पत्ता लगाउन सकिन्छ । पिसाबमा पत्थरी गएको छ भने प्रयोगशालामा पत्थरको जाँच गर्नुपर्छ । पत्थरी बन्नुको कारण पत्ता लगाएर उपचार गर्न सके ९० प्रतिशतमा फेरि पत्थरी बन्न रोकिन्छ । 

ad
ad
ad
ad