मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण २२ शुक्रबार ०७:२२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङ डेढ महिनादेखि सडक सम्पर्कविच्छेद

Read Time : > 1 मिनेट
२०७८ श्रावण २२ शुक्रबार ०७:२२:००

गत १ असारको बाढीले विस्थापित भएका मनाङको नासों गाउँपालिका–१ तालगाउँका बाढीपीडितले सरकारसँग वासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । मर्स्याङ्दी नदीमा आएको बाढीले घर बगाएपछि तालगाउँकी ४९ वर्षीया सन्तकुमारी परियारले अहिले तालगाउँमै आमा समूहको भवनमा शरण लिएकी छन् ।

‘वास बस्ने घर पाए गाँसको व्यवस्था त दैनिक ज्यालादारी गरेर चलाउने थिए,’ उनी भन्छिन् । बाढीले घर बगाएपछि कहिले त्रिपाल त कहिले आफन्तकोमा बस्दै आएकी उनी अहिले डराइ/डराइ आमा समूहको भवनमा बसेकी छन् । ‘सुन्दर तालगाउँ अहिले बगरमा परिणत भएको छ,’ उनले भनिन् ।

१ असारमा वर्षासँगै मर्स्याङ्दीमा आएको बाढीले गंगामाया गुरुङकोे घरखेत बगरमा परिणत भएको छ । ‘दुःखले बनाएको घरमा मस्र्याङ्दी नदी बगेको छ । बाढीले बस्ने घर नै बगायो बाढीबाट ज्यान त बच्यो, तर बस्नलाई घर नै छैन,’ उनी भन्छिन्, ‘सरकारले गाँसको होइन, वासको व्यवस्था गरिदिए हुन्थ्यो ।’

विस्थापित बाढीपीडितले गाँसको भन्दा पनि वासको व्यवस्था गर्न माग गरेका छन् । डेढ महिनादेखि घरबारविहीन बनेका बाढीपीडित सुरक्षित ठाउँमा पुनर्वासको आसमा छन् ।

तालगाउँका सिंहबहादुर गुरुङ भन्छन्, ‘रात परेपछि मस्र्याङ्दीमा बाढी आउँछ कि भन्दै रातभर जाग्राम बस्नुपरेको छ । तालगाउँ बस्न उपयुक्त छैन, तर पनि डराइडराइ बस्नुपर्ने बाध्यता छ ।’ 

मर्स्याङ्दीको बाढीले सुन्दर तालगाउँ अहिले बगरमा परिणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । ‘सुन्दर बस्तीमा अहिले ढुंगा, माटो, बालुवा र रूखका हाँगा मात्र छन्,’ उनले भने ।

बाढीपहिरोपछि सडक, खानेपानी, विद्युत र सञ्चारबाट विच्छेद भएको मनाङको अवस्था झनै दर्दनाक र पीडादायी छ । मनाङको सडक बाढीले क्षतविक्षत हुँदा मनाङका स्थानीय हेलिकप्टरको भर पर्नुको विकल्प छैन । 

असारको पहिलो दिन अविरल वर्षासँगै आएको बाढीले भौतिक संरचनाका साथै करोडौँको क्षति पुर्‍याएपछि यतिवेला मनाङवासी पीडामा छन् । बाढीले तालगाउँका ६० घर विस्थापित भएका छन् । मस्र्याङ्दीलगायत अन्य सहायक खोलाहरूमा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार मनाङको नासों गाउँपालिका र चामे गाउँपालिकाका गरी एक सय ५० घरधुरीको ७५० जना विस्थापित भएका छन् । 

मनाङमा बाढीले ४० घरमा पूर्ण क्षति भएको र २८७ घर जोखिममा छन् । बाढीले तालगाउँको ३० घर र चामेको १० घर गरी ४० घर बस्न नमिल्ने गरी क्षति भएको छ । बाढीपीडितको पुनास्र्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । स्थानीय तहले प्रस्ताव ल्याएपछि बाढीबाट विस्थापित भएकाको पुनस्र्थापना गरिने उनी बताउँछन् । 

मर्स्याङ्दीको बाढीले नासों गाउँपालिकाको धारापानीमा रहेको नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी धारापानी, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन, वडा नं. ५ को कार्यालय, थोंचे स्वास्थ्यचौकी र धारापानीका होटेल बगाएको थियो । बाढीले मनाङ ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चेतिर जाने झोलुंगे पुल बगाएको छ । बाढीले मनाङ डेढ महिनादेखि सडक सम्पर्कविच्छेद छ ।