नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले महाधिवेशनको विकल्प महाधिवेशन नै भएको निष्कर्ष निकालेको छ। आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले क्रियाशील सदस्यता विवाद छिटो टुंग्याउने विषयमा छलफल गरेको अर्जुननरसिंह केसीले जानकारी दिए। वैधानिकता संकटमा नपर्ने गरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने विषयमा सभापति शेरबहादुर देउवासँग छलफल हुने केसीले बताए।
संस्थापन पक्षले क्रियाशील सदस्यता मनोमानी ढंगले बाँडेको पौडेल पक्षको आरोप छ। क्रियाशील सदस्यताको विषयमा रणनीतिक तरिकाबाट काम गर्नुपर्ने नेताहरूले बताएका थिए। सरकारमा आफ्नो समूहको सम्मानजनक उपस्थितिबारे पनि बैठकमा छलफल भएको छ। स्रोतका अनुसार पौडेल पक्षले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय दाबी गरेको छ।
पौडेल पक्षले काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसँग पनि छलफल गरेको छ। सभापतिहरूले पार्टीको विधान र केन्द्रीय समितिको निर्देशनविपरीत क्रियाशील सदस्यता वितरण गरिए मान्य नहुने बताएका थिए।