म्याद सकिएको कस्मेटिक सामग्रीमा नयाँ मिति राखेर बिक्री–वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगन्ज–१३ का अविनाश अग्रवाल र भारतीय राजस्थानका ४१ वर्षीय महावीर गजुर छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले स्वयम्भूको सानोभ¥याङस्थित एक घरमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूले सो घरमा म्याद गुज्रिएका विभिन्न कस्मेटिक सामग्री भण्डारण गर्दै आएका थिए । घरबाट प्रहरीले झन्डै दुई करोड मूल्यबराबरको म्याद गुज्रिएको कस्मेटिक सामग्री बरामद गरेको छ । उनीहरूले सामग्रीमा नयाँ लेबल र मिति टाँसेर बजारमा लगी बिक्री–वितरण गर्दै आएका थिए । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले विशेष सूचनाका आधारमा कारखानामा छाप मारिएको बताए । ‘म्याद सकिएको कस्मेटिक सामग्री बिक्री–वितरण हुँदै आएको छ भन्ने सूचना आयो । खोज्दै जाँदा सानोभर्याङमा त्यस्ता सामग्रीलाई नयाँ लेबलिङ गर्ने गोदाम नै रहेको खुल्यो । हामीले सोही गोदाममा छापा मारेका हौँ । घटनाको थप अनुसन्धान हुन बाँकी छ ।’
प्रहरीका अनुसार भाटभटेनी, बिग मार्टलगायतका स्थापित चेन सुपरमार्केटबाट म्याद गुज्रिएका सामग्री उनीहरूले लिन्थे । सोही सामग्रीमा नयाँ लेबल र मिति टाँस्थे अनि बजारमा लगेर बिक्री गर्थे । उनीहरूले गोदाम सानोभर्याङ र स्टोर न्युरोडमा बनाएका थिए । दुवै स्थानमा प्रहरीले आइतबार छापा मारी सिल गरेको छ । उनीहरूले समिट कमर्सियल प्रालिको आवरणमा अवैध धन्दा चलाउँदै आएका थिए ।
छापा मार्दा विभिन्न कम्पनीका बडी–स्प्रे, एयर पफ्र्युम, स्याम्पो तथा कारवासलगायतका सामग्री भेटिएका थिए । ‘उनीहरूले म्याद गुज्रिएका कस्मेटिक सामग्री आफैँ फिर्ता लिन्थे । नयाँ लेबल र म्याद भएको स्टिकर टाँस्थे । अनि पुनः बजारमा लगी बिक्री गर्थे । उनीहरूका यस्ता सामग्री मात्रै दुई करोड मूल्यबराबरको बरामद भएको छ,’ महाशाखा प्रवक्ता एसपी कोइरालाले भने ।