जिल्ला अस्पताल व्यवस्थापन समिति खाली हुँदा प्रशासनिक कामकाजलगायत अस्पताल व्यवस्थापनमा बाधा पुगेको छ । गत माघदेखि अस्पताल व्यवस्थापन समिति खाली भएको र अहिलेसम्म समिति गठन नहुँदा अस्पतालका कामकाजमा कठिनाइ भएको छ ।
प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सात महिनासम्म समिति रिक्त हुदा भौतिक पूर्वाधार मर्मत–सम्भार, कर्मचारी परिचालन व्यवस्थापन, आर्थिक लेखाजोखा, अनुगमनलगायत प्रशासनिक काममा बाधा पुगेको छ । सात महिनादेखि खाली भएको अस्पताल व्यवस्थापन समिति गठन नहुँदा प्रशासनिक कामकाजलगायत सबै कार्यमा बाधा अवरोध उत्पन्न भएको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक दीपबहादुर रावलले बताए ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले व्यावस्थापन समितिको अध्यक्षको नियुक्ति गर्ने र उक्त अध्यक्षले समितिलाई पूर्णता दिने नियम भए पनि अहिलेसम्म अन्योलमा रहेको अस्पतालले बतायो । लामो समयसम्म व्यवस्थापन समिति रिक्त हुँदा अस्पतालको दैनिक प्रशासनिक काम, भौतिक पूर्वाधार मर्मत–सम्भार, विभिन्न निकायमा समन्वय सहकार्यलगायत अस्पतालका अन्य कार्यको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ ।
समितिले पूर्णता नपाउँदा जिल्ला स्वास्थ्य सेवा व्यवस्थापकलाई पनि अस्पताल सञ्चालनमा गाह्रो भएको छ । समिति नहुँदा कसरी कामकाज गर्ने भनेर कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकसमेत अन्योलमा परेका छन् । जिल्ला अस्पतालमा व्यवस्थापन समिति गठन ढिलाइले प्रशासनिक कामकाज लथालिंग अवस्था भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए । उनले प्रदेश सरकारले चाँडो समिति गठन प्रक्रियालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।