एक विदेशी युवतीलाई यौनशोषण गरेको आरोपमा नेपाल प्रहरीका असइ पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत जितेन्द्रनारायण मण्डललाई इलाका प्रहरी कार्यालय इटहरीले सोमबार फक्राउ गरेको हो ।
उनीविरुद्ध ९ साउनमा इलाका प्रहरी कार्यालय इटहरीमा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि मण्डललाई झापाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिए ।
सुनसरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी मण्डलमाथि अनुसन्धान थालिएको डिएसपी केसीले बताए । आफ्नै मामाबाट बेचिएपछि प्रहरीको शरणमा पुगेकी २३ वर्षीया म्यानमारकी एक युवतीलाई असइ मण्डलले लामो समयदेखि यौनशोषण गरेको भन्दै मण्डलविरुद्ध ८ साउनमा जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।
मण्डलले ती युवतीलाई पछिल्लो २८ चैत ०७७ मा इटहरी– ६ स्थित एक लजमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । त्यसअघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि मण्डलले कोठामा राखेर यौनशोषण गरेको बताइएको छ ।
मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकही गएको वेला जहाँ गयो त्यहीँ कोठामा राख्ने गरेको पीडित युवतीले बताएकी छिन् । श्रीमतीको रूपमा आफूलाई राखेको युवतीको दाबी छ । मण्डलकै दबाबमा दुईपटक गर्भपतनसमेत गराएको उनको भनाइ छ ।