मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ७ बिहीबार
  • Thursday, 23 September, 2021
पामिर गौतम
२०७८ श्रावण १२ मंगलबार १२:२५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के हो इयू र बेलायतबीचको खोपयुद्ध?

Read Time : > 6 मिनेट
पामिर गौतम
२०७८ श्रावण १२ मंगलबार १२:२५:००

कोभिड–१९ विरुद्धको खोपलाई लिएर ब्रेक्जिटपछिको बेलायत र इयूबीचको सम्बन्ध भविष्यमा सुमधुर रहनेमा पुनः शंका उत्पन्न हुन थालेको छ 

भारतमा उत्पादन भएको एस्ट्राजेनेकाको कोभिसिल्ड खोप लगाएका व्यक्ति युरोपेली संघ (इयू)का देशहरूमा प्रवेश गर्न अयोग्य हुने विषयले अहिले युरोप यात्रा गर्न चाहनेहरूलाई अप्ठ्यारोमा पारेको छ । इयूले जुलाईको पहिलो साता आफूले मान्यता दिएका खोप लगाउने व्यक्तिहरूलाई आफ्नो क्षेत्रभित्र निर्बाध आवागमन गर्न सकिने गरी डिजिटल सर्टिफिकेट जारी गर्ने नीति ल्याएको थियो । इयूले अहिलेसम्म फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन र बेलायत र इयूमा उत्पादित एस्ट्राजेनेका खोपलाई मात्र प्रयोगका लागि मान्यता दिएको छ । तर, एस्ट्राजेनेकाको भारतमा उत्पादित खोप कोभिसिल्ड लगाउनेहरूलाई भने सर्टिफिकेट नदिने जनाएको छ । 

भारतमा उत्पादित कोभिसिल्डलाई प्रतिबन्ध लगाउने विषय विभेदकारी भएको भन्दै अहिले आलोचना भइरहेको छ । युरोपेली संघले भने एस्ट्राजेनेकाले भारतमा रहेको कम्पनीले उत्पादन र गुणस्तर नियन्त्रणसम्बन्धी आवश्यक कागजात पेस नगरेको भन्दै मान्यता दिन नसकिने प्रतिक्रिया दिएको छ । विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि मान्यता दिइसकेकोे खोपप्रति इयूले देखाएको दोधारे व्यवहार स्वास्थ्य सुरक्षाभन्दा पनि बेलायतप्रतिकोे राजनीतिक प्रतिशोध हुन सक्ने आकलन गरिएको छ । 

सन् २०१९ को जुलाईमा बेलायतको प्रधानमन्त्री बनेयता बोरिस जोनसनले इयूका सदस्य राष्ट्रहरूलाई बेलायतको मित्र र साझेदारका रूपमा उल्लेख गर्दै आएका छन् । जोनसनका अधिकांश समर्थकलाई युरोपेली संघबाट बेलायतको बहिर्गमनपछि पनि दुईबीच अझ बढी सहकार्य हुन सक्ने विश्वास थियो । तर, एक महिना पनि नबित्दै बेलायत र इयूबीच सम्बन्ध चिसियो ।

कोभिड–१९ विरुद्धको खोपलाई लिएर बेलायत र इयूबीच चुलिएको विवादले सम्बन्ध झन् जटिलतातर्फ धकेलिने हो कि भन्ने शंकाले हेर्न थालिएको छ । खोपलाई लिएर इयू र बेलायतबीच तनाव चलिरहेकै वेला युरेसिया समूहका प्रबन्ध निर्देशक मुजतबा रहमानले आफ्नो ट्विटरमा लेखे, ‘मैले ब्रेक्जिटपश्चात्को बेलायत–इयू सम्बन्ध कठिन हुने तर्क पहिल्यैदेखि गर्दै आएको हुँ । तर, सम्बन्ध यति चाँडो र यति गम्भीर ढंगले चिसिएको देखेर भने म आफैँ चकित छु ।’

४ मार्चको तथ्यांकमा बेलायतमा खोप लगाउने दर ३२.३ मा पुग्दा इयूमा यो दर ८.१ मात्रै थियो । यसले इयू सदस्यहरूमा एस्ट्राजेनेकामाथि अविश्वास र असन्तुष्टि बढ्दै गयो । इयूवासीहरूले पनि ब्रेक्जिटपछिको बेलायतीसँग आफूलाई दाँजेर हेर्न थाले ।

कसरी सुरु भयो खोपयुद्ध ?
२०२० जुन महिनामा इयूका सबै २७ सदस्य राष्ट्रले कोरोनाविरुद्धको खोप खरिद गर्न इयूलाई प्रमुख जिम्मेवारी दिए । इयूले २०२० को अगस्टमा बेलायती कम्पनी एस्ट्राजेनेकासँग ३० करोड खोप खरिद गर्ने र आवश्यक भए थप १० करोड डोज लिने सम्झौता गर्‍यो । सम्झौताअनुसार २०२१ को मार्चसम्ममा एस्ट्राजेनेकाले नौ करोड खोप इयूलाई दिइसक्नुपर्ने थियो । तर, २२ जनवरी २०२१ मा एस्ट्राजेनेकाले इयूलाई सम्झौताअनुसारको खोप उपलब्ध गराउन नसकिने र पहिलो तीन महिनामा सम्झौताको एकचौथाइ मात्र आपूर्ति गर्न सकिने जानकारी दियो ।

नौ करोड खोप प्राप्त भइसक्नुपर्ने समयमा तीन करोड मात्र भित्रिने भएपछि इयू असन्तुष्ट भयो । इयूका अध्यक्ष र स्वास्थ्य आयुक्तले तत्काल विरोध गर्दै सम्झौताअनुसार एस्ट्राजेनेकालाई खोप उपलब्ध गराउन आग्रह गरे । २५ जनवरीमा इयू र एस्ट्राजेनेकाका अधिकारीबीच भएको छलफलमा एस्ट्राजेनेकाले दिएको स्पष्टीकरणप्रति इयूकी स्वास्थ्य आयुक्त स्टेला क्यरियाकिड्सले असन्तुष्टि जनाइन् । 

बेलायत र एस्ट्राजेनेकाबीच पनि खोप खरिदसम्बन्धी सम्झौता भएको थियो । बेलायतमा भने खोप आपूर्तिमा समस्या नहुने संकेत एस्ट्राजेनेकाले सार्वजनिक ग¥यो । कम्पनीका सिइओ पास्कल सोरियटले २६ जनवरीमा इटालियन पत्रिका ‘लारिपब्लिका’लाई दिएको अन्तर्वार्तामा बेलायतले इयूले भन्दा तीन महिनाअघि नै सम्झौता गरेकाले उसलाई प्राथमिता दिइने जानकारी दिए । यसले इयू र एस्ट्राजेनेकाबीचको सम्बन्धमा तनाव झनै बढायो । 

बेलायत र इयूप्रति एस्ट्राजेनेकाले विभेद गरेको भन्दै इयूले भोलिपल्टै व्यापक विरोध ग¥यो । सोरियटको वक्तव्यप्रति इंगित गर्दै स्वास्थ्य आयुक्त काइड्सले २७ जनवरीमा एउटा विज्ञप्ति जारी गर्दै भनिन्, ‘सुरुमा आउनेलाई पहिलो सेवा भन्ने मान्यता हामी अस्वीकार गर्छौं । त्यो छिमेकको कसाई पसलमा लागू हुन सक्छ, सम्झौतामा होइन, झन् हाम्रो जस्तो विस्तृत सम्झौतामा त हुँदैहोइन ।’ सोही दिन बेलायती मन्त्री माइकलगोभले बिबिसी रेडियोसँगको अन्तर्वार्तामा बेलायतलाई हुने खोप आपूर्तिमा कुनै प्रभाव नपर्ने बताए । एस्ट्राजेनेकाले बेलायतस्थित उत्पादन केन्द्रबाट उत्पादित खोप इयूमा निर्यात गर्दा फेब्रुअरीको मध्यसम्म आफ्ना एक करोड पाँच लाख जनतालाई खोप लगाउने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता पूरा नहुने चिन्ता थियो । गोभले वितरण तालिकामा सहमति भइसकेको र भुक्तानी पनि गरिसकेकाले योजनाअनुसारै आपूर्ति हुने जनाए ।

‘बेलायत र इयूबीचको खोपयुद्ध’ नामकरण गरिएको यो मुद्दामा छिटोछिटो नाटकीय निर्णयहरू गरिए । २९ जनवरीमा इयूले ब्रेक्जिट सम्झौताको उत्तरी आयरल्यान्डसम्बन्धी प्रोटोकल लागू गर्ने बतायो । इयूबाट उत्तरी आयरल्यान्डमा हुने गरेको खोप निर्यातलाई रोकेर त्यहाँबाट बेलायततर्फ हुने निर्यातलाई इयू नियन्त्रण गर्न चाहन्थ्यो । इयूको यो घोषणाले बेलायत र आयरल्यान्डमा ठूलो तरंग ल्यायो । बिबिसीसँग बोल्दै आयरल्यान्डकी प्रथम मन्त्री अर्लिन फोस्टरले युरोपियन आयोगको कदमलाई ‘शत्रुतापूर्ण कार्य’को संज्ञा दिइन् ।

बेलायतको प्रधानमन्त्री कार्यालयले पनि तत्कालै बयान जारी गर्दै युरोपेली संघले जारी गरेको बयानको उद्देश्यबारे स्पष्टीकरण तुरुन्तै दिन माग गर्‍यो । बोरिस जोनसनले युरोपियन आयोगकी अध्यक्ष उर्सुलाभोन डेर लेयेनसमक्ष पनि गम्भीर चिन्ता व्यक्त गरे ।

लन्डन, बेलफास्ट र डब्लिनमा व्यापक विरोधपछि इयूले वक्तव्य जारी गर्दै उत्तरी आयरल्यान्डसम्बन्धी प्रोटोकल लागू गर्ने निर्णयबाट पछि हट्यो । त्यसपछि आयरल्यान्डका रक्षामन्त्री साइमोन कावनेले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रोटोकललाई छेडछाड नगर्न सचेत गराए ।

एस्ट्राजेनेकासँगको विवादमा बेलायतको भूमिका
खोप अभियानमा एस्ट्राजेनेकाकै उत्पादनमा निर्भर बेलायतमा खोप आपूर्तिमा कुनै समस्या देखिएको थिएन । रोयटर्सको प्रतिवेदनअनुसार इयूमा भने सम्झौताअनुसारको खोप उपलब्ध नहुँदा वितरणमा ठूलो प्रभाव परिरहेको थियो । आवर वल्र्ड इन डाटाका अनुसार ९ फेब्रुअरी २०२१ सम्म बेलायतमा प्रति १०० व्यक्तिमा १९.२ ले खोप लगाएका थिए, इयूले भने सो अवधिमा ३.२ जनालाई मात्रै लगाउन सकेको थियो । त्यसको एक महिनापछि ४ मार्चको तथ्यांकमा बेलायतमा खोप लगाउने दर ३२.३ मा पुग्दा इयूमा यो दर ८.१ मात्रै थियो । यसले इयू सदस्यहरूमा एस्ट्राजेनेकामाथि अविश्वास र असन्तुष्टि बढ्दै गयो ।

इयूवासीहरूले पनि ब्रेक्जिटपछिको बेलायतीसँग आफूलाई दाँजेर हेर्न थाले । यसबाट ब्रसेल्स र इयू सदस्य राष्ट्रहरूलाई आफ्ना जनतामा पनि प्रभावकारी खोप अभियान चलाउन राजनीतिक दबाब सिर्जना हुँदै गयो । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले १० मार्चमा समाचार संस्था पोलिटिकोलाई दिएको अन्तर्वार्तामा बेलायतले इयूलाई खोप निर्यातमा प्रतिबन्ध लगाएर खोप राष्ट्रियता देखाएको आरोप लगाए । उनको अभिव्यक्तिमा स्पष्टीकरण सोधेर बेलायतले तत्काल विरोध मात्रै जनाएन, संसद्मा बोल्दै प्रधानमन्त्री जोनसनले इयूका लागि खोप प्रतिबन्ध नगरेको र खोप राष्ट्रियताको विरोधमा रहेको प्रस्टीकरण दिए । 

युरोपेली संघबाट बेलायत बाहिरिएसँगै व्यापारदेखि कूटनीतिक सम्बन्धमा यी दुईबीच मतभेद देखिन थालेको हो । खोपयुद्ध सुरु नहुँदै बेलायती सरकारले विद्यमान अभ्यासविपरीत इयूका राजदूतलाई केही समय अन्य राष्ट्रका राजदूतसरहको दर्जा दिन अस्वीकार गरेपछि दुई पक्षबीच दरार उत्पन्न भएको थियो ।

तर, फेरि १२ मार्चमा एस्ट्राजेनेकाले इयूलाई भनेजति खोप दिन नसकिने बताएपछि इयूको एस्ट्राजेनेका र बेलायतसँगको सम्बन्ध पुनः चिसियो । १७ मार्चमा युरोपेली आयोगकी अध्यक्ष उर्सुलाभोन डर लेनले बेलायतमा खोप निर्यात गर्न प्रतिबन्ध लगाउने चेतावनी दिइन् । इयूबाट बेलायतमा खोप गइरहेको तर बेलायतबाट इयूले नपाएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । 

अदालतमा एस्ट्राजेनेकाविरुद्ध इयूको मुद्दा
युरोपियन आयोगले तीन महिनाको वाकयुद्धपछि गत अप्रिलमा एस्ट्राजेनेकाले इयूसँगको खोप आपूर्ति सम्झौताको सम्मान नगरेको भन्दै एस्ट्राजेनेकाविरुद्ध अदालतमा मुद्दा हाल्यो । युरोपियन आयोगको यो निर्णयलाई सबै इयू सदस्यले समर्थन गरे । दायर मुद्दामा जुनको अन्त्यसम्ममा १२ करोड खोप र सेप्टेम्बरको अन्त्यसम्ममा सम्पूर्ण ३० करोड डोज उपलब्ध गराउन आदेश दिन माग गरिएको थियो । ब्रसेल्सको अदालतले एस्ट्राजेनेकालाई जुनदेखि सेप्टेम्बरको अन्त्यसम्ममा इयूलाई पाँच करोड डोज खोप दिन अन्तरिम आदेश दियो । दिन नसके प्र्रतिखोप १० युरो जरिवाना तिर्न पनि आदेश दियो । अदालतले आफ्नो फैसलामा भनेको छ, ‘अन्य उत्पादन केन्द्रभन्दा दुई गुणा बढी क्षमता भएको अक्सफोर्डस्थित उत्पादन केन्द्रलाई बेलायतको एकल फाइदाका लागि छनोट गर्नु र इयूलाई उत्पादनबाट वञ्चित गर्नु स्पष्ट रूपमा एस्ट्राजेनेकाको पूर्वाग्रही निर्णय हो ।’

एस्ट्राजेनेकाको प्रभावकारितामा पनि शंका
जनवरी २०२१ मा युरोपियन मेडिसिन एजेन्सीले सबै उमेरसमूहका लागि अक्सफोर्ड–एस्ट्राजेनेका खोपको प्रयोगलाई अनुमति दियो । तर, इयूका अधिकांश देशले सुरुमा ६५ वर्षमाथिका लागि यो खोप लगाउन संशय व्यक्त गरे । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले एस्ट्राजेनेकाको खोप ६५ वर्षभन्दा माथिका लागि प्रभावकारी नरहेको दाबी गरे । जर्मनीको स्वास्थ्य निकायले पनि यो खोप १८–६४ वर्ष उमेरसमूहका लागि मात्र प्रयोग गर्न सिफारिस गर्‍यो । अस्ट्रिया, स्विडेन, नर्वे, डेनमार्क, नेदरल्यान्ड, स्पेन र पोल्यान्डले पनि ६५ वर्षभन्दा मुनि र इटाली र बेल्जियमले ५५ वर्षभन्दा कम उमेरका लागि मात्र खोपको प्रयोग सिफारिस गरे । युरोपियन मेडिसिन एजेन्सीले ६५ वर्षमाथिकाले पनि खोप प्रयोग गर्न सकिने बतायो । त्यसपछि मात्रै फ्रान्स र जर्मनीले ६५–७४ वर्ष उमेरका लागि यो खोप स्वीकृत गरे । फेरि मार्चमा खोप लगाएका व्यक्तिहरूमा रगत जम्ने समस्या देखा परेपछि जर्मनी, फ्रान्सलगायतका १३ देशले एस्ट्राजेनेका प्रयोगमा रोक लगाए । युरोपेली मेडिसिन एजेन्सीले भ्याक्सिन र क्लटबीचमा ‘सम्भावित लिंक’ भए पनि यो खोप सबै उमेरसमूहका लागि उपयुक्त हुने बताएपछि भने युरोपेली राष्ट्रहरूले खोपलाई निरन्तरता दिए । 

खोप मुद्दा बेलायतसँगको रिसइबी
बेलायती अधिकारीहरू इयूका केही राष्ट्रले एस्ट्राजेनेका बेलायतसँग जोडिएको भएर नै यसको प्रभावकारितामा अनावश्यक टीकाटिप्पणी गरेको आरोप लगाउँछन् । यसलाई भाइरसविज्ञहरूको भनाइले पनि केही पुष्टि गर्छ । रोयटर्ससँगको कुराकानीमा रिडिङ विश्वविद्यालयका भाइरोलोजीका प्राध्यापक इयान जोन्स यस मुद्दालाई भाइरससम्बन्धी केही ज्ञान नभएका राजनीतिज्ञहरूले उठाएको आरोप लगाउँछन् । जर्मनीले यो मुद्दा उठाएपछि अन्य राष्ट्रहरूले पनि लहैलहैमा खोपको प्रयोग रोकेको उनी तर्क गर्छन् । मार्च १८ को वासिङ्टन पोस्टमा जेम्स म्याक लेख्छन्– युरोपेली संघका राष्ट्रहरूले एकाएक एस्ट्राजेनेका खोपको प्रयोगलाई रोक्नुको एउटा मात्र कारण देखिन्छ । यी राष्ट्रले खोपको खरिदमा गरेको ढिलाइ र अन्य राष्ट्रहरूको तुलनामा अति ढिलो दरमा आफ्ना जनतालाई खोप प्रदान गरेको गल्तीको दोष अरूमाथि थोपर्न चाहन्छन् । 

ब्रेक्जिटपछिको तनाव
युरोपेली संघबाट बेलायत बाहिरिएसँगै व्यापारदेखि कूटनीतिक सम्बन्धमा यी दुईबीच मतभेद देखिन थालेको हो । खोपयुद्ध सुरु नहुँदै बेलायती सरकारले विद्यमान अभ्यासविपरीत इयूका राजदूतलाई केही समय अन्य राष्ट्रका राजदूतसरहको दर्जा दिन अस्वीकार गरेपछि दुई पक्षबीच दरार उत्पन्न भएको थियोे । बेलायतका विदेशसचिव डोमिनिक राबले इयूका राजदूतलाई अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधिका रूपमा व्यवहार गरिनुपर्ने तर्क अगाडि सारेका थिए । 

कोभिड–१९ विरुद्धको खोपलाई लिएर ब्रेक्जिटपछिको बेलायत र इयूबीचको सम्बन्ध भविष्यमा सुमधुर रहनेमा पुनः शंका उत्पन्न हुन थालेको छ । इयूको भन्दा बेलायतले दु्रत र सफल खोप अभियान चलाएकोमा त्यसलाई कमजोर पार्ने प्रयासमा इयू लागेको बेलायती अधिकारीहरूले उद्धृत गर्दै बिबिसीले लेखेको छ । इयूमा भने जोनसन प्रशासनले बेलायतको सफल खोप अभियानलाई इयू छाडेको सफलता र इयूको अक्षमताको रूपमा वर्णन गरेको आरोप लगाएका छन् । एकजना इयू प्रतिनिधिलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘इयू नछाडेको भए बेलायतको खोप अभियान यति सफल हुने थिएन भन्ने तर्क गलत हो । इयूको सदस्य रहेको भए पनि बेलायतले आफ्नो खोप अभियान स्वतन्त्र रूपमा अघि बढाउन सक्थ्यो ।’