मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ श्रावण ५ मंगलबार १३:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जसले जग्गाका लागि ज्युँदा बाबुआमाको मृत्युदर्ता गराए

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ श्रावण ५ मंगलबार १३:३६:००

आफ्नै सहोदर दाजुबाट जमिन हडप्नका लागि कञ्चनपुरका एक युवकले जिउँदै आमाबाबुको मृत्युदर्ता गराएका छन । बेदकोट नगरपालिका– ५ धरमपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हडप्नका लागि भारतमा बस्दै आएका आमाबाबुको मृत्युदर्ता गराएका हुन । सुरेन्द्रका आमाबाबु भीमदत्त नगरपालिका– १० तिलकेनी बस्दै आएका थिए । लामो समयदेखि सुरेन्द्रका बाबु झिक्ले लुहार र आमा चुकी लुहार भारतमा बस्दै आएका थिए ।

लुहारदम्पतीका कान्छा छोरा सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हत्याउन जिउँदै आमाबाबु मरेको देखाएर आफ्नो नाममा लालपुर्जा बनाएका छन् । 
भीमदत्त नगरपालिका– १० तिलकेनीबाट सुरेन्द्र लुहारले जमिन बेचेर बेदकोट नगरपालिका– ५ धमरपुरमा किनेका छन् । उनले धमरपुरकोे ६ कट्टा जमिन आमाबाबु मरेको देखाएर नक्कली प्रमाण खडा गरेर आफ्नो नाममा सारेका छन् । कोरोना महामारीको मौका छोपी सुरेन्द्रले गत वर्ष असोजमा भीमदत्त नगरपालिका– १० वडा कार्यालयमा आमाबाबु मरेको मृत्युदर्ता गराएका हुन् । 

सुरेन्द्रले वडादेखि मालपोत कार्यालयलाई झुक्याएर  आफ्नो नाममा जमिन ल्याएलगत्तै बैंक र  वित्तीय संस्थामा लालपुर्जा राखेर ऋणसमेत निकालेका छन् ।  सुरेन्द्रका दाजु भीमदत्त नगरपालिका– १० गड्डाचौकी बस्दै आएका छन् ।  अहिले सुरेन्द्रका बाबुआमा भारतबाट फर्किएपछि उनले मृत्युदर्ता गराएर जमिन आफ्नो नाममा गरको  तथ्य बाहिरिएको हो । 

भीमदत्त नगरपालिका– १० का वडासचिव गगन नाथले सुरेन्द्रले सरकारी अड्डामा झुटा विवरण पेस गरेर जिउँदै आमाबाबुको मृत्युदर्ता गराएको बताए । ‘मृत्युदर्ताका लागि निवेदक अर्थात् सूचकले निवेदनसहित मृतकको नागरिकता र आफ्नो नागरिकताको फोटोकपी ल्याएर दर्ता गराउन सकिने प्रावधान छ,’ सचिव नाथले भने, ‘सुरेन्द्रले कार्यालयका लागि आवश्यक सबै प्रमाण ल्याएका थिए, दर्ता गराएर गएका रहेछन् ।’ 

भीमदत्त नगरपालिका– १० नम्बर वडा कार्यालयले झुटा विवरण पेस गरेर जिउँदै मान्छेलाई मारेको देखाउने सुरेन्द्रमाथि कारबाही गर्न जिमुवा प्रहरीचौकीमा निवेदन दिएको वडासचिव नाथले बताए । ‘सुरेन्द्रले वडा कार्यालय छलेर ठगेर गरेको अपराधको सजायका लागि हामीले किर्ते कामविरुद्ध कारबाही गर्न जिमुवा प्रहरीलाई निवेदन दिएका छौँ,’ वडासचिव नाथले भने, ‘प्रहरीले यसमा के गरिरहेको छ, थाहा भएन, मैले कतै यस प्रकरणमा वडाका कर्मचारीको मिलेमतो भए कारबाही गर्ने चेतावनी दिएको छु ।’