मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३१ बिहीबार
  • Tuesday, 17 December, 2024
ड्यानियल इमरवार
२o७८ असार ३१ बिहीबार o८:३९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकामा जनताको शासन छैन

Read Time : > 3 मिनेट
ड्यानियल इमरवार
नयाँ पत्रिका
२o७८ असार ३१ बिहीबार o८:३९:oo

अमेरिकी संघीय सरकार अमेरिकामा होइन, विश्वमाथि शासन गर्न खोज्छ । विश्वभर हैकम चलाउने प्रक्रियामा अमेरिकाको आन्तरिक लोकतन्त्र ओझेलमा परेको छ । 

अमेरिकी लेखक एडवार्ड बेल्लामीको सन् १८८८ मा प्रकाशित आदर्शाेन्मुख उपन्यास ‘लुकिङ ब्याकवार्ड, २०००–१८८७’ मा सन् १८८७ मा सुतेको पात्र एक सय १३ वर्षपछि सन् २००० मा उठ्छ । ती पात्र प्रविधिले चमकधमकयुक्त सहरमा मात्रै ब्युँझिन्नन्, सुधारिएको राजनीतिक व्यवस्था भएको अमेरिकामा ब्युँझिन्छन् । पात्रका माध्यमबाट बेल्लामीले तत्कालीन अमानवीय पुँजीवादबाट लोककल्याणकारी राज्यको भविष्यवाणी गरेका थिए । जसमा उनले निःशुल्क शिक्षा, न्यायपूर्ण पारिश्रमिक र सामाजिक सुरक्षाको परिकल्पना गरेका थिए । 

बेल्लामीको उपन्यासले अमेरिकामा थुप्रै प्रशंसक जन्मायो, जो ‘आमूल परिवर्तन’ हुनेमा विश्वस्त थिए । नहुन् पनि किन, अमेरिका त्यस बखत निकै गतिशील मुलुक थियो । अर्थात्, अमेरिका १९औँ शताब्दीको प्रारम्भमा चार गुणाले बढ्यो । शताब्दीको पहिलो ५० वर्षमा अमेरिकी समाज कुलीनतन्त्रबाट गोरा पुरुष सबैले मतदान गर्न पाउने व्यवस्थामा परिणत भयो । बाँकी आधा शताब्दीमा दास व्यवस्थाको अन्त्य, विस्फोटक औद्योगिक वृद्धि जस्ता परिघटनाहरू बेहोर्‍यो ।

बेल्लामीले आफ्नो समयलाई ‘ठूला परिवर्तनहरूको संकेत’का रूपमा देखेका थिए र उनी सही थिए । उनको भविष्यवाणीले सार्थकता मात्रै पाएन, राजनीतिक विचारहरूले पनि निकै महŒव पायो । १९३० को दशकको वैश्विक महामन्दीमा आम्दानीको सुरक्षा, रोजगारीको प्रत्याभूतिका निम्ति राष्ट्रपति एफडी रुजबेल्टले ल्याएको द न्यु डिललाई उदाहरणमा लिन सकिन्छ । बेल्लामीबाट प्रभावित भएर रुजबेल्टले १९३३ मा ‘लुकिङ फरवार्ड’ पुस्तक नै प्रकाशित गरे । 

हाम्रो यो समयलाई पनि ‘ठूला परिवर्तनहरूको संकेत’का रूपमा लिन सकिन्छ । बेल्लामीको उपन्यासको जस्तै पात्र अहिले यहाँ पाँच वर्ष पहिले सुतेर ब्युँझिए उसलाई चिकित्सकीय परामर्शको आवश्यकता पर्नेछ । यी पाँच वर्षमा ट्रम्प शासनकाल र कोभिड–१९ महामारी मात्रै ठूला परिघटना होइनन्, इन्टरनेटले उथलपुथल दैनिकी, चीनको उदय, विश्वको तापमान वृद्धि आश्चर्यजनक परिघटना हुन् । 

वासिङ्टन आदर्शमहत्वाकांक्षा बोक्नेहरूप्रति सहिष्णु देखिँदैन । अहिलेका दुवै पार्टीको प्रमुख ध्याउन्न मतदानका लागि सहजता बढाउने देखिन्छ । यो उद्देश्य केही हदसम्म महत्वपूर्ण देखिए पनि अन्ततः कर्मकाण्डभन्दा बढी होइन । यी कर्मकाण्डी मुद्दाले ठाउँ पाइरहँदा ग्लोबल वार्मिङ जस्ता महŒवपूर्ण विषय भने ओझेलमा परेका छन् । कांग्रेसमा रिपब्लिकनहरू त विश्वतापमानलाई मुद्दा नै मान्दैनन् ।

यी राजनीतिक प्रतिकूलता खतराका सूचक हुन् । अहिले नागरिक संस्कृतिमा पनि संकट मडारिएको छ । जब नीतिनिर्माणका काममा उत्साह मर्छ, त्यसले हिंसात्मक प्रदर्शन र विरोधहरू जन्माउँछ, जुन अहिले बढ्दै गइरहेको छ । अहिले हामी उत्कर्षमा पुगेका छौँ । राजनीति यति धुमिल किन भयो ? यो प्रश्नको उत्तर खोज्न गाह्रो छैन । उग्र दलीय पक्षधरताले गतिरोध निम्त्याउँछ । चुनावी प्रचारका कमजोर वित्तीय नियमहरूले धनाढ्यहरू आफूअनुकूलका विधेयकहरू पारित गर्न सफल भइरहेका छन् । सामाजिक सञ्जालले जनप्रतिनिधिहरूलाई कामभन्दा कुरा बढी गर्ने ठाउँ दिइरहेका छन् ।

पहिले बाधा–अड्चनलाई युद्धले निकास दिन्थ्यो । सैन्य द्वन्द्व निम्त्याएर राजनीतिक गतिरोधबाट पार पाउने क्रूर इतिहास अमेरिकाले भोगेको छ । गृहयुद्धले भूमिसुधार, शैक्षिक सुधार गरेको थियो, दास व्यवस्थाको अन्त्यका लागि बाटो खोलेको थियो । तर, अमेरिकाले लडेका कुनै पनि बाह्य युद्धले सामूहिक कार्यका लागि बाटो खोलेका छैनन् । हवाई र ड्रोन हमलाका कारण भलै पछिल्ला युद्ध र सैन्य कारबाहीहरूमा अमेरिकीहरूले कम मानवीय क्षति बेहोर्नुपरेको होस् । 

हवाई र ड्रोन हमलाजस्ता रणनीतिमा बढोत्तरीले हाम्रा सार्वजनिक मामिलाहरूमा ठूलो परिवर्तन भएको देखिन्छ, खुला छलफल संकुचित हुँदै गइरहेको छ । पर्दापछाडिको व्यवस्थापनले प्रश्रय पाइरहेको छ । सन् १९४५ पछि अमेरिकाले विश्वमा सैन्य सर्वाेच्चता कायम राख्न सफल भएयता संघीय सरकार बढी केन्द्रीकृत, अपारदर्शी र अलोकतान्त्रिक हुँदै गएको छ । निर्वाचित प्रतिनिधिहरूको नेतृत्व नरहने नेसनल सेक्युरिटी काउन्सिलले अन्तर्राष्ट्रिय मामिला हेरिरहेको छ । परराष्ट्र मामिलाका पेचिला मुद्दाहरू नेपथ्यमा रहेर सिआइएले हेरिरहेको छ ।

अमेरिकी संघीय सरकार अमेरिकामा होइन, विश्वमाथि शासन गर्न खोज्छ । विश्वभर हैकम चलाउने प्रक्रियामा अमेरिकाको आन्तरिक लोकतन्त्र ओझेलमा परेको छ । बाहिर अनुत्तरदायी भएर हैकम चलाउने सरकारले घरलाई बाँकी राख्ने हुँदैन । बेल्लामीको समयका मतदाताहरूले कहिले र कहाँ युद्ध लड्ने भन्ने बारेमा बहस गर्थे । अहिले यो विषय विज्ञका हातमा छ । उदाहरणका लागि, २०१७ मा नाइजरमा चारजना अमेरिकी सेना मारिँदा अधिकांश सिनेटरलाई त्यहाँ अमेरिकी सैन्य दल छ भन्ने समेत थाहा थिएन । 

अपारदर्शी सरकारले भित्रियाहरूलाई बढी प्रश्रय दिन्छ । नतिजा अमेरिकाको संघीय सरकार लामो समयदेखि सल्लाहकार, विज्ञ, कर्मचारी र सीमित स्वार्थसमूहको कब्जामा छ । जनप्रतिनिधिहरू पनि लामो समय पदमा टाँसिएर बस्न खोज्ने भएको देख्न सकिन्छ । यसको उदाहरण अहिलेका राष्ट्रपति जो बाइडेन पनि हुन् । जसकारण युवाहरू राज्य सञ्चालनबाट वञ्चित छन् । 

लुकिङ फरवार्डमा रुजबेल्टले आफ्नो समयको उग्रताबारे चित्रण गरे पनि उग्र विचारलाई दमन गर्नुपर्छ भनेर कहिल्यै सुझाएनन् । बरु उग्र विचारहरूलाई चुनौतीका रूपमा लिएर पुनर्निर्माणमा लाग्नुपर्ने सुझाए । अहिलेको समयमा रुजबेल्टका नीति अमेरिकाको सैन्य सर्वाेच्चताले निम्त्याएको विनाशलाई सच्याउन सहयोगी देखिन्छन् । सायद अब सैन्य सर्वाेच्चतालाई गम्भीर कूटनीतिमा बदल्नुपर्छ, विज्ञको शासनको ठाउँमा जनताको शासन लागू गर्नुपर्छ । 


(इमरवार इतिहासका प्राध्यापक तथा ‘हाउ टु हाइड एन इम्पाएर्स हिस्ट्री अफ द ग्रेटर युनाइटेड स्टेट्स’का लेखक हुन्) 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य