मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाढीले क्षतिग्रस्त मेलम्ची बजार अबलोकन गर्दै प्रधानमन्त्री । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय
२०७८ असार २७ आइतबार १०:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढी आएको २६औँ दिनमा प्रधानमन्त्री ओली  मेलम्चीमा, तर पीडित नभेटी फर्किए

Read Time : > 3 मिनेट
२०७८ असार २७ आइतबार १०:१६:००

मेलम्चीका बाढी पीडित तीन सय ६६ घर धुरीलाई १५ सय बन्डल जस्तापाता र प्रतिघर ५० हजार तत्काल दिने घोषणा

मेलम्ची नदीमा भीषण बाढी आएको २६औँ दिनमा बाढीग्रस्त क्षेत्र पुगेका प्रधानमन्त्री केपी ओली पीडितहरूसँग भेटघाट नगरी फर्केका छन् । मेलम्ची खानेपानी आयोजना, मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न गएका प्रधानमन्त्रीलाई गुनासो सुनाउन दिनभरि पर्खेर बसेका मेलम्ची बजारका पीडित निराश भएर फर्केका थिए । बाढीबाट मेलम्ची र आसपासका करिब एक सय ८० घरपरिवार विस्थापित भएर सामुदायिक भवन र डेरामा बसोवास गरिरहेका छन् । 

नेपाली सेनाको हेलिकोप्टरबाट सुुरुमा हेलम्बुको गणेशबगर पुगेका प्रधानमन्त्रीले बाढीप्रभावितसँग संक्षिप्त भेट गरे । मेलम्ची बजारमा भने सेनाको ब्यारेकबाट करिब एक किलोमिटर पूर्व गाडीमा पुगेका उनले क्षतिग्रस्त बजार र बगर हेरेर सेनाको ब्यारेक हुँदै काठमाडौं फर्किए । 

बाढीबाट मेलम्ची बजारका मात्रै ७० घरपरिवारका पाँच सयजना विस्थापित भएका थिए । ‘प्रधानमन्त्री आउनुहुन्छ, हामीलाई भेटेर गुनासो सुन्नुहुन्छ भन्ने आशामा दिनभरि मेलम्ची बगरमा बस्यौँ, तर उहाँ प्रभावित क्षेत्र आउनुभएन,’ बाढीले घर र होटेल पुरिएपछि डेरामा बसेका इन्द्रावती लामा होटेलका सञ्चालक तासी लामाले नयाँ पत्रिकासँग भने, ‘हाम्रो सबै तहसनहस भएको २६ दिनमा उहाँलाई आउने फुर्सद भयो, त्यसमाथि पनि पीडितहरूलाई नभेटी उहाँ जानुभयो । हामी एकदमै निरास छौँ ।’ 

प्रधानमन्त्री गणेशबगर पुग्दा स्थानीय सरकारका प्रतिनिधि कोही थिएनन् । हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पालाई प्रधानमन्त्री ओली आउने औपचारिक खबर थिएन । ‘सिडिओसापले प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्नुभयो । तर, कतिवेला आउने थाहा नपाएकोले म गइनँ,’ शेर्पाले भने । प्रधानमन्त्रीको पार्टी एमालेले विपत्तिमा पनि राजनीति गरेकाले समस्या उत्पन्न भएको उनले गुनासो गरे । 

प्रधानमन्त्री ओली शनिबार दिउँसो पौने १ बजेतिर मेलम्चीस्थित सेनाको ब्यारेक आइपुगेका थिए । सेनाको व्यारेकमै मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठबाट ब्रिफिङ लिएपछि गाडीको लावालस्करसहित प्रधानमन्त्री ओली एक किलोमिटर पूर्वको अग्लो भागबाट मेलम्ची बजार र बगर हेरेर ब्यारेक फर्किए । मेलम्चीका नगरप्रमुख डम्बरबहादुर अर्याल, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ र पूर्वमन्त्री शेरबहादुर तामाङपछि उनले व्यारेकमै सम्बोधन गरेर काठमाडौं फर्किए । 

मेलम्ची खानेपानी आयोजना मेलम्ची बजारबाट २४ किलोमिटर दूरीमा छ । प्रधानमन्त्री ओली, खानेपानीमन्त्री वसन्तकुमार नेम्वाङ, गृहसचिव महेश्वर न्यौपानेसहित खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सिँचाइ र ऊर्जा मन्त्रालयका सचिवहरू मेलम्चीको बाँध पुगेनन् । आयोजना क्षेत्रका नाममा उनले हेलम्बुको गणेशबगर र मेलम्चीको सडक निरीक्षण मात्रै गरे ।

प्रधानमन्त्री ओलीले पहिलेकै अवस्थामा मेलम्ची बजारको पुनर्निर्माण नगर्न सम्बद्ध पदाधिकारीलाई सुझाब दिए । उनले बाढीपीडित ३६६ घरधुरीका लागि १५ सय बन्डल जस्तापाता दिइने पनि घोषणा गरे । उनले प्रत्येक परिवारलाई घर बनाउन ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिइने पनि घोषणा गरेका छन् । मेलम्चीमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था र व्यक्तिबाट शुक्रबारसम्म गरेको सहयोग चार करोड १५ लाख रुपैयाँ जम्मा भएको छ । 

मेलम्ची खानेपानी विकास समिति र आयोजनाअन्तर्गत ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमबाट बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री ओलीले दुई करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । प्रधानमन्त्री ओलीले पाँचपोखरी थाङपाल गाउँपालिकालाई आयोजनाको तर्फबाट एक करोड ५० लाख र मेलम्ची नगरपालिकालाई आयोजनाको तर्फबाट ५० लाख र ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमबाट ८६ लाखको चेक हस्तान्तरण गरे । 

वैशाखसम्म मेलम्चीको पानी काठमाडौँ आउँछ

प्रधानमन्त्री ओलीले आगामी वैशाखसम्म मेलम्चीको पानी काठमाडौं ल्याइने बताए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गरी जतिसक्दो चाँडो पानी पथान्तरणमा लाग्न समिति पदाधिकारीहरूलाई निर्देशन दिए । ‘हामीले मुस्किलले मेलम्ची खानेपानी काठमाडौंमा लग्यौं । बाढी आएका बेला मुहान बन्द भएकाले ठूलो क्षति हुन पाएन,’ प्रधानमन्त्री ओलीले भने, ‘अब वैशाखभन्दा उता नजाने गरी मेलम्चीको पानी काठमाडौं पुर्‍याइने छ । यसका लागि आवश्यक सबै कार्य गर्ने व्यवस्था मिलाइनेछ ।’ 

मेलम्ची आयोजनाका अधिकारीहरूका अनुसार आयोजनाका विभिन्न संयन्त्रहरूमा असर परेको छ । आयोजनाको हेडवक्र्स स्थलबाट करिब आठ किमि सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त भएको छ । आयोजनाको पहिलो प्राथमिकता सडकखण्डको पुनर्निर्माण रहेको छ । ‘यो सडकखण्डमा रहेका पाँचवटा पुलहरूको पुनर्निर्माणका लागि समितिले यसघि नै विभिन्नस्तरमा पहल अघि बढाइसकेको छ,’ मेलम्ची खानेपानी विकास समितिका सञ्चार विज्ञ निमेष रेग्मीले भने, ‘मेलम्ची आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री, लार्के पहुँच मार्गकोे करिब ६ किमि भागमा बाढीपहिरोले व्यापक क्षति पुर्‍याएकोमा त्यसलाई सुचारु गर्न प्रयास भइरहेको छ ।’

 बाढीबाट मेलम्चीलाई  के के क्षति भयो ? 
मेलम्ची क्षेत्रको तालामाराङ बजारदेखि ढाँढखोला बजारसम्म करिब १५ किलोमिटर तटीय क्षेत्र प्रभावित भएको मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले जानकारी दिए । उनका अनुसार मेलम्ची नगरपालिका ६, ७, १० र ११ नम्बर वडाका एक सय ८० घर पूर्ण क्षति भएका छन् । हाल उच्च जोखिममा ६५ घर छन् भने एक सय २३ घर जोखिममा छन् । मेलम्चीबाट ३५ सय रोपनी खेतीयोग्य जमिन पूर्ण रूपमा पुरिएको छ । नगरपालिकाका अनुसार ३१ वटा सार्वजनिक संरचनाहरू पूर्ण क्षति भएका छन् भने १० वटा संरचनामा आंशिक क्षति पुगेको छ । यसैगरी, दुईवटा पक्की पुल, दुईवटा झोलुंगे पुल, क्षतिग्रस्त भएका छन् । 

नगरपालिकाकी उपप्रमुख भगवती नेपालले भनिन्, ‘यदि गम्भीरतापूर्वक काम गर्ने हो भने तीन–चार वर्षमा मेलम्ची बजार पूर्ववत् अवस्थामा आउनेछ । सरकारले बेवास्ता ग¥यो भने पहिलेको अवस्थामा फर्किन धेरै नै गाह्रो छ ।’ उनका अनुसार मेलम्ची बजारक्षेत्र अझै त्रसामा छ । ‘वर्षा अझै बाँकी छ, कति पानी पर्ने हो, थाहा छैन,’ उपप्रमुख नेपालले भनिन्, ‘माथि के भएर विनासकारी बाढी आएको हो, बुझ्न सकिएको छैन । इसिमोडका विज्ञको नेतृत्वमा विज्ञहरूको एउटा कार्यदल बनाएका छौँ । कार्यदलले पनि यो वर्षाअघि स्थलगत अध्ययन गर्ने अवस्था छैन ।’