मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २२ मंगलबार ०९:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

राउटे युवाको कथा उपन्यासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २२ मंगलबार ०९:१९:००

लेखक एवं पत्रकार अनन्त वाग्लेद्वारा लिखित उपन्यास ‘कदम’ सार्वजनिक भएको छ । वाग्लेले लोपोन्मुख फिरन्ता समुदाय राउटेलाई यस पुस्तकको विषय बनाएका छन् । राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायत जिल्लाका जंगलमा ठाउँ सर्दै–सर्दै बस्ने गर्छन् । र यो समुदायलाई एसियाकै अन्तिम फिरन्ता भनेर पनि चिनिन्छ ।

स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख–दु:ख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर स्रष्टा वाग्लेले आख्यान तयार पारेका छन् । बाल तथा किशोर साहित्यमा ५० भन्दा बढी पुस्तक प्रकाशन र सयभन्दा बढी पुस्तक सम्पादन गरिसकेका वाग्लेको यो पहिलो उपन्यास हो ।

उपन्यासको प्रकाशन काठमाण्डु पब्लिकेसनले गरेको हो । विशेषतः बालसाहित्य र किशोर साहित्यका पुस्तक प्रकाशित गर्दै आएको काठमाण्डु पब्लिकेसनको यो पहिलो मूल प्रवाहको पुस्तक पनि हो । ‘जंगलका राजा’ भनेर चिनाउने राउटे समुदायका बारेमा थुप्रै गैरआख्यान पुस्तक प्रकाशित भए पनि आख्यानका रूपमा भने सम्भवतः यो पहिलो भएको पब्लिकेसनको दाबी छ । 

समाजशास्त्रका अध्येता तथा शिक्षा क्षेत्रमा कार्यरत वाग्लेले ‘कदम’मा मानव जीवनका अनेक आयामलाई फरक शैलीमा केलाएका छन् । पुस्तकले साहित्य र शिक्षाका अलावा आममानिसलाई आशा र सफलतातिर उन्मुख गराउन ‘मोटिभेसन’को समेत काम गर्ने उनको अपेक्षा छ । ३ सय १६ पृष्ठको यस पुस्तकको मूल्य ४ सय रुपैयाँ छ । यो पुस्तक पुस्तक पसलहरूका साथै किताबयात्रा डटकम र थुप्रै डटकममार्फत पनि खरिद गर्न सकिने पब्लिकेसनको भनाइ छ ।