काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा डोम समुदायकी १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र लेखक सापकोटाले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् । जातीय विभेदसँग जुधेकी ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा राखेर उपन्यास तयार गरिएको छ ।
लोकार्पण कार्यक्रममा अञ्जुकुमारी मरिकले आफ्नो संघर्षको कथा सुनाइन् । बच्चा जन्मँदा वा विवाहजस्ता शुभ कार्यमा आफ्नो समुदायले दिएको आशीर्वाद र छोएको पानीलाई चोखो मानिने तर आफुहरुले छोएको पानी अशुद्ध मानेर विभेद गर्दै आएको उनको गुनासो छ ।
कार्यक्रममा डा. रामजी रामले ‘मगनी मरिक’मा लेखकले मधेशमा पानी खान नपाउने, नेता र क्यामराहरू घेराभित्र मात्र सीमित हुने यथार्थबिच लेखकले भुइँमान्छेका घरमै पुगेर उनीहरूको आवाज लेख्ने हिम्मत गरे उल्लेख गरे ।
लेखक सापकोटाले दशक लामो पत्रकारिताका क्रममा रिपोर्टिङ गर्दा छुटेका अनुभूतिहरू नै 'मगनी मरिक’ लेखनको आधार भएको सुनाए। ‘मधेशमा जातप्रथा, गरिबी, कमजोर स्वास्थ्य र शिक्षाको अवस्था भयावह छ । पत्रकारिता गर्दा धेरै कुराहरू छुट्थे, जसलाई म डायरीमा लेख्ने गर्थेँ,’ उनले भने,‘त्यहाँका पात्रहरूको घरमै पुगेर उनीहरूको जीवनशैली र मनोदशा नजिकबाट देखेपछि मात्रै यो पुस्तक तयार भयो । मधेशबाट काठमाडौं डेढ–दुई सय किलोमिटर मात्र टाढा छ तर त्यहाँको पीडा र उत्पीडनको आवाज काठमाडौंसम्म आइपुग्न अझै धेरै समय लाग्छ ।’