- सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली
देउडा गायिका लक्ष्मी बजुरेली विपन्न परिवारमा जन्मिइन् । उनको जन्म बाजुरा जिल्ला बडिमालिका नगरपालिका–९ मार्तडीमा भएको हो । सुमधुर स्वरकी धनी लक्ष्मी पछिल्लो समय आफ्नो आवाजका कारण निकै चर्चामा छिन् । गरिबी, अशिक्षा र आर्थिक अभावले बाल्यकाल गाउँमै बिताइन् । गाउँकै पाखा–पर्वतमा दाउरा, स्याउला खेतबारी गरिन् । उनको आवाज गाउँमै गुन्जिरह्यो । बजुरेलीको त्यो मिठो स्वरलाई बाहिर ल्याउनका लागि उनीसँग न पहुँच थियो न आर्थिक स्रोत । मात्र उनीसँग कोइलीको जस्तो मिठो स्वर थियो ।
लक्ष्मी घरकी जेठी छोरी हुन् । घरको सबै जिम्मेवारी उनको काँधमा थियो । स्वर राम्रो भए पनि गरिबीको भुमरीमा परेर उनको आवाज सबैले सुन्न पाएको थिएन । एल्बम निकाल्न पाइनन् । गाउँकै श्री मालिका माध्यमिक विद्यालयमा अध्ययन गर्दैगर्दा विद्यालयका हरेक कार्यक्रममा गीत गाउने गर्थिन् । त्यहाँबाट प्राप्त पुरस्कारले घरखर्च र किताब–कापीजस्ता शैक्षिक सामग्री जोहो गर्थिन् । तर, गरिबीले गर्दा उनले शिक्षा पूरा गर्न सकिनन् । गाउँको चलनअनुसार आमाबाबुले विवाहबन्धनमा बाँधिदिए । बाल्यकालमै विवाहबन्धनमा बाँधिइन् र तीन छोरीहरू हुर्काउनुपर्ने दायित्व पनि थपियो । त्यसका बाबजुद उसले गीत गाउन भने छाडिनन् ।
प्रविधिले दियो साथ
सूचना प्रविधिको विकाससँगै गाउँगाउँका प्रतिभाहरू बाहिर देखिन थाले । गाउँको खेतबारी, मेलापातमा गीत गाइरहेकी लक्ष्मीको स्वर सामाजिक सञ्जालमार्फत बाहिर आयो । त्यसपछि उनको स्वरको तारिफ भयो । उनी बिस्तारै मानिसहरूको मनमनमा बस्न थालिन् । उनी भन्छन्, ‘सामाजिक सञ्जालमा मेरो स्वर सुनेपछि मानिसहरूले मनपराइदिनुभयो । त्यसपछि म काठमाडौं आएँ । अहिले सुदूर कर्णालीको देउडा गीत गाइरहेकी छु ।’
पछिल्लो अढाई वर्षयता लक्ष्मीले दर्जनौँ गीत बजारमा ल्याइसकेकी छिन् । जसमध्ये पुरानो माया हाम्रो, अपि सैपाल, माया रैजाउ जुनीजुनी, सहिदको सम्झना, ए रूपका राजा, ठाडिभाका, राजाले कस्तुरी मार्यो, मैनागया ढल्कीलगायतका दर्जनौँ देउडा गीत चर्चित छन् । पछिल्लो समय युट्युबमा उनले गाएका धेरै गीत भाइरल हुने गरेका छन् ।
उनले गाउने केही गीत यस्ता छन् :
‘राजाले कस्तुरी मार्यो ओक्थो चाहिएलाकी
हौसिया सुनौलीकोल बस्न पाइएलाकी’
आधा सर्ग लिस्या बादल आधा सर्ग जून छ
बस बाज सुनौली कोला जसो हुन्छ हुन्छ ।
सुदुर कर्णालीको देउडा गित गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी । देउडा गीतसंगीतहरू लाखौँले मन पराउनुलाई खुसीको रूपमा लिन्छिन् उनी । बाजुरा सांस्कृतिक साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खड्का भन्छन्, ‘देउडा गीतको भ्युज १४–१५ लाख कटेपछि सुपर हिट मान्नुपर्छ । हाम्रा लागि यो करोड पुगे बराबर हो ।’
पहिलो गीत ‘पुरानो माया जाल हाम्रो’ रेकर्ड गराएलगत्तै टिकटक बनाउनेको संख्या उल्लेख्य बढेको थियो । हाल लक्ष्मी काठमाडौं बसेर सुदूर कर्णालीका गीतहरू निरन्तर गाइरहेकी छिन् । उनी भन्छिन्, ‘सुदूर कर्णालीको देउडाको आत्मा मर्न दिन्नँ !’
कलाकारहरूले बजारको मागअनुसार आफूलाई बदल्दै लगेको प्रशस्तै देखिन्छ । भाइरल हुनका लागि अनेकौँ तरिका अपनाउनेहरू पनि छन् । तर, लक्ष्मी जिम्मेवारपूर्वक गीतहरू गाइरहेकी छिन् । देउडा केवल गीत र नाच मात्र नभई यो सुदूरपश्चिम र कर्णालीको जीवनशैली, इतिहास, दुःख–सुख, प्रेम, पीडा र सामाजिक जीवन पनि हो । पुस्तौँदेखि चौतारा, मेला पर्वजस्ता विभिन्न सांस्कृतिक अवसरमा गुन्जिँदै आएको देउडाले सुदूर र कर्णालीको पुस्तौँदेखि पहिचान बोकिरहेको छ । देउडाको मौलिकतालाई जोगाउन आफूले सक्दो कोसिस गर्ने लक्ष्मी बताउँछिन् । भन्छिन्, ‘देउडाका नाममा अनेक प्रकारका गीत आएका छन् । हिट पनि भएका छन् । मलाई पनि कहिलेकाहीँ त्यस्ता गीत गाउन अफर आउँछ । तर, सुदूर कर्णालीको देउडाको आत्मा मर्ने गीतमा स्वर भर्न चाहन्नँ ।’
देउडा नेपालको सुन्दर गीत हो । प्रविधिको विकाससँगै देउडा गाउनेहरू अझ धेरै देखिन थालेका छन् । केही नयाँपन पनि देखिन थालेको छ । तर, मौलिक देउडा संगीतलाई सधैँ आत्मसात् गरिरहेकी लक्ष्मीको भनाइ छ । यही आत्मसात्ले गर्दा आज गाउँमा हराइरहेकी एक प्रतिभा सहरमा आफ्नो प्रतिभा देखाइरहेकी छिन् ।
देउडा गीत लेखक तथा गायक प्रकाश थापाको शब्द लय र अधिकांश गीतमा लक्ष्मी बजुरेलीको स्वर सुन्न पाइन्छ । गीत तथा संगीतकार थापाले सयौँ गीत लेखेका छन् । तीमध्ये लक्ष्मीले गाएका अधिकांश गीत चर्चामा आउँछन् । प्रकाश लक्ष्मीलाई गाउँको गजबको प्रतिभाको संज्ञा दिन्छन् ।
सुदूरपश्चिमका अर्का चर्चित गायक राजेन्द्र बजुरेलीले लक्ष्मीले देउडाको मौलिक संगीतमा दिएको योगदानको प्रशंसा गर्छन् । उनको सुमधुर स्वरको उनी पनि प्रशंसक हुन् । नयाँ पुस्तालाई पुरानै मौलिक गीत सुनाउने अभियानमा आफू र लक्ष्मीसँगै रहेको बताउँछन् । भन्छन्, ‘हामी सुदर र कर्णालीमा देउडाको मौलिकता जोगाएर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छौँ ।’
लक्ष्मीले गाउने अर्को गीत यस्तो छ:
दिन गया बारपन गया मैना गया ढल्की
चादिका कम्पनी माला कैंका टाटुटल्की ।।
बर्खापानि वर्षनाले उर्लेकै छ गंगा
क्या सुनाउ साइबाजकन मनआछिन चंगा ।।