मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७८ असार १९ शनिबार १०:५९:००
Read Time : > 1 मिनेट
खेलकुद

ब्राजिल र पेरु कोपा अमेरिकाको सेमिफाइनलमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ असार १९ शनिबार १०:५९:००

साबिक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको सुरुवातमै १० जनामा सीमित भएको ब्राजिल चिलीलाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

ब्राजिलले अब फाइनल प्रवेशका लागि पेरुसँग खेल्ने छ । पेरु शुक्रबार नै भएको अर्काे खेलमा पाराग्वेलाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरिसकेको छ । यो खेल सोमबार हुनेछ ।

पछिल्लो दुई संस्करणका विजेता टोलीबीचको यो खेल प्रतिस्पर्धात्मक रह्यो । यद्यपि, चिलीले खेलको झन्डै ४५ मिनेट एकजना बढीमा खेलेको फाइदा उठाउन सकेन । पछिल्लो ११ खेलमा अपराजित ब्राजिल समूह बीको विजेता टोली हो । चिली भने समूह एको चौथो स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

खेलको पहिलो हाफ गोलरहित टुंगिएको थियो । यद्यपि, खेलको दोस्रो हाफमा सब्स्टिच्युड खेलाडी लुकास पाक्वेटाले नेमारसँग वान टु वान पास खेल्दै टोलीका लागि गोल गरे । त्यही गोल ब्राजिललाई प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न पर्याप्त बन्यो । 

त्यसको दुई मिनेटभन्दा कम समयमै ब्राजिल १० जनामा समेटिन पुग्यो । चिलीका युजेनियो मेनालाई गम्भीर फल प्रहार गरेपछि गाब्रियल जिससले रातो कार्ड पाएपछि मैदान छाडे । त्यसका बाबजुद ब्राजिलले आफ्नो अग्रता कायम राख्दै प्रतियोगिताको अघिल्लो चरणको यात्रा निश्चित गरेको हो । 

त्यसअघि भएको क्वार्टरफाइनल चरणको रोमाञ्चक खेलमा टाइब्रेकरमा जित हात पार्दै पेरुले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पेरु पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको कोपा अमेरिका २०२१ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । त्यसअघिको खेल ३–३ गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत खेलको निर्णय लिइएको थियो ।

निर्धारित समयको खेलमा पेरुका लागि जियनलुका लापाडुलाले दुई गोल गरे भने बाँकी एक गोल रोबर्ट रोजासबाट आत्मघाती उपहार प्राप्त भएको थियो । पारग्वेका लागि गुस्ताभो गोमेज, जुनियर अलोन्सो र गाब्रिइल एभालोसले एक–एक गोल गरेका थिए ।