युरोकप २०२० को पहिलो सेमिफाइनल खेलमा इटाली र स्पेन भिड्ने भएका छन् । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा विश्व बरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ गोलले पराजित गर्दै इटालीले सेमिफाइनलमा स्पेनसँगको भेट निश्चित गरेको हो । यो खेल मंगलबार वेम्बली रंगशालामा हुनेछ ।
स्पेन पनि शुक्रबार नै भएको क्वार्टरफाइनल चरणको पहिलो खेलमा स्विट्जरल्यान्डस्लाई टाइ ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जर्मनीको म्युनिखमा भएको इटाली र बेल्जियमबीचको यो खेल प्रतिस्पर्धात्मक रह्यो ।
बेल्जियमलाई पराजित गर्दा इटाली उपाधिको एक पाइलानजिक पुगेको छ । यो जितमा इटालीले अपराजित टोलीको आफ्नै नयाँ कीर्तिमान पनि भेट्टाएको छ । इटाली आफ्नो पछिल्लो १३ खेलमा लगातार विजयी छ । यस्तै, पछिल्लो ३२ खेलमा अपराजित छ । इटाली झन्डै पछिल्लो तीन वर्षदेखि पराजित भएको छैन । यो इटाली राष्ट्रिय टोलीको नयाँ कीर्तिमान हो ।
इटालीलाई निकोलो बारेल्लाले खेलको ३१औँ मिनेटमा अग्रता दिलाएका थिए । उनले बेल्जियमको तीन रक्षकको बीचबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए । त्यसको १३ मिनेटपछि लोरेन्जो इन्सिग्नेले अर्काे उत्कृष्ट गोल गर्दै टोलीलाई अघि बढाए ।
बेल्जियमले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी अवसर पायो । इटालीका जियोभान्नी डी लोरेन्जोले जेरेमी डोकुलाई आफ्नो पेनाल्टी क्षेत्रभित्र फल प्रहार गरेपछि बेल्जियले पेनाल्टी अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै रोमेलु लुकाकुले बेल्जियमका लागि एक गोल फर्काएका थिए । तर, त्यसपछिको खेलमा दुवै टोलीबाट थप गोल नभएपछि इटाली २–१ को जितसँगै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
घरबाहिरको खेलमा इटालीको लय
इटालीले जारी प्रतियोगिताको समूहगत चरणको तीनमध्ये तीनै खेलमा जित हात पार्याे । ती तीनै खेल इटालीले आफ्नो घरमा खेलेको थियो । प्रिक्वार्टरफाइनल चरणको खेलमा अस्ट्रियासँग वेम्बलीमा प्रतिस्पर्धा गर्दा इटालीले जितका लागि संघर्ष गरेको थियो । उक्त खेलमा इटालीलाई जितका लागि अतिरिक्त ३० मिनेट खेल्नुपरेको थियो ।
जर्मनीमा हात पारेको बेल्जियमविरुद्धको यो जित इटालीका लागि पछिल्लो झन्डै तीन वर्षमा हात पारेको मध्ये उत्कृष्ट र महत्त्वपूर्ण जित रह्यो । यही खेलबाट इटालीले आफ्नो घरबाहिरको खेलमा पनि लय भेट्टाएको देखिएको छ ।
खेल सुरुवातबाटै प्रतिस्पर्धात्मक रह्यो । लियोनार्डाे बोनुस्सीले खेलको सुरुवातमै गोल गरेका थिए । यद्यपि, उनको गोल भिडियो एसिस्टेन रेफ्री (भार) ले अफसाइड दिएको थियो । त्यसपछि गोलरक्षक जियनलुइजी डोन्नारुम्माले बेल्जियमको केही उत्कृष्ट प्रहारलाई बचाए ।
बेल्जियमको स्वर्णिम पुस्ताको अवसर समाप्त ?
बेल्जियको टोलीमा अहिले जति पनि खेलाडी छन्, व्यक्तिगत रूपमा विश्वस्तरीय छन् । व्यक्तिगत रूपमा क्षमतावान् यी खेलाडीले भरिएको बेल्जियमको टोलीलाई सशक्त टोली मानिएको छ । यही खेलाडीको प्रदर्शनले गर्दा बेल्जिय फिफाको विश्व बरीयतामा पनि पछिल्लो लामो समयदेखि शीर्ष स्थानमा छ । तर, बेल्जियमको फुटबल इतिहासमा स्वर्णिम पुस्ता मानिएको यो टोली उपाधिबाट पनि नियमित चुक्दै आइरहेको छ । यो टोलीले जारी युरोकपमा पनि त्यही दुर्भाग्य व्यहोरेको छ ।
यससँगै बेल्जियमलाई ठूलो सफलता दिलाउने बेल्जियमको स्वर्णिम पुस्ताको अवसर समाप्त भएको अनुमान गरिएको छ । पछिल्लोपटक सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपमा तेस्रो स्थान हात पारेको बेल्जियमले जारी युरोकपको क्वार्टरफाइनल चरण नै पार गर्न सकेन ।
सन् १९८० को युरोकपको फाइनलमा बेल्जियम वेस्ट जर्मनीसँग पराजित हुँदै उपाधिबाट विमुख भएको थियो । बेल्जियमले ठूला प्रतियोगितामा हात पारेको अहिलेसम्मको ठूलो सफलता नै यही रह्यो ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप सुरु हुन १८ महिना बाँकी छ । बेल्जियमको यो स्वर्णिम पुस्तासामु आफ्नो देशलाई ठूलो उपलब्धि दिलाउने त्यो अन्मित अवसर हुन सक्छ ।