सिंहदरबारको आसनमा पुगेपछि बाँकी सबैलाई विगतमा पञ्चहरूले जसैगरी अराष्ट्रिय तत्व करार गर्न लागिपरेका छन् अहिलेका शासकहरू
देशमा पटक–पटक कथित महान् क्रान्तिकारीहरूको उदय भएको छ । हिजोका पृथ्वीनारायणदेखि जंगबहादुर हुँदै आजका प्रचण्ड, माधव नेपाल अनि विप्लवसम्मका क्रान्तिकारीहरू जसरी उदय भए, त्यसैगरी क्षय हुँदै गइरहेका छन् । हुन त असफल परराष्ट्रमन्त्री भएर बाहिरिँदा किताब मात्र जोेडेको र कमाएको जति पार्टीलाई दान दिएको दाबा गर्ने प्रदीप ज्ञवालीहरू आदर्शवादी नेता हुने देशमा केपी ओली उग्रराष्ट्रवादी हुँदै विपक्षीले दाबा गरेजस्तो ‘भष्मासुर’ भएपछि पुष्पकमल दाहालको खालमा माधव नेपाल र शेरबहादुर देउवाले नयाँ राष्ट्रवादी क्रान्तिकारीको दाबा पेस गर्नु कुनै आश्चर्यको विषय होइन । यसैबीच बहुल राष्ट्रिय राज्यको वकालतले राजेन्द्र महतो रातारात क्रान्तिकारी भएका छन् ।
यो महान् राष्ट्रवादी क्रान्तिकारी नेतृत्वको खोजीको सुरुवात मूलतः पञ्चायतकालदेखि नै सुरु भएको थियो । कांग्रेस र कम्युनिस्टलाई अत (अराष्ट्रिय तत्व) भन्न थालिएपछि प्रत्युत्तरमा उनीहरूले आफूलाई महान् राष्ट्रवादी क्रान्तिकारी दाबी गर्न थाले । महेन्द्रमाला दीक्षित अतको भूत आज पनि पहाडी जनको दिमागमा सवार छ । गंगातटीय बादशाहलाई दुस्मन करार गरेर राष्ट्रवादी हुने पहाडी हिन्दू गोर्खाली शासक मनोवृत्ति आजका कांग्रेस तथा कम्युनिस्टहरूमा सरेको छ । सिंहदरबारको आसनमा पुगेपछि बाँकी सबैलाई विगतमा पञ्चहरूले जसैगरी अराष्ट्रिय तत्व करार गर्न लागिपरेका छन् अहिलेका शासकहरू ।
तात्कालीन गोर्खा साम्राज्यलाई विस्तार गरेर नेपालका राजा भएका पृथ्वीनारायण शाहले गंगातटीय बादशाहलाई मुगल शासन करार गरेर असली हिन्दुस्थान बनाउने दाबा गरे । पञ्चायतले तिनलाई राष्ट्रनिर्माताको फुली भिराए । जंगबहादुरले मुलुकी ऐनमार्फत कानुनी रूपमा असली हिन्दुस्थान बनाएबापत महान् राष्ट्रवादी भए । पञ्चायतकालको ३० वर्षमा महान् राष्ट्रवादीको फुली त्रिभुवनदेखि चार सहिदलगायत राजा वीरेन्द्रसम्मले पाए भने रानी ऐश्वर्यहरूलाई पम्फादेवी बनाइयो । यही कालमा प्रजातन्त्र स्थापनाका लागि कांग्रेस र जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकालाई ओझेलमा पार्ने काम भयो । वि.सं. १९९७ का चार सहिदको भूमिकालाई कम आँक्न खोजेको होइन, तर विराटनगर र वीरगन्ज विद्रोहमा मारिएका तीनजनामध्ये तुलाराम गोले (गोले काइँला) र तेजबहादुर क्षेत्रीले आज पनि सहिदको दर्जा पाएका छैनन् ।
पञ्चायत समाप्त भएपछि कांग्रेस पहाडी हिन्दू गोर्खाली संस्थापन भए भने शासकीय जात वर्णकै कम्युनिस्टले गंगाका बादशाहलाई दुस्मन करार गर्दै महान् राष्ट्रवादी र क्रान्तिकारिताको दाबा गरे । पञ्चायत फाल्न पहिलो जनआन्दोलनको नेतृत्व गरेका लौहपुरुष गणेशमान सिंह अन्ततः गोर्खाली संस्थापनले भिराएको जातिवादी बिल्लासहित पतन भए । कम्युनिस्टमा पनि महेन्द्रमालाले तय गरेको गोर्खाली शासकीय वर्चस्व कायमै राख्ने झापाली टोलीको नेतृत्व गर्दै जबजका सिद्धान्तकार मदन भण्डारीको राष्ट्रवादी र क्रान्तिकारीका रूपमा उदय भयो । भण्डारीकालीन जबजका मानसपुत्रहरू आज बहुल राष्ट्रिय राज्यको विरोध गर्दै क्रान्तिकारी बन्ने दुस्साहस गरिरहेका छन् ।
गंगातटीय मैदानमा स्थापित र संरक्षित कांग्रेस र झापाली कम्युनिस्टहरू गोर्खाली संस्थापन भएपश्चात् बाहिरिएका प्युठानी कम्युनिस्टले नयाँ राष्ट्रवादी र क्रान्तिकारीताको दाबा गरे । मदन भण्डारीको अवसानपछि साइनिङ पाथ अवलम्बन गर्दै माओवादी क्रान्तिकारी शक्तिका रूपमा उदय भयो । गंगातटीय मैदानमा नै सैन्य शक्ति विकास र संरक्षण पाएका माओवादी र गंगातटीय बादशाहबीच असमझदारी बढेपछि रोल्पाबाट सुरुङ युद्धको घोषणा गर्दै प्रचण्डको बाँकी सबैलाई माथ गरेर नयाँ राष्ट्रवादी क्रान्तिकारीका रूपमा उदय भयो । सन् २००१ बाट अमेरिकाले विश्वभरि आतंकवादविरुद्ध मिसन युद्ध सञ्चालन गरेर अलकायदा, लिट्टेलगायत विद्रोहीलाई समाप्त गरिरहँदा पनि आतंककारी करार गरिएका माओवादीहरू राष्ट्रवादी र क्रान्तिकारी नै भइरहन पाउनुमा गंगातटीय बादशाहको आशीर्वाद मूल कारक तत्व थियो । ज्ञानेन्द्रसँग द्वन्द्व बढेपछि गिरिजाप्रसाद कोइरालाले नयाँ क्रान्तिकारिताको दाबा गरे । गंगातटीय बादशाहकै संयोजनमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १२ बुँदे दिल्ली सम्झौता भएपश्चात् २७० वर्षको राजसंस्थालाई बिदा गरियो र साइनिङ पाथमार्गी माओवादीलाई बालुवाटारमा रेड कार्पेटसहित भिœयाइयो ।
जंगलका जनमुक्ति सेनासहितका प्रचण्ड सहरमा आएपछि वाइसिएलको सहायतामा गणतन्त्रका मसिहासहितको भित्ते राष्ट्रपति भए । उनी मसिहा हुनुमा साइनिङ पाथका लागि १७ हजारजनाको आहुतीले भन्दा पनि गंगातटीय बादशाहको क्षेत्रीय रणनीतिले भूमिका खेलेको थियो । सहरी क्रान्तिकारी भएपश्चात् उनको पहाडी हिन्दू गोर्खाली बफादारीमा फर्किए, जसका कारण जनयुद्धभरि बाँडिएका आत्मनिर्णयसहितको जातीय संघीयता अन्तरिम संविधान २०६३ बाट हटाइयो । प्रचण्डबाट पुष्पकमल दाहाल भएपश्चात् उनले पनि गंगातटीय बादशाहलाई दुस्मन करार गर्दै हिमालपारिका बादशाहलाई नेपाल बोलाए । गणतन्त्रसँगै उनी गोर्खाली संस्थापन भएपछि मधेसी, आदिवासी जनजातिले आफूलाई नयाँ क्रान्तिकारी शक्तिको दाबा गरे ।
गणतन्त्रपछिको नेपाल : गणतन्त्रले नेपाली आन्तरिक र भूराजनीतिमा ठूलो परिवर्तन गरायो । आन्तरिक रूपमा २७० वर्षदेखि आन्तरिक औपनिवेशिकताका सिकार भएका मधेसी तथा आदिवासी जनजातिलगायतले पहिलोपटक राज्यमा आफ्नो हिस्साको दाबा गरे, जसलाई उनीहरूले बहुल राष्ट्रिय राज्यको मागमार्फत अभिव्यक्त गरे भने बाह्य रूपमा उदयमान हिमालपारिका बादशाहलाई नेताहरूको कोठरीसम्म छिराउने काम भयो ।
कांग्रेस तथा कम्युनिस्ट राजनीतिमा जीवन अर्पण गरेका मधेसीले त्यहाँबाट छुटेर मधेसकेन्द्रित गजेन्द्रनारायण सिंह मार्ग तय गरे भने आदिवासी जनजातिले आदिवासीकेन्द्रित जनमुक्ति पार्टीको मार्ग तय गरे । यसले इतिहासमा पहिलोपटक कांग्रेस र कम्युनिस्ट दुई ध्रुवमा विभाजित राजनीतिक शक्तिलाई जबर्जस्त तेस्रो ध्रुवमा विभाजित गरायो । राजनीतिक शक्तिका दृष्टिकोणले तीन ध्रुव भए पनि सारमा पहाडी हिन्दू गोर्खाली शासक र राज्यविहीन जनता गरी दुई ध्रुव देखिन्छ ।
गणतन्त्रको आगमनसँगै आन्तरिक औपनिवेशिकताका सिकार भएका मधेसी तथा आदिवासी जनजातिलगायतले पहिलोपटक राज्यमा आफ्नो हिस्साको दाबालाई बहुल राष्ट्रिय राज्यको मागमार्फत अभिव्यक्त गरे भने बाह्य रूपमा उदयमान हिमालपारिका बादशाहलाई नेताहरूको कोठरीसम्म छिराउने काम भयो
नयाँ ध्रुवीकरणले महेन्द्रमालाको एकल राष्ट्रिय राज्यको संकथनविरुद्ध सबैको साझा बहुल राष्ट्रिय राज्यको जबर्जस्त दबाब सिर्जना ग¥यो । सबैको साझा राष्ट्र बनाउनुपर्ने जिम्मेवारी संविधानसभाको थियो भने सबैको आशा र दबाबको केन्द्र जनयुद्धका मसिहा प्रचण्ड र बाबुराममा थियो । उनीहरूले जनयुद्धमा गरेको वाचा पूरा गरेमा पहाडी हिन्दू गोर्खाली वर्चस्व गुम्ने भय सिर्जना गर्न कांग्रेस र झापाली कम्युनिस्ट तथा संस्थापन शक्ति लागेका थिए । अल्भेरो गार्सिया लिनेराले भनेझैँ ‘कुनै समयका विद्रोही नेतालाई पनि सेनाको रेड कार्पेट सलामी र एनजिओको चमकधमक प्यारो भइसकेको थियो ।’ राज्यविहीन राष्ट्रहरूले अस्वीकार गरेको आधुनिक नेपाल राज्यलाई सर्वस्वीकार्य बनाउने ऐतिहासिक मौका विद्रोहको नेतृत्व गर्नेहरूले आफ्नो मुद्दा छाडेर जातीय बफादारीमा फर्किंदा चुकाउनुपर्यो । नेपाल राज्य, यहाँका ऐतिहासिक राष्ट्रहरूले आरोप लगाएको जस्तो अधिनायकवादी तथा औपनिवेशिक होइन भनेर पुष्टि गर्दै सबैको साझा राज्य कसरी निर्माण गर्ने भन्ने आजको अहं सवाल हो । राज्यविहीन राष्ट्रहरूले दाबा गरेजस्तो बहुल राष्ट्रिय राज्यमार्फत सबैको साझा देश नबनाउने हो भने आन्तरिक द्वन्द्व झन् चर्किने देखिन्छ ।
गणतन्त्रपछि आन्तरिक रूपमा यस्तो नयाँ शक्ति संघर्ष देखा प¥यो भने माओवादी शक्तिका रूपमा उदय भएपछि भूराजनीतिक अवस्थिति बदल्ने प्रयत्न सुरु भयो । विशेषतः जुन शक्तिले प्रचण्डलाई रेड कार्पेट बिछ्याएर बालुवाटार भिœयाएको थियो, त्यही शक्तिको स्वार्थविपरीत हिमालपारिको बादशाहलाई जबर्जस्त रूपमा भिœयाएपछि बदलाव सुरु भयो । इतिहासमा भीमसेन थापा हुँदै महेन्द्रकै मार्गमा प्रचण्डले गंगातटीय बादशाहलाई चुनौती दिन हिमालपारिको बादशाहलाई भिœयाए । यस पहलविरुद्ध पहिलो प्रहार रुकमाङ्गत कटुवालमार्फत भयो । सडकमा आएका प्रचण्डका अनेक राष्ट्रवादी क्रान्तिकारी तिकडम असफल भएपश्चात् अन्ततः बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । त्यो सरकारको उद्देश्य आन्तरिक शक्तिहरूलाई माओवादीको पहाडी हिन्दू गोर्खाली बफादारी पुष्टि गर्नु थियो भने गंगातटीय बादशाहको पक्षमा रहेको देखाउनु थियो । पहिलो संविधानसभाले मधेसी, आदिवासी जनजातिलगायतलाई जुन अधिकारको प्रत्याभूत गराउन चाहेको थियो, त्यसलाई उनीहरूकै हातबाट समाप्त पार्ने रणनीतिअनुरूप बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर सरकारको औचित्य प्रस्ट्याए ।
प्रचण्डले दोस्रो संविधानसभामा आफैँ हारेपछि बल्ल आफू पुष्पकमल दाहाल भएको थाहा पाए । उनले आन्तरिक शक्ति सन्तुलनका लागि केपी ओलीको प्रधानमन्त्री हुने र सुशील कोइरालाको संविधानका पिता बन्ने महत्वाकांक्षा पूरा गराउन १६ बुँदे सम्झौतामार्फत आफ्नो गोर्खाली बफादारी प्रस्ट्याए भने सक डक्ट्रिनको सिद्धान्त प्रयोग गर्दै गोर्खा भुइँचालोबीच गंगातटीय बादशाहलाई चुनौती दिँदै हिमालपारिको बादशाहको सहमतिमा संविधान जारी गरे । संविधान निर्माणमार्फत गोर्खाली बफादारीको पुष्टि गरेबापत आन्तरिक शक्तिहरूले दुईतिहाइको बहुमत दिलाए । झापाली र प्युठानी कम्युनिस्टको एकताबाट हौसिएका पुष्पकमल दाहालले गंगातटीय बादशाहलाई सन्तुलनमा राख्ने दाबासहित चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सम्बन्ध स्थापित गर्ने र सी विचारधारालाई प्रशिक्षणमार्फत भित्र्याउने काम गरे ।
भूराजनीतिक टकराव : साइनिङ पाथको अवलम्बन गरेका विद्रोही शक्तिलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्नका लागि राजसंस्था हट्नुले राजनीतिमा ठूलो अर्थ राख्छ । भूराजनीति नजोडिएसम्म आन्तरिक राजनीतिले मात्र यो कार्य सम्भव थिएन । साइनिङ पाथका संस्थापक गोन्जालेज जेलमा सडिरहँदा प्रचण्डले सत्ताको भोग गर्न पाइरहनुमा भूराजनीतिको अहं भूमिका थियो । तर, उनलाई सेनाको रेड कार्पेटमा हिँडाउने शक्तिलाई चुनौती दिनु नेपालजस्तो कमजोर राष्ट्रको नेताको दुस्साहस थियो । बिआरआई आउनुअघि हिमालपारिका बादशाहलाई लुम्बिनी पुर्याएर आफू अशोक राजा हुन चाहे । केपी ओलीको काँधमा चढेर चुच्चे रेल हुँदै सी विचारधारा भित्र्याएर दूतावासलाई कोठरी–कोठरी कुदाए । भीमसेन थापादेखिको भूराजनीतिक अवस्थिति बदल्ने प्रयत्न प्रचण्डले दोहोर्याएर व्यक्तिगत रूपमा यसको लाभ लिए पनि हाल आएर देशको भविष्यका लागि खतरनाक कदम साबित भएको छ ।
गणतन्त्र स्थापनापछि झापाली कम्युनिस्ट तथा केपी ओली मनोवृत्तिको औचित्य समाप्त भइसकेको थियो, तर प्रचण्डले नै उनीहरूलाई राजनीतिको केन्द्रमा तानेर ल्याए । विशेषतः १६ बुँदे सम्झौतामार्फत उदाएका ओलीलाई जसरी प्रचण्डले हिमालपारिका बादशाहलाई भित्र्याउन र गंगातटीय बादशाहलाई चुनौती दिन उपयोग गरे, आज तिनै ओलीलाई उपयोग गरेर प्रचण्डलगायत कम्युनिस्टलाई समाप्त गरिँदै छ । प्रचण्डलगायत वामपन्थी मार्क्सवादी कम्युनिस्ट नेताहरूको वैदेशिक मामिलामा दुस्साहस (एडभेन्चररिजम/रेकलेसनेस) नै उनीहरूको पतनको मुख्य कारक भएर देखा परेको छ । यही कारण आज देशले नयाँ अस्थिरता भोग्नुपरेको छ । संकटमा फसेपछि प्रचण्ड आज संविधानमा लेखिएको नोट अफ डिसेन्ट सम्झाउँदै प्रशिक्षण दिँदै छन् भने नयाँ क्रान्तिकारी कम्युनिस्ट केन्द्र बनाउन लागिपरेका छन् ।
नेपालको वर्तमानको अस्थिरता गणतन्त्रले उजागर गरेको आन्तरिक मामिला र शक्ति राष्ट्रहरूबीचको टकरावको परिणाम हो । आन्तरिक रूपमा सबैको अपनत्व महसुस हुने बहुल राष्ट्रिय राज्यलाई सम्बोधन नगरी जबज पक्षधरहरूले जस्तो पञ्चायती राष्ट्रवादी विज्ञप्तिबाजी, पुत्लादहन वा दमन गरेर एकल राष्ट्रिय राज्य कायम राखेसम्म यो अस्थिरता जारी नै रहनेछ । बाह्य रूपमा नेपालका कांग्रेस तथा कम्युनिस्टहरू छिमेकका दुई शक्तिराष्ट्रलाई कसरी देशको स्वार्थसँग मिलाउने भन्ने भन्दा पनि तिनलाई दुस्मन करार गरेर कसरी राष्ट्रवादी क्रान्तिकारी हुने भन्ने दुस्साहसमै फसिरहेका छन् । एमसिसी र बिआरआईको यस युद्धमा भर्खरै सम्पन्न जी–सेवेन बैठकले अमेरिकी परियोजना बिथ्रिडब्लू (बिल्ड ब्याक बेटर वर्ल्ड) पनि सामेल भएको छ । अमेरिकाले डेभलपमेन्ट फाइनान्स कर्पोरेसन, युएसएड, एक्जिम, मिलिनियम च्यालेन्ज कर्पोरेसनलगायत संस्था र परियोजनाबाट परिचालन गर्ने योजना बनाएको यस परियोजनाले न्यून र मध्यम आय भएको मुलुकमा रहेको पूर्वाधारको विशाल आवश्यकतालाई पूरा गर्ने लक्ष्य लिएको छ, जुन भनेको हिमालपारिको बादशाहको बिआरआईविरुद्धको रणनीति हो । यसको सीधा असर नेपालमा आगामी दिनमा पर्ने देखिन्छ ।