१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी
२o८१ बैशाख २५ मंगलबार २२:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

युरोकप २०२० : पीडाबाट सम्हालिएको डेनमार्कको अविस्मरणीय यात्रा

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २२:५४:oo

सोमबार राति कोपेन्हेगनस्थित घरेलु मैदानमा रुसलाई ४–१ गोलअन्तरले पराजित गरेपछि डेनमार्कका खेलाडीहरूको खुसियाली सामान्य रहेन । सुरुवाती दुई खेलमा लगातार पराजय व्यहोरेको डेनमार्कलाई यो एकै खेलको नतिजाले जारी युरोकप २०२२ को प्रिक्वार्टरफाइनल चरणमा पु¥याएको थियो । 

नौ दिनअघि मात्रै यही रंगशालामा आफ्ना सहकर्मी क्रिस्टियन एरिक्सन ‘कार्डिएक एरेस्ट’ भएर मैदानमै ढलेका थिए । यस्तो डरलाग्दो घटना व्यहोरेको डेनमार्कका खेलाडीका लागि यो उपलब्धि सामान्य रहेन । त्यो पीडाबाट सम्हालिएको डेनमार्कका खेलाडी र समर्थकले सोमबार राति कोपेन्हेगनमा अविस्मरणीय क्षणको अनुभव गरे ।

सुरुवाती दुई खेलमा फिनल्यान्ड र बेल्जियमसँग पराजय व्यहोरेपछि डेनमार्क लगभग प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर, डेनमार्क यस्तै चमत्कारका लागि त चर्चित छ । ‘डेनमार्कको यो जित क्रिस्टियनका लागि हो । यो जितको मतलब के हो भनेर तपाईंले कोपेन्हेगनमा देख्न र सुन्न सक्नुहुनेछ,’ फुटबल विश्लेषक गाई मोउब्रे भन्छन्, ‘हान्स क्रिस्टियन एन्डरसनको भूमिमा यो अर्काे कथा लेखिएको छ । एउटा दुखद घटना, निराशादेखि यो खुसीको यात्रा । यस्तो कथा सधैँ सम्भव हुँदैन ।’

चामत्कारिक रात
डेनमार्कलाई प्रतियोगिताको अन्तिम १६ को यात्रा तय गर्न रुसमाथिको यो जितको नतिजा मात्रै पर्याप्त थिएन । रुसको सेन्ट पिटर्सबर्गमा सोही समय भइरहेको अर्काे खेलमा बेल्जियमले फिनल्यान्डलाई पराजित गरेको नतिजा पनि आवश्यक थियो । बेल्जियमसँग एक अंक मात्रै खोस्न सकेको भए मात्रै पनि फिनल्यान्ड समूह उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुग्ने निश्चित थियो । 

रुसमा पनि उनीहरूलाई आवश्यक नतिजा निस्किएको खबर पाउँदा डेनमार्कका खेलाडी खुसी साट्न आफ्ना समर्थकतर्फ दौडिए । ‘हामी चाहन्थ्यौँ कि यो रात चामत्कारिक रात होस्,’ डेनमार्कका प्रशिक्षक कास्पर ह्युलमान्ड भन्छन्, ‘हामीलाई साथ दिने र माया गर्ने सम्पूर्ण समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । हाम्रा लागि तपाईंहरूको यो साथ महत्वपूर्ण छ ।’

उनले एरिक्सनको घटनाबाट पीडामा देखिएका खेलाडीहरू त्यसबाट सम्हालिएर निकालेको यो नतिजाबाट आफू अचम्मित रहेको सुनाए । ‘यो प्रेरणा, टिम भावना, खेलाडीहरूबीच साथी–साथीको त्यो भावना साँच्चिकै अनौठो छ । यदि आजको खेलमा कोही यो क्षणको हकदार छ भने त्यो हाम्रा खेलाडी हुन्,’ उनी भन्छन्, ‘म कल्पना पनि गर्न सक्दिन कि एरिक्सनको घटनापछि उनीहरू कसरी सम्हालिएर यो स्तरको प्रदर्शन दिन सफल भए ।’ रुसमा फिनल्यान्डविरुद्ध बेल्जियमले अग्रता लिन थालेसँगै कोपेन्हेगनको स्टेडियममा खुसी मनाउन सुरु भएको थियो । खेल सकिँदासम्म त्यो खुसियाली अझ व्यापक बन्यो ।

‘डेनमार्कले खुसी मनाएको साँच्चिकै रमाइलो थियो’ 

डेनमार्कले रुसविरुद्धको खेल समूह बीको पुछारमा रहेर सुरु गरेको थियो । उनीहरूलाई प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणमा प्रवेशको सम्भावना जीवित राख्नका लागि पनि कुनै पनि अवस्थामा जित आवश्यक थियो । अर्थात् रुसविरुद्ध उसले कुनै पनि अवस्थामा जित निकाल्नुपर्ने बाध्यात्मा थियो । त्यसपछि मात्रै बेल्जियमको खेलको नतिजाले उनीहरूलाई अर्थ राख्ने थियो ।

खेलको पहिलो हाफमा मिक्केल दाम्सगार्डले घरेलु टोलीलाई १–० ले अघि राखे । त्यसपछि खेलको ५९औँ मिनेटमा युसुफ पोउल्सेनले अग्रता दोब्बर बनाए । डेनमार्कले रुसविरुद्ध दुई गोलको अग्रता बनाउँदा फिनल्यान्डविरुद्ध बेल्जियमले गोल गर्न सकेको थिएन । त्यस वेला उसको एउटा गोललाई रेफ्रीले अफसाइड देखाइदिएको थियो ।

त्यसको केही मिनेटपछि रुसले पेनाल्टी अवसर पायो । जेन्निक भेस्टरर्गाडको गल्तीका कारण प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्दै कप्तान अर्तेम ज्युबाले रुसका लागि एक गोल गरे । त्यसको चार मिनेटपछि फिनल्यान्डका गोलरक्षक लुकास ह्याडेक्कीको आत्मघाती गोलमार्फत बेल्जियमले अग्रता बनायो । त्यससँगै डेनमार्कमा घरेलु दर्शकको खुसियाली सुरु भएको थियो । अन्त्यमा क्रिस्टेन्सन र मइहलेले एक–एक गोल थपेपछि डेनमार्कले रुसविरुद्ध ४–१ को जित निकाल्यो ।

उता रोमेलु लुकाकुले अर्काे गोल थपेपछि बेल्जियमले पनि फिनल्यान्डलाई २–० ले पराजित ग¥यो । डेनमार्कको प्रिक्वार्टरफाइनल चरणको चामत्कारिक यात्रा यसरी सम्भव भयो । ‘उनीहरू आफ्नो मुठी जोडका साथ माथितर्फ फ्याल्दै थिए । उनीहरूको अनुहारमा खुसी थियो । आँखाबाट आँसु झरिरहेका थिए । त्यो दृश्य साँच्चिकै रमाइलो थियो,’ इंग्ल्यान्डका पूर्वस्ट्राइकर डिअन डब्लिन भन्छन् । 

इंग्ल्यान्डका पूर्वस्ट्राइकर एलान सइर भन्छन्, ‘उनीहरूको अनुहारमा देखिएको हाँसो हेर्नुहोस् । उनीहरू कुन अवस्थाबाट गुज्रिए र अहिलेको अवस्थामा आइपुगेका छन् भन्ने कथा साँच्चिकै गजबको छ । उनीहरूलाई यो क्षण खुसी हुन दिनुपर्दछ ।’

यस्तै जर्मनीका पूर्वप्रशिक्षक योर्गेन क्लिन्समान भन्छन्, ‘डेनमार्कले खुसी मनाएको हेर्नु साँच्चिकै रमाइलो रह्यो । पछिल्लो एक साता उनीहरू साँच्चिकै फरक अवस्थाबाट गुज्रिए । यो खुसीका लागि उनीहरू लायकका छन् ।’
 

ad
ad