मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ७ सोमबार १०:०५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ७ सोमबार १०:०५:००

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । 

पोर्चुगलका दुई डिफेन्डरले आत्मघाती गोल गर्नु, जर्मनीले साबिक विजेतामाथि सनसनीपूर्ण ४–२ को जित निकाल्नु र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको जर्मनीमाथि पहिलोपटक गोल गर्नुलाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकता दिइरहेकाछन् । यसबाहेक रोनाल्डोले शनिबारको खेलमा ९२ मिटरको दूरी जम्मा १४ सेकेन्डमा पूरा गरेको विषयलाई पनि चर्चा गरिएको छ ।

रोनाल्डो ३६ वर्षका भए । तर, उनको फिटनेसमा कुनै कमी देखिएको छैन । अहिले पनि रोनाल्डो युवा खेलाडीहरूभन्दा छिटो कुद्न सक्छन् । यसैको उदाहरण उनले जर्मनीविरुद्ध १५औँ मिनेटमा दिएका छन् । उनले आफ्नै डिबक्सदेखि जर्मनीको पेनाल्टी क्षेत्रसम्मको ९२ मिटरको दूरी केवल १४ सेकेन्डमै पूरा गरेका थिए । 

जर्मनीको म्युनिख रंगशालामा रोनाल्डोको स्पिडअगाडि जर्मन मिडफिल्डर डिफेन्डर निरीहझैँ देखिए । उनले डिबक्सभित्र डिएगो जोटालाई बल पास दिए । जोटाले पुनः रोनाल्डोलाई नै सटिक पास दिए र रोनाल्डोले कुनै गल्ती नगरी जर्मनीविरुद्ध व्यक्तिगत पहिलो गोल गर्न सफल भए । 

रोनाल्डोको यो स्पिडलाई प्रतिघन्टा ३२ किलोमिटरबराबर रहेको जनाइएको छ । रोनाल्डोले अहिलेसम्म जर्मनीविरुद्ध पाँच खेलमा गोल गर्न सकेका थिएनन् । उनी जर्मनीसँगको खेलमा चार सय ४५ मिनेट गोलविहीन थिए । यसैगरी, उनले २५ पटक गोलका लागि प्रयास गरेका छन् । जर्मनीपछि रोनाल्डोले गोल गर्न नसकेको टोली फ्रान्स हो । फ्रान्सविरुद्ध उनी ६ खेल गोलविहीन छन् ।