मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ४ शुक्रबार ०८:४५:००
Read Time : > 1 मिनेट
विश्व

युरोकपको नकआउट चरणमा पुग्ने बेल्जियम दोस्रो टोली

Read Time : > 1 मिनेट
२०७८ असार ४ शुक्रबार ०८:४५:००

फिफा वरीयताको पहिलो स्थानमा रहेको बेल्जियम युरोकप २०२० फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने दोस्रो टोली बनेको छ । बिहीबार राति बेल्जियमले समूह ‘बी’मा डेनमार्कलाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । यसअघि इटाली नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको थियो । 

समूह ‘बी’मा बेल्जियमले दुई खेलबाट ६ अंक बटुलेको छ । डेनमार्कले दुवै खेल गुमाएको छ । डेनमार्क तालिकाको पुछारमा छ । गणितीय आधारमा मात्र डेनमार्क प्रतियोगितामा रहेको छ । खेल सुरु हुनुअघि मैदानमा खेलाडी तथा समर्थकले डेनमार्कका घाइते खेलाडी क्रिस्टियन एरिक्सनको स्वास्थ्यलाभकाे कामना गरेका थिए । फिनल्यान्डसँगको समूह चरणकै पहिलो खेलको मध्यान्तरअघि श्वासप्रश्वासमा समस्या भएपछि एरिक्सन मैदानमा ढलेका थिए । 

मेडिकल टोलीको तत्काल प्रयासका कारण एरिक्सन बाँच्न सफल भएका छन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । बेल्जियमविरुद्ध मैदानमा उत्रनुअघि नै डेनमार्कका खेलाडीले खेल एरिक्सनप्रति समर्पित भएको जनाएका थिए । 

खेलको पहिलो हाफमा बेल्जियम एक गोलले पछाडि थियो । दोस्रो हाफमा यो अवस्थालाई उल्ट्याउँदै बेल्जियमले २–१ को जित निकालेको हो । खेलको दोस्रो मिनेटमै डेनमार्कले १–० को अग्रता लिएको थियो । घरेलु मैदानमा डेनमार्कका समर्थकलाई खुसी दिलाउने क्रममा युसुफ पाउल्सेनले आकर्षक गोल गरेका थिए । उनले एमिल होएबिएरको पास नियन्त्रणमा लिँदै सानो डिबक्सबाट सहजै गोल गरेका थिए ।

पहिलो हाफमा डेनमार्क हावी देखिएको थियो । डेनमार्कले पहिलो हाफमा तीनवटा गोल अवसर खेर फाल्यो । बेल्जियम भने बिस्तारै खेलमा पकड जमाइरहेको थियो । मध्यान्तरपछि बेल्जियमले डेनमार्कमाथि दबाब सिर्जना गर्न सफल भयो । यता डेनमार्कले बल पोजिसनमा भने दबदबा राखिरहेको थियो । डेनमार्कले काउन्टर र लामो पासमा थप गोल गर्न प्रयास जारी राखेको थियो । 

मध्यान्तरपछि नै मैदानमा भित्रएका डे ब्रुयनको पासमा हजार्डले ५४औँ मिनेटमा बेल्जियमलाई १–१ को बराबरीमा पुर्‍याए । खेलको ७०औँ मिनेटमा इडेन हजार्डको सटिक पासमा डे ब्रुएनले डिबक्सभित्रबाट गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए ।

खेलको ८७औँ मिनेटमा डेनमार्कका मार्टिन ब्रेथवेटको प्रहार क्रसबारमा लागेको थियो । प्रतियोगितामा डेनमार्कले दुवै खेलमा २० भन्दा बढी गोल प्रयास गरेको छ । दुर्भाग्यवश डेनमार्क दुवै खेलमा पराजित भएको छ । बेल्जियमविरुद्धको खेलमा डेनमार्कले २१ पटक गोल प्रयास गरेको थियो ।

यसविपरीत बेल्जियमले ६ पटक मात्र पोस्ट चार्ज गर्‍याे । खेलमा बेल्जियमले ५३ तथा डेनमार्कले ४७ प्रतिशत बल पोजिसन बनाएका थिए । खेलमा रामेलु लुकाकु म्यान अफ दी म्याच घोषित भएका छन् ।