मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ३ बिहीबार
  • Saturday, 21 December, 2024
हंगेरीमाथि गोल गरेपछि खुसी मनाउँदै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो
एजेन्सी
२o७८ असार ३ बिहीबार o५:५९:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोर्चुगलको जितमा रोनाल्डोद्वारा रेकर्ड नै रेकर्ड

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असार ३ बिहीबार o५:५९:oo

युरोकपमा सर्वाधिक सहभागिता, सर्वाधिक व्यक्तिगत गोल, युरोकपमा सहभागी पाका खेलाडीमध्ये एकै खेलमा दुई गोल गर्ने, लगातार पाँच युरोकपमा गोल गर्ने रेकर्ड रोनाल्डोले हात पारेका छन्

युरोकपको साविक विजेता पोर्चुगलले समूह एफमा हंगेरीमाथि ३–० को सानदार जित निकालेको छ । पोर्चुगलले जितबाट युरोकपको यात्रा सुरु गर्दा कप्तान क्रिस्टियानो रोनाल्डोले पनि व्यक्तिगत रेकर्ड थपेका छन् । 

हंगेरीविरुद्धको खेलसँगै उनी युरोकपमा लगातार पाँचपटक सहभागी हुने पहिलो खेलाडीसमेत बनेका छन् । यस्तै सबैभन्दा धेरै व्यक्तिगत गोल गर्ने र पाका खेलाडीमध्ये एकै खेलमा दुई गोल गर्ने खेलाडीको रेकर्ड पनि बनाएका छन् । 

बुडापेस्टको पुस्कार एरिना रंगशालामा ६० हजार दर्शक सामुन्ने रोनाल्डोले अन्तिम पाँच मिनेटभित्र दुई गोल गर्दैै युरोकपमा व्यक्तिगत धेरै गोल गर्ने खेलाडीको नाममा शीर्ष स्थानमा उभ्याएका छन् । खेलको ८७औँ मिनेटमा पेनाल्टी गोल गर्दै उनले फ्रान्सका मिचेल प्लाटिनीसँगैको नौ गोलको रेकर्ड तोडे । अन्तिम इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे । युरोकपमा उनको यो व्यक्तिगत ११ गोल हो । 

खेलको अन्तिम ६ मिनेटभित्र पोर्चुगलले हंगेरीको पोस्टमा तीन गोल गरेको थियो । हंगेरीको घरेलु मैदानमा पोर्चुगलले खेलको ८४औँ मिनेटमा अग्रता लिएको थियो । पोर्चुगलका लागि रिफाएल गुएरेरिरोले सानो डिबक्सभन्दा बाहिरबाट चलाखीपूर्ण रूपमा पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए । उनले प्रहार गरेको बल हंगेरीका डिफेन्डर विली ओब्रानको खुट्टामा डिफलेक्ट हुँदै गोलमा परिणत भएको थियो । 

रोनाल्डोकै उत्कृष्ट प्रदर्शनको मद्दतमा पोर्चुगलले ग्रुप अफ डेथ भनिएको समूह एफमा तीन अंक जोडेको छ । यसै समूहमा रहेको फ्रान्सले पनि जर्मनीलाई १–० ले हराउँदै महत्वपूर्ण तीन अंक हात पारेको छ ।

रोनाल्डोले लगातार पाँच संस्करणमा गोल गर्ने रेकर्डसमेत राखेका छन् । उनले सन् २००४ देखि २०२१ सम्मको युरोकपको पाँच संस्करणमा गोल गरेका छन् । यसैगरी अन्तर्राष्ट्रिय खेलमा उनले आफ्नो गोल संख्या एक सय ६ पुर्‍याएका छन् । 

पछिल्लो ४३ अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोले ४५ गोल गरेका छन् । सोमबार राति रोनाल्डोले पाका खेलाडीका रूपमा एकै खेलमा दुई गोल गर्ने रेकर्ड पनि बनाए । हंगेरीविरुद्धको गोल गर्दा रोनाल्डो ३६ वर्ष एक सय ३० दिनका थिए । यसअघि यो रेकर्ड सन् २०१२ को युरोकपमा युक्रेनका आन्द्रे स्वेन्चको नाममा थियो । उनले ३५ वर्ष दुई सय ५६ दिनको उमेरमा स्विडेनविरुद्ध दुई गोल गरेका थिए ।

युरोकप तथा विश्वकपमा गरी युरोपियन देशबाट धेरै खेल खेल्ने खेलाडी पनि रोनाल्डो बनेका छन् । उनले दुई प्रतियोगितामा ३९ खेल खेलेका छन् । यसअघि यो रेकर्ड जर्मनीका वास्टिएन स्वन्स्ट्राइगरको नाममा थियो । उनले जर्मनीको जर्सीबाट युरोकप तथा विश्वकपमा गरी ३८ खेलको रेकर्ड राखेका थिए । ६० वर्षको इतिहासमा अहिलेसम्म १७ जना खेलाडीले लगातार चारपटक युरोकप खेलेका छन् । 

यसैगरी रोनाल्डोले सन् २००४ देखि पोर्चुगलले सहभागिता जनाएको सबै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गोल गर्ने रेकर्ड पनि बनाएका छन् । उनले उनले पाँच युरोकप, चार विश्वकप, सन् २०१७ को कन्फेडेरेसन कप तथा सन् २०१९ को युइएफए नेसन्स कप खेलेका थिए । यी सबै प्रतियोगितामा रोनाल्डोले गोल गरेका छन् । 

आत्मघाती गोलमा फ्रान्स विजयी
फ्रान्सले युरोकप २०२० मा आत्मघाती विजयी गोलसँगै यात्रा सुरु गरेको छ । त्यही नै सर्वाधिक तीनपटकको विजेता जर्मनी भने फ्रान्ससँग १–० ले निराश बन्यो । समूह एफमा घरेलु मैदान बायर्नमा डिफेन्डर म्याट हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले महत्वपूर्ण तीन अंक जोडेको हो । प्रशिक्षक जोचिम लोले म्याटलाई सन् २०१९ पछि जर्मनी टोलीमा स्थान दिएका थिए । तर, हुमेल्सकै एक गल्तीमा जर्मनीले फ्रान्ससँग अंक गुमायो । 

खेलको २०औँ मिनेटमा फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको पासमा लुकास हर्नान्डेजले प्रहार गरेको बललाई हुमेल्सले बचाउने प्रयास गरेका थिए । तर, उनले बल क्लियर गर्ने क्रममा पोस्टभित्र छिर्‍यो । खेलमा जर्मनीले नै फ्रान्समाथि दबाब राखेको थियो । फ्रान्सले जर्मनीको पोस्टमा काउन्टर एट्याक्टमा जोड दिएको थियो । फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे र करिम बेन्जिम पहिलो सेटमै प्रतिस्पर्धा गरेका थिए । तर जर्मनीको बलियो डिफेन्स फ्रान्सेली खेलाडीले तोड्न सकेनन् । जर्मनीले खेलमा ६२ प्रतिशत बल पोसेसन बनाएको थियो । जर्मनीले फ्रान्सको पोस्टमा १० पटक गोलका लागि प्रयास गरेको थियो । 

रोनाल्डोका कारण कोकाकोलाले एक दिनमै गुमायो चार अर्ब डलर

युरोकपअन्तर्गत मंगलबार राति पोर्चुगल र हंगेरीबीचको खेलअघि पत्रकार सम्मेलन आयोजना भएको थियो । खेलअघि दुवै टोलीका कप्तान र प्रशिक्षकले आफ्ना भनाइ राख्ने कार्यक्रम तय भएको थियो । प्रोटोकलअनुरूप रोनाल्डो ड्यासमा बसे । उनको अगाडि सानो दुईवटा कोकाकोला र मिनरल वाटरका बोतल थिए । रोनाल्डोले आफ्नो भनाइ राख्नुअघि रिसाउँदै कोकाकोलाका बोतल त्यहाँबाट हटाए । पानीका बोतल अघि सारे । 

उनले रोनाल्डो आफू फिटनेसप्रति सचेत भएकाले कोल्ड ड्रिंग्सलाई प्राथमिकता नदिएको जनाएका छन् । उनले शरीर राम्रो बनाउने एक मात्र माध्यम सफा पानी भएको प्रतिक्रिया दिएका थिए । रोनाल्डोको यस्तो प्रतिक्रिया तथा कोक कम्पनीप्रतिको नजरले एकै दिनमा आमूल परिवर्तन भयो । बुधबार अन्तर्राष्ट्रिय बजार खुला हुँदा कोकाकोलाको सेयर भाउ १.६ प्रतिशतले घटेको छ ।

जसका कारण कोकले एकै दिन चार अर्ब डलर घाटा व्यहोरेको छ । सेयर बजारमा कोकाकोलाको प्रतिकित्ता ५६.१० बाट ५५.२२ डलरमा झरेको छ । यसैबीच अस्ट्रेलियन एसोसिएट प्रेसले सेयर बजारमा कोकाकोलाको मार्केट भ्यालु पनि घटेको जनाएको छ । 

युरोकपमा रोनाल्डोले सबै अन्तर्राष्ट्रिय मिडिया अगाडि कोकाकोलालाई ब्रान्डिङ नगर्दा बुधबार यसको मार्केट भ्यालु २४२ बाट २३८ डलरमा झरेको छ । युरोकप ११ देशका ११ सहरमा आयोजना भइरहेको छ । कोकाकोला प्रतियोगिताको मुख्य अफिसियल पार्टनर पनि हो ।