१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ जेठ १ मंगलबार १o:५९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ऐन लगाएर कारबाही गर्नुपर्ने चालकहरूसँग वार्ता गर्दा इन्धन आपूर्ति ठप्प

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:५९:oo

इन्धन ढुवानी गर्ने चालकहरूले खोप नलगाई ट्यांकर सञ्चालन नगर्ने अडान लिँदा दुई दिनदेखि काठमाडौं उपत्यकामा तेल वितरण हुन सकेको छैन । काठमाडौं उपत्यकाका पम्प तेल अभावमा बन्द हुन थालेका छन् । चालकहरूले आइतबार आकस्मिक रूपमा आयल निगमलाई खोपको व्यवस्था नभए इन्धन ढुवानी नगर्ने पत्रमार्फत जानकारी गराएका थिए ।

पत्र पठाएकै दिनबाट इन्धन ढुवानी रोकेका चालकलाई कारबाही गर्नुको सट्टा सरकार छलफलमा जुटिरहेको छ । आइतबार र सोमबार लगातार दुई दिनको छलफलसँगै खोप व्यवस्थाका लागि निगमका कर्मचारीहरू दौडधुप गरिरहेका छन् । तर, चालकहरूले खोप नभएसम्म हडताल जारी राख्ने अडान कायम राखेका छन् ।

चालकहरूको हडताललाई पेट्रोलियम व्यवसायीले विज्ञप्ति नै निकालेर प्रत्यक्ष साथ दिएका छन् भने ट्यांकरधनीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेका छन् । साहुहरूबाट साथ पाएपछि हड्ताल गर्ने ट्यांकर सञ्चालकहरूको मनोबल उच्च भएको छ । 

इन्धनलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेर आपूर्तिमा सहजता ल्याउन पाइने व्यवस्था गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१२ ले इन्धनलाई अत्यावश्यक सेवामा सूचीकृत गरी हडताल निषेध गरेको हो । ऐनको दफा ४ मा अत्यावश्यक सेवामा सूचीकृत वस्तुको आपूर्तिमा असहज पार्नेलाई २ सय रुपैयाँ वा ६ महिना कैद वा दुवै सजायको व्यवस्था छ । 

त्यस्तै, चालकहरूलाई हडताल गर्न उत्प्रेरित गर्नेलाई एक हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ । पेट्रोलियम व्यवसायी तथा ट्यांकरधनीले चालकहरूलाई हड्ताल गर्न दुरुत्साहन गरेकाले उनीहरूलाई यो कारबाही गर्न सकिने निगमका एक अधिकारीले बताए ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले खोपका लागि अधिक पहल भइरहेको बताए । ‘कोरोनाको बढ्दो जोखिमबीच भारतसम्म पुगेर इन्धन ढुवानी गर्ने चालक, सहचालकलाई खोप उपलब्ध गराउन हामी अधिक प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘सबै निकायमा पत्राचार र समन्वय भइरहेको छ ।’

अत्यावश्यक सेवामा हडताल गर्ने चालकलाई ऐनअनुसार कारबाही किन नगर्ने भन्ने प्रश्नमा उनले भने, ‘हामी अहिले सकेसम्म खोप नै लगाएर समस्या समाधान गर्ने प्रयासमा छौँ ।’ विगतमा समेत व्यवसायीले विभिन्न माग राखेर इन्धन आपूर्तिमा अवरोध गर्दै आएका छन् । सरकारले आवश्यक सेवा सञ्चालन ऐनअनुसार कारबाही गर्नुको सट्टा वार्ता गर्ने गरेकाले यसपटक पनि हडताल गर्न चालकहरूको मनोबल उच्च भएको हो ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि चालकहरूलाई खोप लगाउने ग्यारेन्टी गरेर इन्धन आपूर्ति सहज पार्ने दिशामा अघि बढेको बताए । ‘चालक, सहचालकलाई खोप नै लगाउने व्यवस्थाका विषयमा हामी क्रियाशील छौँ । तर, हडताल लम्बिरहे हामी ऐन–कानुनअनुसार चल्ने विषयमा पनि छलफल अघि बढाउँछौँ,’ उनले भने ।

दुई दिन निरन्तर छलफल
चालकहरूले आइतबार कार्यालय खुल्नासाथ आयल निगमलाई एक पत्र लेखी खोप नपाएसम्म इन्धन ढुवानी रोक्ने जानकारी दिएका थिए । लगत्तै उनीहरूले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोबाट तेल अनलोडिङ बन्द गरे । भारतको बिहार राज्यमा पर्ने इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरी र आयल निगमकै दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा तेल लिनसमेत गएनन् ।

बरौनीबाट पेट्रोल र मट्टीतेल तथा अमलेखगन्जबाट डिजेल आयात हुने गरेको छ । दुवै ठाउँमा तेल लिनका लागि करिब तीन सय ट्यांकरले करार सम्झौता गरेका छन् । ट्यांकरचालकले हडताल गरेर तेल नउठाएको खबर पाएपछि निगमको केन्द्रीय कार्यालयबाट नायब कार्यकारी निर्देशक सुशील भट्टराई र वितरण विभाग प्रमुख दीपक बराल थानकोट पुगेर वार्ता गरेका थिए । उनीहरूले त्यहाँ निगमबाट खोपका लागि मन्त्रालयमा पत्राचार गरेको र मन्त्रालयबाट कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, छाउनीलाई चालकहरूका लागि ३ हजार ७ सय डोज खोप तत्कालै चाहिएको भनी पत्राचार गरेको पत्रबारे चालकहरूलाई अवगत गराएका थिए ।

तर, चालकहरूले खोप नपाएसम्म तेल नउठाउने भनेर अराजक व्यहोरा देखाएका थिए । जसकारण आइतबार कुनै पनि निजी पम्पमा तेल वितरण भएन भने उपत्यकामा रहेका सशस्त्र, सेना, प्रहरी र साझा सहकारीका पम्पमा ८९ किलोलिटर पेट्रोल र ६६ किलोलिटर डिजेल वितरण भएको थियो । सेना र साझाका ट्यांकरले यो परिमाणको तेल ढुवानी गरेका थिए । निषेधाज्ञाका वेला थानकोट डिपोले औसतमा ५–५ सय किलोलिटर पेट्रोल, डिजेल बिक्री गरिहरहेका वेला आइतबार वितरण भएको परिमाण न्यून हो ।

दोस्रो दिन सोमबार कार्यालय खुल्नासाथ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल आफैँ थानकोट पुगेर चालकहरूसँग छलफल गरी इन्धन ढुवानी सुचारु गर्न लागिपरेका थिए । उनीसँग वितरण विभाग प्रमुख दीपक बराल र प्रवक्ता विनितमणि उपाध्याय पनि गएका थिए । त्यहाँको छलफलमा पनि चालकहरूले खोप नपाएसम्म तेल नउठाउने भनर जिद्धी गरेका थिए । सोमबार स्वास्थ्य मन्त्रालय हुँदै स्वास्थ्य सेवा विभाग, टेकुसम्म खोपका लागि निगमका वितरण विभाग प्रमुख बराल, प्रवक्ता उपाध्याय र थानकोट डिपो प्रमुख अभिषेक ठाकुर गएका थिए ।
 
देशकै सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगन्जमा पनि हडताल
इन्धन ढुवानी गर्ने चालकहरूले कोरोना भाइरसविरुद्धको खोप नलगाई ट्यांकर नचलाउने अडान राख्दै देशकै सबैभन्दा ठूलो इन्धन डिपो, अमलेखगन्जमा पनि हडताल सुरु गरेका छन् । उनीहरूले हडताल गर्दै सोमबार तेल नउठाएको निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवले जानकारी दिए । अमलेखगन्जले दुई नम्बर प्रदेशका ६ वटासहित १५ जिल्लामा इन्धन वितरण गर्दै आएको छ ।

सो डिपोले आफ्नो कार्य क्षेत्रभित्रको करिब ३ सय पम्पलाई सामान्य अवस्थामा दैनिक २५ सय किलोलिटर डिजेल र ४–५ सय किलोलिटर पेट्रोल बिक्री गर्दै आएको छ । अहिले लकडाउनमा पनि इन्धन बिक्रीमा खासै कमी आएको छैन । आइतबार मात्रै पम्पहरूमा २ हजार किलोलिटर डिजेल र ४ सय किलोलिटर पेट्रोल बिक्री भएको थियो ।

सो डिपोले काठमाडौं, भैरहवा, पोखरा, जनकपुर र विराटनगरसम्म इन्धन वितरण गर्दै आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतीहारी डिपोबाट पाइपलाइनका माध्यमले अमलेखगन्जसम्म डिजेल आउने गरेको छ । सो डिजेल देशैभरि वितरण हुँदै आएको छ । देशभर करिब ६ हजार किलोलिटरसम्म डिजेल अमलेखगन्जबाटै वितरण हुँदै आएको छ । देशका विभिन्न डिपोका लागि अमलेखगन्जबाट दैनिक २ सय ट्यांकरले डिजेल ढुवानी गर्दै आएका छन् ।

 चालकहरूलाई खोप व्यवस्था हुँदै गर्दा काठमाडौंमा अराजकता प्रदर्शन
इन्धन ढुवानी गर्ने चालकहरूलाई प्रशासन र प्रदेश सरकारसँग समन्वय गरी खोप लगाउने काम भइरहेको छ । आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालय, झापाको चारआलीस्थित शाखा कार्यालय, नेपालगन्जस्थित इन्धन डिपो र भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा करार सम्झौतामा रहेका ट्यांकरका चालक तथा सहचालकलाई खोप लगाइसकिएको छ ।

विराटनगर र भैरहवामा ३–३ सय, चारआलीमा ६० र नेपालगन्जमा १ सय ७५ ट्यांकर करार सम्झौतामा छन् । यी सबै ट्यांकरका चालक र सहचालक गरी करिब एक हजार ७ सयलाई खोपको व्यवस्था भइसकेको प्रवक्ता उपाध्यायले बताए । ‘हामीले केन्द्र र प्रदेश सरकार तथा प्रशासनसँग मिलेर सम्भव भएसम्म इन्धन ओसार्ने चालक र सहचालकलाई खोप लगाइरहेका छौँ,’ उनले भने, ‘काठमाडौंमा भने आकस्मिक जानकारी दिएर इन्धन आपूर्ति ठप्प पारिएको छ । हामीले खोपका लागि हदैसम्मको प्रयास गर्दा पनि चालकहरू ढुवानी सुचारु गर्न तयार भइरहेका छैनन् ।’ 
 

ad
ad