मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ३१ सोमबार
  • Friday, 20 December, 2024
रुही तिवारी
२o७८ जेठ ३१ सोमबार o८:२२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोदी कसरी पुनः मुक्तिदाताका रूपमा देखिए ?

मोदी आफूलाई खोप अभियानमा आएको अवरोध हटाउन सक्षम व्यक्तिका रूपमा प्रस्तुत गर्न सफल भएका छन्

Read Time : > 2 मिनेट
रुही तिवारी
नयाँ पत्रिका
२o७८ जेठ ३१ सोमबार o८:२२:oo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जुनदेखि राज्यहरूलाई निःशुल्क कोभिड खोप दिने घोषणा गरेका छन् । घोषणा एक राम्रो नीतिगत फैसला त हो नै, साथमा यो एक चतुर राजनीतिक चाल पनि हो । विगतमा मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले त्रुटिपूर्ण खोप नीति अंगिकार गरेको थियो । त्यसबाट तोकिएको समयमा सबै योग्य भारतीय नागरिकले खोप पाउन सक्दैनथे । साथै, पुरानो खोप नीति मोदीको ‘सुशासन’को दाबीमा खरो उत्रन्नथ्यो । 

मोदीका आलोचकले उनका कमी–कमजोरी उजागर गर्ने क्षमता राख्ने भए पनि उनी आफ्ना मतदातालाई आफू नै उद्धारक भएको विश्वास दिलाउन सक्षम छन् । अहिले खोपलाई लिएर उनले जुन घोषणा गरेका छन्, त्यसमा उनको राजनीतिक कौशल झल्किन्छ ।

मोदीले पुनः एकपटक आफू देशका जनताको सहयोगका लागि अगाडि सार्नुपरेको र यस कार्यमा राज्य सरकारहरू असफल भएको भान पारेका छन् । मोदीले ७ जुनमा राष्ट्रको नाममा सम्बोधन गरेर १८ वर्षमाथिका भारतीयलाई निःशुल्क खोप लगाउने जानकारी दिए । सम्बोधनमा आएको यस घोषणाले मोदीको उदारता र परोपकारिता निर्धारण भएको छ । सम्बोधनका क्रममा मोदीले आफ्ना आलोचकले उठाएका कैयौँ मुद्दालाई पनि सम्बोधन गर्ने प्रयास गरेको देखियो । त्यस क्रममा मोदीले सम्बोधन गर्न खोजेको सबैभन्दा ठूलो आलोचना थियो– देशमा खोप संकट हुँदा उनले राज्यलाई कुनै सहयोग गरेनन् । 

पहिले मानिसले स्वास्थ्य राज्यको क्षेत्राधिकार हुदाँहुँदै सबै कुरा केन्द्रले नियन्त्रणमा लिएको भन्ने आरोप लगाएको मोदीले सुनाए । त्यही भएर उनले १ मेमा खोप अभियानलाई राज्यको नियन्त्रणमा दिएको उनको भनाइ थियो । तर, खोप विकेन्द्रित गरेपछि दिल्ली, केरला, राजस्थान, झारखण्ड, ओडिसा र आन्ध्र प्रदेशजस्ता आधा दर्जन राज्यले केन्द्रीकृत व्यवस्थामा फर्किन माग गर्न थाले । 

राज्यले आफूले खोप अभियान सञ्चालन गर्नुपरेपछि 
‘बल्ल यसमा कति अप्ठ्यारो आउँछन् भन्ने महसुस गरेको’ मोदीले बताए । यसो भनिरहँदा खोप निर्माता कम्पनीले राज्यसँग खोपको विषयमा सम्झौता गर्न अस्वीकार गरेपछि राज्यले केन्द्रसँग सहयोग माग्नुपरेको कुरा भने मोदीले खुलाएनन् । तर, अहिले सबैको नजर मोदीले निःशुल्क खोप दिने भन्ने निर्णयमा परेको छ । यसले प्रभावित गर्ने सन्देश एकदम स्पष्ट छ ।

भारतीय प्रधानमन्त्री मोदी राज्य सरकार अनिर्णयको सिकार रहेको, अक्षम रहेको र आफ्नै क्षमतामा काम गर्न नसक्ने देखाउन चाहन्थे । भारतको खोप नीति हालसम्म असफल रहनुमा मोदी सरकार नभएर राज्य सरकारको नियन्त्रण दोषी रहेको देखाउन उनी सफल भएका छन् । एकै कदमबाट मोदीले खोपको विषयमा भएको कमी–कमजोरीको कारण आफू नभएको सन्देश प्रवाहित गरे ।

आफ्ना समर्थकलाई उनले खोप अभियानको नियन्त्रण आफ्नो हातमा आएकाले सबैले निःशुल्क खोप पाउन लागेको विश्वास दिलाएका छन् । मोदी कुशल राजनीतिक खेलाडी हुन्, उनलाई कुन समयमा कस्तो कदम चाल्नुपर्छ भन्ने राम्ररी थाहा छ । मतदाताले सबै आरोपबाट कस्तो समयमा माफ गर्छन् भन्ने उनलाई राम्रो ज्ञान छ । सही समयमा सही शब्दको चयनबाट गरिने सम्बोधन मोदीको विशेषता हो । त्यसैले उनी विरोधीले ‘चोर’को आरोप लगाउँदा आफू पक्का ‘चौकिदार’ भएको प्रमाणित गर्छन् । नोटबन्दी नीतिगत भूल भए पनि मोदी यसबाट मानिसलाई सहयोग पुगेको विश्वास दिलाउन सक्छन् । 

आलोचकहरू मोदीको कमी–कमजोरी उजागर गर्ने कार्यमा सक्षम भए पनि मोदीले राजनीतिक चतु र्‍याइँमार्फत आफ्ना मतदातालाई आफू उद्धारक भएको विश्वास दिलाउँदै आएका छन् 

देश महामारीसँग त्रस्त रहेको समयमा प्रधानमन्त्री मोदी मानिसको हौसला बढाउन तिनलाई थाल र ताली बजाउन तयार पार्न सक्छन् । मोदी सधैँ आफूलाई उद्धारकका रूपमा प्रस्तुत गर्न सफल हुँदै आएका छन् । चाहे त्यो उरी आक्रमणपछि उनको ‘सर्जिकल स्ट्राइक’ नै किन नहोस् ? र, पुलवामाको आतंकवादी आक्रमणपछि बालाकोटमा हवाई आक्रमण गरेर पाकिस्तानलाई ‘घुँडा टेक्न’ बाध्य बनाउँदाको घटना नै किन नहोस् ।

अहिले मोदीले आफूलाई खोप अभियानमा आएको अवरोध हटाउन सफल व्यक्तिका रूपमा प्रस्तुत गरेका छन् । जबकि यस अभियानका अधिकांश कमजोरीका लागि मोदी सरकार नै जिम्मेवार थियो । पछिल्लो समय विपक्षीले मोदीमाथि आक्रमण गर्ने सटिक हतियार पाएका थिए, कोभिड महामारीको दोस्रो लहरको सामना गर्न उनको विफलतालाई । केन्द्रको कार्यशैलीविरुद्ध राज्य सरकारले विरोध जनाएका थिए । तर, मोदीले आफ्नो सम्बोधनमा उल्टो ‘उनीहरूले सकेनन्, म गरेर देखाउनेछु’ भन्ने भान पार्न सफल भए । अब विपक्षीलाई मोदीको आलोचना गर्न थप चुनौतीपूर्ण भएको छ । ७ जुनमा राष्ट्रको नाममा सम्बोधन गरेर मोदी आफ्ना मतदातालाई रिझाउन सफल भएका छन् । 
(लेखक ‘द प्रिन्ट’की सहसम्पादक हुन्) द प्रिन्टबाट