मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २२ शनिबार
  • Tuesday, 17 December, 2024
२o७८ जेठ २२ शनिबार १२:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : मिर्गौला रोगी कमलाले पाइन् सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ २२ शनिबार १२:o९:oo

भरतपुर महानगरपालिका–६ केसरबागकी कमला तामाङलाई सहयोग प्राप्त भएको छ ।  मिर्गौला रोगी तामाङलाई चितवनका सामाजिक अभियन्ताहरूले अस्पतालमा नै पुगेर सहयोग गरेका हुन् । नयाँ पत्रिकामा ‘डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो भुइँमा बिरामी’ शीर्षकको समाचार प्रकाशित भएपछि वे ग्रुप र बेटर चितवनमार्फत तामाङलाई सहयोग गरिएको हो । साताको दुईपटक डायलाइसिस गराउँदै आएकी उनले पैसाको अभावमा अस्पतालमै बसेर डायलाइसिस गराउँदै आएकी छिन् । 

भरतपुरमै घर भएर पनि अस्पताल जान–आउन समस्या भएको तामाङको समाचार पढेर सहयोग गर्न अस्पताल आएको बताउँदै वे ग्रुपपका विजय सापकोटाले भने– लामो समय अस्पताल बसेको र घरमा चार वर्षकी छोरी भएको भन्दै  आफूलाई कोरोना संक्रमण भएमा छोरीलाई सर्छ कि भनेर परिवारको सुरक्षाका लागि अहिले घर जान भन्नुभयो । अस्पतालले पनि डायलाइसिस बिरामीका लागि पाँचजना बस्न मिल्ने सामूहिक क्याबिन बनाएको रहेछ । महामारीको समयमा अस्पताल नै सुरक्षित ठान्नुभयो । त्यसपछि हामीले नगद ६ हजार एक सय प्रदान गर्‍याैँ, जसले एक हप्ताका लागि डायलाइसिस गराउँदाको अतिरिक्त खर्च र उहाँको क्यान्टिनको उधारो रकम तिर्न पुग्नेछ । उनले भने– उहाँ घर जान–आउन चाहेका वेला निषेधाज्ञाको समयमा सहयोग गर्ने प्रतिबद्धता दिएका छौँ । 

तामाङसँगै उक्त अस्पतालमा डायलाइसिस गरारहेका नवलपरासीका भीमबहादुर मगर, गोरखा कर्णबहादुर गुरुङ र तनहुँ देवघाटका धनबहादुर गुरुङलाई पनि औषधि र बिहान–बेलुकाको खाना सहयोगस्वरूप निःशुल्क प्रदान गरिने भएको छ । बेटर चितवनका संंस्थापक संयोजक इन्जिनियर सागर कार्कीका अनुसार तामाङसँगै चितवन मेडिकल कलेज (सिएमसी)मा नै बसेर  डायलाइसिस गराउँदै आएका अन्य तीनजनालाई पैसा तिरेर खरिद गर्नुपर्ने आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको बताए । उनले भने– योसँगै हामीले चारजनाका लागि बिहान–बेलुकाको निःशुल्क खानाकाे व्यवस्था गरेका छौँ । 

सहयोग प्राप्त गरेसँगै तामाङले वे ग्रुपका भोजराज कँडेल, रामचन्द्र सुवेदी, राजु सेढाईं, विजय सापकोटा र बेटर चितवनका सागर कार्कीलाई खुसी हुँदै धन्यवाद व्यक्त गरेकी छिन् । यी दुवै संस्थाले चितवनमा रहेर सरसफाको क्षेत्रमा काम गर्दै आएका छन् भने कोरोनाको समयमा विपन्न परिवारलाई खाद्यान्न सहयोगसहित आवश्यकताअनुसारको विविध सहयोग गरेका छन् । 

यद्यपि, कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण सार्वजनिक यातायात बन्द हुँदा मिर्गौलापीडितलाई अस्पताल पुग्न समस्या भइरहेको छ । चितवनको भरतपुर अस्पतालमा दुईवटा डायलाइसिस गर्ने मेसिन एक वर्षदेखि विग्रँदा बिरामीलाई थप सास्ती भएको छ । यही कारण चार घन्टासम्म हुँदै आएको डाइलाइसिस सेवा अस्पतालले आधि घन्टा कम गर्दै आएको छ ।

यहाँ आठ सयभन्दा बढीले डायलाइसिस गर्दै आएका छन् । यसबाहेक अहिले चितवन मेडिकल कलेजमा नियमित रूपमा ७० जनाले , कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा ७७ जना र रत्ननगर बकुलहर अस्पतालमा ४५ जनाले डाइलासिस सेवा लिइरहेका छन् । चितवनमा नवलपरासी, गोर्खा, मकावानपुर, तनहुँलगायताका जिल्लाबाट डाइलाइसिसका लागि आउने गरेका छन् ।  डाइलाइसिस बिरामीले सास्ती पाउँदा यसतर्फ कुनै पनि तहका सरकारहरूले चासो देखाएका छैनन् ।