प्रधानमन्त्री केपी ओलीले अनेक अपमान र पीडा सहेर भए पनि आफू पार्टी एकतामा निरन्तर लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता जनाएका छन् । तर, आफ्नो इमान्दार प्रयासलाई कतिपयले मजाक बनाएकाले त्यसलाई इतिहासले नै मूल्यांकन गर्ने बताए ।
‘फागुन २३ को फैसलापछि पनि एकता जोगाउन सकिन्छ कि भनेर मैले आफैँले पहल गरेको हुँ । तर, मेरो प्रयासलाई कतिपयले मजाकको विषय बनाउनुभयो, इतिहासले यसको उचित हिसाबकिताब गर्ला नै,’ राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले भने, ‘पार्टीको एकता रक्षाका लागि सबैखाले आक्षेप, अपमान र पीडा व्यहोरेर पनि निरन्तर प्रयत्नशील छु, भोलिका दिनमा पनि रहिरहनेछु ।’
उनले प्रतिकूल परिस्थितिमा आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने सबै नेता–कार्यकर्ताहरू, समर्थक, शुभचिन्तक एवं आमजनतामा धन्यवादसमेत व्यक्त गरेका छन् । अस्थिरता सिर्जना गर्न स्वार्थकेन्द्रित गठबन्धन गरेर महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दीबाट हटाउने दुरासय नराखेको भए महाधिवेशन भएर नेतृत्व हस्तान्तरण भइसकेको हुन्थ्यो भन्दै ओलीले एमालेलाई एकताबद्ध राख्ने काम कतिपय नेताहरूको विभाजनकारी गतिविधिका कारण अहिलेसम्म सम्भव हुन नसकेको दाबी गरेका छन् ।
‘नेकपालाई एकीकृत गर्ने प्रयास असम्भव भएपछि हामीले नेकपा (एमाले)लाई नै एकीकरणको विरासत पार्टीका रूपमा एकताबद्ध र गतिशील बनाउने काम गर्यौँ । तर, कतिपय नेताहरूमा आफ्ना विभाजनकारी गतिविधिप्रति रत्तिभर गल्तीबोध देखिएन । उल्टै, एकीकरणको रक्षा र नेतृत्वको पक्षमा उभिनुभएका साथीहरूलाई पञ्छाउने कुरामा मात्र उहाँको प्रयास केन्द्रित रह्यो । फेरि पनि पार्टीलाई गुटहरूको संयुक्त मोर्चा र अन्त्यहीन विवादको थलो बनाउने केही नेताहरूका नियतका कारण हाम्रा प्रयास सार्थक हुन सकिरहेका छैनन्,’ ओलीले भने, ‘यसबीचमा फ्लोर क्रस गर्ने–गराउने काम भएका छन्। पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गरिएका छन् । अनि, आफ्नो पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन कहिले संसदमा अनुपस्थित हुने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेजस्ता चरम विकृति प्रकट भएका छन् ।’
सबै नागरिकलाई खोप, आक्रमणकारीलाई दण्ड
सम्बोधनका क्रममा ओलीले सबै नेपाली नागरिकलाई खोप उपलब्ध गराएर कोभिड महामारी नियन्त्रण गरिने प्रतिबद्धता पनि जनाएका छन् । ‘कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ। हालसम्म हामीलाई अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएका छौँ,’ ओलीले भने, ‘पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु ।’
त्यस्तै, ओलीले संक्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमणसरह नै दण्डनीय मानिने पनि बताए ।