१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १४ शुक्रबार ०७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारी संयन्त्र दुरुपयोग  नगर्न देउवाको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १४ शुक्रबार ०७:४२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसीन भएकाले दूरगामी प्रकृतिका निर्णय गर्न नमिल्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । 

‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु । सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु,’ देउवाको विज्ञप्तिमा छ । त्यसैगरी, सभापति देउवाले सरकारले कोभिड– १९ संक्रमणलाई सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । 

‘संक्रमण फैलन नदिने उद्देश्य प्राप्त गर्न निषेधाज्ञाको वैज्ञानिक व्यवस्थापन गर्दै नागरिकका दैनिक आवश्यकताको सहज र सरल आपूर्ति सुनिश्चितता गर्न सरकार कार्यरत हुनुपर्ने हो । तर, निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदै छ,’ देउवाको विज्ञप्तिमा छ, ‘कोभिड– १९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारका रूपमा प्रयोग गर्दै छ ।’